८ वैशाख २०८१ शनिबार
खेल

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

धनगढी – कैलालीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ।

स्थानीय रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई आर्मीले विजय प्राप्त गरेको थियो। निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् निकालिएको थियो। आर्मीले एपिएफलाई पेनाल्टी सुट आउटमा चारविरुद्ध पाँच गोलले पराजित गरेको हो। उपाधिसँगै आर्मीले रु ११ लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

एपिएफका सुदीप सिन्ग्राकारले हानेको प्रहार खम्बामा लागेर फर्किएपछि एपिएफले उपविजेतामा चित्त बुझाउन परेको हो। एपिएफले रु पाँच लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ । उपाधि जितेपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातार दुई खेल खेल्दा विपक्षीले राम्रो खेले पनि पेनाल्टीमा भाग्यले साथ दिएका कारण उपाधि चुमिएको बताए। एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रै खेले पनि पाएका केही मौका चुकाउँदा पेनाल्टीमा खेल गुमाइएको बताए ।

प्रतियोगिता अवधिभर आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै पुरस्कारस्वरुप यामाहा मोटरसाइकल पाए। यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपिएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राइजिङ प्लेयर सुदूरपश्चिम–११ का गोलकिपर अमानत शेखलाई घोषणा गरिएको छ। सबै विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार पाएका छन्।

उपाधि विजेता र उपविजेतालाई प्रतियोगिता समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पुस्कार प्रदान गरे। गत पुस २१ गतेदेखि शुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टोलीको सहभागिता थियो।

पुरस्कार राशि दोब्बर

सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा अर्को वर्ष झन्डै दोब्बरले वृद्धि हुने घोषणा गरिएको छ। तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई रु २१ लाख पुरस्कार दिइने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले समापन समारोहमा घोषणा गरे।

प्रकाशित: १ माघ २०७४ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App