८ वैशाख २०८१ शनिबार
खेल

जाजरकोट महोत्सवमा एक लाख राशिको भलिबल प्रतियोगिता

जाजरकोट—पुस १२ गतेदेखि एक हप्तासम्म चल्ने जाजरकोट महोत्सव तथा रमाइलो मेलाको अवसरमा  आकर्षक पुरस्कार राशिको  भलिवल प्रतियोगिता हुने  भएको छ। जिल्ला खेलकुद विकास समिति जाजरकोटले  जाजरकोट महोत्सवका अवसरमा   एक लाख पुरस्कार राशि राखेर  प्रतियोगिताको आयोजना गर्न लागेको  समितिका सदस्य सचिव जयराज आचार्यले बताए।

उनले  प्रतियोगितामा  ६ नम्वर प्रदेशका   विभिन्न जिल्लाहरुका  खेल समुहहरु सहभागि हुने बताए। प्रतियोगितामा  राष्टिय स्तरमा ख्याति प्राप्त खेलाडीहरुको  सहभागिता हुने  बताइएको  छ।  उनले प्रतियोगितामा प्रथम हुने समूहलाई  एक लाख नगद, मेडल र प्रमाण पत्र, द्वितीय हुनेलाई  ५० हजार  नगद  मेडल र प्रमाण पत्र  तथा  तृतीय हुनेलाई  २५ हजार नगद मेडल र प्रमाण पत्र प्रदान गरिने बताए।

उनले  प्रतियोगितामा जाजरकोट लगाएत सुर्खेत, रुकुम, सल्यान, दैलेख लगायतका अन्य स्थानका दुई दर्जन बढी खेल समुह हरु सहभागी हुने बताए। जाजरकोटको सबैभन्दा ठूलो मेला रमाइलो मेलाको मुख्य आकर्षकको रुपमा रहेको भलिबल प्रतियोगितालाई महोत्सवका अवसरमा पनि आकर्षक पुरस्कार राखेर निरन्तरता दिइएको  आयोजकको भनाइ छ। मंगलवार साँझ ५ बजेसम्म दर्ता हुन आउने  खेल समूहहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने आयोजकको भनाइ छ। जिल्लाको कृषि, पर्यटन र व्यापार प्रर्वद्धन गर्नका लागि  आयोजना गरिएको   महोत्सव एवं रमाइलो मेलाको  आकर्षणको रुपमा  भलिबल प्रतियोगिता रहेको बताइएको छ।

७ दिनसम्म चल्ने  महोत्वसको तयारी तीव्र गतिमा भइरहेको छ। महोत्सवले जाजरकोटलाई  ६ नम्वर प्रदेशमा  चिनाउन सहयोग पुरयाउने महोत्सवको प्रमुख आयोजक जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। उनले  जिल्लाको कृषि उत्पादन, पर्यटन प्रवद्र्धन र  व्यापारलाई टेवा दिन महोत्सव आयोजना गरिएको  जनाए।

सामाजिक एकता र  मेलमिलापको उच्च नमुनाको रुपमा रहेको  रमाइलो मेलाको अवसर पारेर महोत्सव गर्न लागिएको  अध्यक्ष खत्रीले बताए।  महोत्वसमा  सबै स्तर र उमेर समुहका  व्यक्तिहरुका लागि   उपयुक्त मनोरन्जन, व्यापार र  अवसर दिने व्यवस्था मिलाइएको  खत्रीले  उल्लेख गरे। महोत्सवका अवसरमा  स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारहरुका विभिन्न प्रस्तुतिहरु रहने  आयोजकले जनाएको छ।  सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालय थाप्लेचौरमा लाग्ने महोत्सवमा जाजरकोटको कला संस्कृति झल्काउने गीत नाच, झाँकी, जिल्लामा उत्पादन भएका उत्कृष्ट कृषि उत्पादनहरु, तथा  पर्यटकीय क्षेत्रहरुको परिचय र पहिचानको समेत प्रदर्शन  तथा व्यापार गरिने बताइएको छ।

जिल्लाको व्यापार  कृषि र पर्यटनको विकासमा  सहयोग पुरयाउन  आम जिल्लावासीको सहयोगमा  महोत्सव आयोजना  गरिएको  अध्यक्ष खत्रीले बताए।

प्रकाशित: ९ पुस २०७४ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App