७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल ओमानसँग पराजित

काठमाडौं – नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको छ। 

नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो। प्रतियोगितामा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो। बिहीबार भएको पहिलो खेलमा नेपालले नामिवियालाई एक विकेटले पराजित गरेको थियो। 

दुई खेल नै खेलेको ओमानको यो पहिलो जीत हो। बिहीबार भएको खेलमा ओमान क्यानडासँग ८ विकेटले पराजित भएको थियो। ओमानको जीतमा अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान दिए। यस्तै वैभव वाटेगाओनकरले नटआउट ३७, जतिन्दर सिंहले २४ र कप्तान सुल्तान अहेमद १६ रनमा नटआउट रहे। 

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए। सोमपाल कामी र वसन्त रेग्मीले एक एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटिएको थियो। 

नेपालका लागि शरद् भेषवाकरले सर्वाधिक २२ रन बनाए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २०, दिलीप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए भने कामी १७ रनमा नटआउट रहे। 

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट तथा बिलाल खानले २ विकेट लिएका थिए । नेपालले  आइतबार युएइसँग तथा ओमानले नामिबियासँग खेल्नेछन्। 

प्रकाशित: २६ माघ २०७४ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App