coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकप : सेमीफाइनलमा पुलिसको भेट संकटासँग

रातो जर्सीमा नेपाल पुलिस र निलो जर्सीमा काकडभिट्टका खेलाडीहरु । तस्बिर : नागरिक

धरान – साविक विजेता नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको अन्तिम चारमा पुगेको छ।

धरान १६ स्थित प्रादेशिक धरान रंगशालामा सोमबार भएको खेलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोलअन्तरले हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पुलिसले पहिलो हाफको २० औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो भने दोस्रो हाफको ६४ औं मिनेटमा सुमन लामाले आकर्षक गोल गर्दै जित सुनिश्चित बनाए। जितसँगै साविक विजेता पुलिसले बुधबार सेमीफाइनलमा गत बर्षको उपविजेता संकटा क्लबको सामना गर्नेछ। संकटाले उद्घाटन खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको थियो। 

पछिल्लो २ सातामा दाङमा राखेप च्याम्पियनसिपअन्र्तगत पुरुष फुटबल र पोखरामा १६ औं आहा रारा गोल्डकप जितेको पुलिस उच्च मनोवलका साथ मैदानमा उत्रिएका थिए। काकडभिट्टाले पनि अन्तिम समयसम्म कडा संघर्ष गरे पनि गोल फर्काउन भने सकेन। पहिलो हाफको २० औं मिनेटमा रेजिन सुब्बाको क्रसलाई क्लियर गर्न खोज्दा काकडभिट्टाका विकास थुलुङको खुटामा ठोक्किएर आत्मघाती गोल भएको थियो। यस्तै, ६४ औं मिनेटमा सुमन लामाले दर्शनीय गोल गर्दै पुलिसको गोलअन्तर दोब्बर बनाए। रवि पासवानको क्रसमा उनको एक्रोब्याटिक प्रहार गोलमा परिणत भएको थियो। सुमन म्यान अफ दि म्याच घोषित हुदै नगद १० हजार पनि हात पारे। साविक विजेता पुलिस बुढासुब्बा गोल्डकपको सर्वाधिक उपाधि विजेता टोली पनि हो। अहिलेसम्म पुलिसले दोस्रो, चौथो, पाँचौं, नवौं र १९ औं सँस्करण जितेको छ।

खेलमा पुलिसले थुप्रै गोल गर्ने प्रयास गरेको थियो। पहिलो हाफको १० औं मिनेटमा काकडभिट्टाका गोलकिपर किरण गिरी विट भएको मौकामा रवि पासवानको प्रहार डिफेन्सले क्लियर गरिदिए। यस्तै, ४८ औं मिनेटमा बुद्ध लामा आफैले गोलपोष्ट नजिक वल पुर्याएर गरेको प्रहारले पोष्टको दिसा लिन सकेन भने ६२ औं मिनेटमा निरकुमार राईको प्रहारलाई गोलकिपरले पञ्च गरिदिए। यस्तै,८७ औं मिनेटमा निरकुमारको प्रहार पोष्टमा ठोक्किएर फर्कदा पुलिसले अग्रता बढाउन सकेन। काकडभिट्टाले खेलअवधिभर गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन। पहिलो हाफको ३ मिनेटमा एलिन लक्समको फ्रिककलाई पुलिसका गोलकिपर सत्रुघन चौधरीले पञ्च गरिदिए भने २२ औं मिनेटमा विकास लिम्बूको प्रहारलाई पनि चौधरीले सुन्दर बचाउ गरे। यस्तै, ३४ औं र ५५ औं मिनेटमा दिपक राईको दुई सशक्त प्रहारलाई गोलकिपरले असफल बनाए भने ६८ औं मिनेटमा विकास लिम्बुको प्रहारलाई गोलकिपरले रोके।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीहरुले रणनीति बनाएअनुसार नै खेलेकोले जित नतिजा पाएको प्रतिक्रिया दिए। राखेप च्याम्पियनसिप र आहा रारा गोल्डकपको जितले पनि खेलाडीहरुमा उच्च मनोवल भएको उनको भनाई थियो। उनले भने, ‘खेलाडीहरुले योजनाअनुसार नै खेले। राखेप र आरा रारा गोल्डकप जितेकोले खेलाडीहरुमा मनोवल उच्च छ।’ काकडभिट्टाका प्रशिक्षक मिनबहादुर बस्नेतले भने आइतबार राजगढमा सेमीफाइनल खेलेर आएकोले थकानले गर्दा खेलाडीहरुको प्रर्दशनमा केही कमी भएको बताए। तर, हार हुनुमा निर्णायकहरुको गलत निर्णय मुख्य कारण भएको उनको आरोप थियो। ‘हामीले ३ वटा ह्याण्डवलमा पेनाल्टी पाएनौं, पहिलो ह्याण्डवल पेनाल्टी नदिदा काउण्टर अट्याकमा आत्मघाती गोल खायौं,’ उनले भने, ‘यतिको ठुलो गोल्डकपमा ३ वटा पेनाल्टी नदिनु ठिक भएन। खेलाडीहरु थाकेको भएपनि राम्रो नै खेले।’ प्रतियोगितामा मंगलबार अधिकांश राष्ट्रिय खेलाडी भएको रुस्लान थ्री स्टार र सुदुरपश्चिम ११ बीच खेल हुनेछ।

प्रकाशित: २२ माघ २०७४ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App