coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आशुतोषको अलराउन्ड प्रदर्शन

काठमाडौं – आशुतोष सिंहको अलराउन्ड प्रदर्शनप्रेरित रौतहट राइजिङ–११ ले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार बुटवल क्रिकेट ब्वाइजलाई ४ विकेटले पराजित गरेको छ ।

चार ओभर बलिङ गरेका आशुतोषले १८ रन दिएर २ विकेट लिएका थिए भने १४ बलमा अविजित २८ रनको योगदान गरेका थिए । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बुटवल क्रिकेटले १६.४ ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । १ सय ३२ रनको लक्ष्य रौतहटले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

ओपनर र मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा तुलबहादुर थापाले आक्रामक ब्याटिङ गर्दै ६८ रन बनाएपछि बुटवल क्रिकेट सम्मानजनक स्कोरतर्फ लम्किएको थियो । तर, १ सय ३१ रनको विजयलक्ष्य जोगाउन नसकेपछि तुलबहादुरको अर्धशतक छायाँमा परेको थियो । सातौं नम्बरमा ब्याटिङ गर्न आएका तुलबहादुरले २२ बलमा १० छक्का प्रहार गरेका थिए । तुलबहादुरबाहेक बुटवलका लागि विशाल बन्जाडेले १९ तथा आशिष भण्डारीले १६ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
रौतहटका आशुतोष र अशु कन्दोइले समान २ विकेट लिँदा सुनील मिश्रले ४ ओभरमा १ मेडनसहित १७ रन दिएर ३ विकेट लिए । रवि शाहको नाममा १ विकेट रह्यो ।

रौतहटले पनि ब्याटिङमा राम्रो सुरुआत गर्न सकेन । ओपनर अशुलाई शून्यमा गुमाएको रौतहटले २५ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । सलमान आलम र अरविन्द चौधरीले चौथो विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीका लागि जितको आधार खडा गरेको थियो । सलमानले २७ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाउँदा अरविन्दले ३३ बलमा २ चौकासहित २४ रन बनाए । त्यसपछि लगातार तीन विकेट गुमाएपछि दबाबमा परेको रौतहटको इनिङ आशुतोष र रवि शाहले सम्हालेका थिए । दुईले सातौं विकेटका लागि ४२ रनको अविजित साझेदारी गर्दै रौतहटलाई विजयी गराएका थिए । बुटवलका गोविन्द खत्रीले ३ तथा आशिष भण्डारीले २ विकेट लिए ।

 

प्रकाशित: २४ माघ २०७४ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App