९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्यान्डको जितमा गुप्टिल नायक

न्युजिल्यान्डका रोस टेलर (बाँया) र मार्टिन गुप्टिल पाकिस्तानविरुद्धको खेल जितेपछि ।

लेल्सन – मार्टिन गुप्टिलको आक्रामक ब्याटिङ प्रेरित न्युजिल्यान्डले मंगलबार वर्षाले प्रभावित दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ ।

पाकिस्तानले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभरमा २ विकेट गुमाई ६४ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले २ घण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि खेल सुरु हुँदा न्युजिल्यान्डले डर्कवर्थ लुइसका आधारमा २५ ओभरमा १ सय ५१ रनको नयाँ लक्ष्य पाएको थियो । १४ ओभर खेलिसकेकाले जितका लागि घरेलु टोलीले ११ ओभरमा ८७ रन बनाउनुपर्ने भयो । जुन ७ बल बाँकी रहँदा २ विकेट गुमाएर पूरा गरेको थियो ।

‘यो विकेटमा पाकिस्तानले केही राम्रो साझेदारी गर्दै सम्मानजनक योगफल बनाएको थियो,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने, ‘वर्षाले खेल अवरुद्ध भएपछि खेल हाम्रो पक्षमा आयो ।’

न्युजिल्यान्डका कप्तान विलयम्सनले वर्षा रोकिएपछि गुप्टिल र रोस टेलरले गरेको प्रदर्शनको प्रशंसा गर्न चुकेनन् । खेल अवरुद्ध हुनुअघि ३१ बलमा ४० रन बनाएका गुप्टिलले ७१ बलमा अविजित ८६ रन बनाउँदा १४ रनमा रहेका टेलरले ४३ बलमा ४५ रनको जोडेका थिए । टेलर र गुप्टिलले तेस्रो विकेटका लागि १ सय ४ रनको अविजित साझेदारी गरे । त्यसअघि गुप्टिलले विलियम्सनसँग दोस्रो विकेटका लागि ४६ रनको  साझेदारी गरेका थिए ।

‘वर्षा रोकिएपछि मार्टिन र टेलरले उत्कृष्ट प्रदर्शन गरे । मार्टिनले दबाबमुक्त भएर खेलेको हेर्न मज्जा भयो,’ घरेलु टोलीका कप्तान विलियम्सनले भने, ‘अर्को इन्डबाट टेलरले पनि प्रभावशाली प्रदर्शन गरे । हामीलाई जित दिलाउन यो साझेदारीले ठूलो योगदान ग¥यो ।’

न्युजिल्यान्ड भ्रमणका दुवै खेलमा पाकिस्तानका लागि वर्षा बाधक रह्यो । पाकिस्तान दुवै खेलमा डर्कवर्थ लुइसका आधारमा पराजित भएको थियो । ‘ब्याटिङ पक्षबाट हामी धेरै निराश छौं,’ पाकिस्तानका कप्तान सफराज अहमदले भने, ‘पहिलो १० ओभर धेरै महत्वपूर्ण हुन्छ । हामीले त्यही पहिलो १० ओभरमा धेरै विकेट गुमाएका छौं । हाम्रा ब्याट्सम्यानले राम्रो नगरेको अवस्थामा तल्लो क्रमका ब्याट्सम्यानले राम्रो गरे ।’

मोहम्मद हफिजले एक इन्डबाट ६० रन बनाएर खेलिरहँदा टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३७ ओभरमा १ सय ४१ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो । त्यसपछि शाहब खान (५२) र हसन अली (५१) ले आठौं विकेटका लागि ७० रनको साझेदारी गरे ।

घरेलु टोलीका लोकी फर्गुसनले ३ विकेट लिँदा टिम साउथी र टोड अस्टलले समान २/२ विकेट लिए । टिम साउथी र मिचेल सन्टनरको नाममा १/१ विकेट रह्यो ।

पाकिस्तानले सुरुमै ओपनर कोलिन मानरोलाई शून्यमा पवेलियन फर्काउँदै राम्रो सुरुआत गरेको थियो । लगत्तै विलियम्सनको विकेट लिँदा न्युजिल्यान्ड १० ओभरमा ४७–२ को स्थितिमा थियो । त्यसपछि गुप्टिल र टेलरको साझेदारीसामु पाकिस्तानी बलर निरीह बने । पाँच खेलको शृंखलामा न्युजिल्यान्डले २–० को अग्रता लिएको छ । तेस्रो खेल शनिबार डुनेडिनमा हुनेछ ।

प्रकाशित: २६ पुस २०७४ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App