नेपाल सुपर लिग(एनएसएल) को ५०औं खेल पूरा भएको दिन अपराजित टोली ललितपुर सिटी एफसीले शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ।
शीर्ष स्थानको होडमा रहेको ललितपुर र प्लेअफमा स्थान बनाउन संघर्षरत झापा एफसी शुक्रबार दशरथ रंगशालामा भिड्दा एनएसएलको यो ५०औं खेल हो। तर, त्यो खेल गोलरहित बराबरीमा टुङ्गिन पुग्यो । ललितपुर एफसीको पनि शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।यो नतिजा दुवै टोलीका लागि घाटा भयो भने प्लेअफमा रहेका टोलीका लागि भने सुखद पक्ष रह्यो । जारी दोस्रो सिजनका अब ११ खेल बाँकी छन्।
अधिकांश नतिजा बराबरीमा टुङ्गिएकाले अहिले नै यो टोली प्लेअफ पुग्छ भन्ने अवस्था बनेको छैन । शुक्रबारको खेलमा झापाले जितेको खण्डमा शीर्ष स्थानका टोलीका लागि थप चुनौती बन्न सक्दथ्यो।यद्यपि, नतिजा बराबरीमा आयो । दुवैका लागि जित अति आवश्यक रहे पनि खासै धेरै गोल अवसर सिर्जना हुन सकेन।यो नतिजापछि ललितपुरले ६ खेलबाट १० अंक बटुलेको छ । जुन शीर्ष स्थानमा एक खेल कम खेलेको धनगढीको भन्दा एक अंकले कम हो।ललितपुरले दुई जित र चार बराबरीको नतिजा सामना गरेको छ।
यता, समान ६ खेलबाट झापा सात अंकसहित पाँचौं स्थानमा छ।झापा प्लेअफका लागि एक अंक पछि छ।यद्यपि, चौथो स्थानमा रहेको पोखरा थन्डर्सको भने पाँच खेलबाट आठ अंक छ।जारी सिजनमा झापाले चौथो बराबरीको नतिजा निकाल्यो।झापाले एक जित र एक हार सामना गरेको छ।झापाका प्रशिक्षक ओरियोल सेगुराले छोटो समयको प्रतियोगिता भएकाले आफ्ना खेलाडीले लय समात्न समय लगाएको बताए।ललितपुर सिटी एफसीका प्रशिक्षक इयान एन्ड्य्रुले आफ्ना खेलाडीले राम्रो खेल्दै धेरै अवसर सिर्जना गरेको उल्लेख गर्दै बराबरीको नतिजाबाट पनि खुसी रहेको बताए।
‘हामीले धेरैभन्दा धेरै अवसर बनायौं ।राम्रा पासहरू खेल्यौं।पाँचवटा गोल गर्ने उत्कृष्ट अवसर पनि बने । तर, गोल हुन सकेन,’ प्रशिक्षक इयानले भने,‘हरेक खेलाडीले राम्रो खेलेका छन् । आजको खेलबाट सन्तुष्ट छु । अब आगामी दुई खेल हाम्रा लागि धेरै महŒवपूर्ण छ।त्यसमा ध्यान दिन्छौं ।’ त्यसअघि खेलको चौथो मिनेटमा डी बक्सबाहिरबाट ललितपुरका दिनेश हेन्जनले गरेको प्रहार गोलपोस्टको माथिल्लो भागमा लागेर फर्किय ।१९औं मिनेटमा ललितपुरका इमोज इजिकेल र झापाका आभास लामिछानेबीच घम्साघम्सी हुँदा दुवै खेलाडीले पहेँलो कार्ड प्राप्त गरे।
३७औं मिनेटमा ललितपुरका इमोन इजिकेलले गोल गर्ने अवसर खेर फाले । निखिल कदमको उत्कष्ट क्रस बललाई उनी हेडरमार्पmत गोल गर्न चुके । झापाले ४५औं मिनेटमा गरेको आक्रमण ललितपुरका गोलकिपर जेफ्री विली मार्सलले उत्कृष्ट बचाउ गरे । डिफेन्डर छिरिङ लामाको लामो क्रस ललितपुरका डिफेन्डर अनन्त तामाङले क्लियर गर्न नसकेपछि झापाका होर्गे सान्चेजले नियन्त्रणमा लिँदै प्रहार गरे पनि विलीले सफल हुन दिएनन्।त्यसपछि थप आक्रमण हुन सकेन र पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ललितपुरले ५०औं मिनेटमा गरेको आक्रमण झापाका गोलकिपर स्टेफन सुपिचले सफल हुन दिएनन् । इजिकेलले राइट साइडबाट गरेको क्रस बल पेनाल्टी क्षेत्रमा रहेका पापा केबेले वान टच गरे पनि सुपिचले रोके।
दिनेश हेन्जनले ६२औं मिनेटमा गरेको लामो सट झापाका छिरिङ लामाको खुट्टामा लागेर अकासियो । इन्जुरी समयमा ललितपुरका कप्तान अनन्तको हेडर झापाका गोलकिपर सुपिचले मुस्किलले बचाउँदै संकट टारे।अनिल महर्जनको फ्रिकिकमा अनन्तको हेडर सुचिपले सुरु नियन्त्रणमा लिन असफल भए पनि पछि उनले नै रोके।अन्तिम समयमा अनिलले नै पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सशक्त प्रहार झापाका गोलकिपर सुपिचले फेरि रोक्दै संकट टार ।त्यसपछि बाँकी समयमा पनि गोल हुन सकेन र झापाले बलियो टोली ललितपुरलाई बराबरीमा रोक्दै एक अंक निकाल्यो।
प्रकाशित: ३० मंसिर २०८० ०४:०७ शनिबार