८ वैशाख २०८१ शनिबार
खेल

पिंकाथनको दोस्रो संस्करण अर्काे महिना

काठमाडौं– पिंकाथन काठमाडौंको दोस्रो संस्करण अर्को महिना उपत्यकामा हुने भएको छ ।भारतको मुम्बईबाट २०१२ मा सुरु भएको पिंकाथन गत वर्षबाट काठमाडौंमा पनि हुन थालेको थियो । लिजर पोर्टको आयोजनामा हुने प्रतियोगिता फागुन १२ मा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

गत वर्ष दशरथ रंगशालामा भएको प्रतियोगिता यसपालि भने कहाँ गर्ने भन्ने तय नभइसकेको पिंकाथनको नेपालका लागि फ्रेन्चाइज लिएको लिजर पोर्टका प्रमुख नमराज जोशीले बताए । ‘यसपालि दशरथ रंगशाला पुनर्निर्माणका लागि भत्काइएको अवस्थामा छ । हामीले काठमाडौं उपत्यकामै अरु दुई-तीनवटा ठाउँ हेरिरहेका छौं,’ जोशीले पत्रकार सम्मेलनमा भने, ‘एक–दुई दिनमै टुंगो लगाउनेछौं ।’
कार्यक्रम स्थलको टुंगो लागेपछि रुट नापेर सबै स्पर्धाको रुट पनि तय गरिने कार्यक्रममा जानकारी गराइयो।

छातीको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्य लिएर हुन लागेको यो प्रतियोगिताअन्तर्गत ४ विधामा प्रतिस्पर्धा हुनेछ । महिलाहरूको मात्र सहभागिता रहने पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ ।
३ र ५ किलोमिटर प्रतिस्पर्धात्मक विधा होइनन् । १० र २१ किलोमिटरमा भने व्यावसायिक खेलाडीको सहभागिता रहनेछ । २१ किलोमिटरको हाफ म्याराथन विजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसै गरी १० किलोमिटरको विजेताले ३० हजार रुपैयाँ पाउँदा उपविजेताले २० तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने जानकारी गराइयो।

प्रतियोगिताको जुनसुकै स्पर्धामा पनि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई आयोजकले थप १० हजार रुपैयाँ प्रदान गर्नेछ भने ओलम्पियन रघु वन्तले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने प्रत्येक खेलाडीलाई सुधार गरेको प्रतिसेकेन्ड १ हजार रुपैयाँका दरले दिने घोषणा गरेका छन् ।  

पिंकाथन अभियानका मुख्य अभियन्ता भारतीय सुपरमोडल मिलिन्द सोमनले महिलालाई उनीहरूको स्वास्थ्यप्रति जागरूक गराउने उद्देश्यका साथ पिंकाथन सुरु गरिएको बताए । ‘महिलाहरूमा धेरै जिम्मेवारी हुन्छ । घर सम्हाल्नेदेखि लिएर जागिर खाने वा व्यवसाय गर्नेसम्मका सबै जिम्मेवारी लिने महिलाहरूले आफ्नो स्वास्थ्यप्रति भने खासै चासो राखेको पाइन्न,’ मिलिन्दले भने, ‘हामी महिलाहरूको जीवनशैली परिवर्तन भएको हेर्न चाहन्छौं । त्यो भनेको स्वास्थ्यका लागि उनीहरू दौडून्, आफ्ना लागि पनि समय दिऊन् भन्ने हो । महिलाहरू शारीरिक र मानसिक रूपमा पूरा फिट भए मात्र उनीहरूले घरपरिवारलाई राम्ररी हेरचाह गर्न सक्छन् ।’

नेपालमा पिंकाथन भित्र्याउने जोशीले नेपालको अवस्थामा महिला जागरण थप आवश्यक रहेको प्रतिक्रिया दिए । ‘आजभन्दा ४८ वर्षअघि बैतडीको गोठमा म जन्मिएको थिएँ । करिब पाँच दशक बितिसक्दा पनि अझै त्यहाँ गोठमा बच्चा जन्माइन्छ । त्यसैले पनि मलाई यस्तो कार्यक्रम नेपालमा गर्नुपर्छ भन्ने लागेको हो ।

यस्तो कार्यक्रम गर्नु निकै चुनौतीपूर्ण थियो । तर अब काठमाडौं पहिलो अन्तर्राष्ट्रिय गन्तव्य बनिसकेको छ,’ जोशीले नागरिकसँग भने, ‘यो एउटा दौड प्रतियोगिता मात्र होइन । यो प्रतियोगिताले समाजमा धेरै महत्वपूर्ण सन्देश प्रवाह गर्छ । महिला सशक्तिकरण र छातीको क्यान्सरबारे जनचेतना जगाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ । गत वर्ष पहिलो पटक गर्दा नै ३ हजार महिलाहरू यसमा सहभागी भएका थिए । यसपालि ११ हजार नाघ्ने हामीले अपेक्षा गरेका छौं ।’

 

प्रकाशित: ३ माघ २०७४ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App