७ वैशाख २०८१ शुक्रबार
खेल

चप्पलको भरमा १५ किलोमिटर दौडिए चेपाङ धावकहरु

चप्पलको भरमा १५ किलो मिटरको दौड पार गरेर नारायाणगढमा सुस्ताएका चेपाङ युवाहरु बायाँबाट क्रमशः हेमलाल, सुभलाल, सोमीलाल, झिमबहादुर र कृष्ण चेपाङ। तस्बिर: नागरिक

चितवन-  ‘बजारमा दौडन जानु छ’ हप्ता दिनअघि यस्तो सूचना पाएपछि चितवनको विकट पाहाडी गाउँ वासबाङका सुभलाल चेपाङलाई जाउँ कि नजाउ भयो। भिर पाखा फटाफट हिँड्ने सुभलाललाई बजार गएर दौडनु गाह्रो कुरा थिएन। तर खुट्टामा लगाउने जुत्ता नभएका कारण आयोजकहरुले दौडन दिने हुन वा हैनन् भन्ने दुविधा थियो । यस्तै दुविधाबीच उनी चप्पलकै भरमा बजार हिँडे।

चेपाङकै मात्र बसोबास भएको वासबाङबाट उनीसँगै १२ जना चेपाङ युवाहरु आएका थिए । जसमध्ये छजनाको खुट्टामा लगाउने जुत्तासम्म थिएन । नारायणगढ रोटरी क्लबले सोमबार रत्ननगरदेखि नारायणगढसम्मको १५ किलो मिटर दुरीको मिनी म्यारथन आयोजना गरेको थियो । सो मिनी म्याराथनमा दौडनेमा एकसे एक धावकहरु थिए । जुत्ता बिनाका चेपाङ युवाहरु पनि दौडनेको हुलमा मिसिए।

दिन रात खेलकुद मात्रै भनेर खटेका नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका धावकसहित २७१ जनाको हुलमा ति चप्पल बिनाका युवाहरु अलग्गै चिनिन्थे । पुस महिनाको बिहान आठ बजेको समय, मौसम अति नै चिसो थियो । खाली खुट्टा दौडेका युवाहरु केही पर गएपछि पक्कै बिश्राम लिन्छन होला भन्ने अनुमान गर्नेहरु प्रशस्तै थिए । तर जुत्ता बिना पनि उनीहरुको यात्रा रोकिएन ।

नेपाल आर्मीका धावक कृष्ण बस्नेतले ४४ मिनेट ५३ सेकेन्डमा १५ किलोमिटर दुरी पार गर्दा पुराना चप्पल फट्कार्दै दौडेका १९ वर्षीय सुभलाल चेपाङ त्यसको केही मिनेटपछि नै दौडको अन्तिम बिन्दुमा टुप्लुक्क आइ पुगे। ‘यता रहेछ म त कता हो कता भनेर उता पुल तिर पो गएको’ बजारको राम्रो मेसो नपाउँदा सुभलालाई एक दुई मिनेटको घाटा पनि भएछ । यति हुँदा पनि उनले ५७ मिनेटभन्दा केही बढी समयमा सो दुरी पार गरे।

सुभलाल मात्रै हैन, १८ वर्षका कृष्ण, १८ कै हेमलाल २२ का सोमीलाल र १७ का झिमबहादुर जो पुराना चप्पलका भरमा दौडेका थिए सवै नै एकपछि अर्को गर्दै अन्तिम विन्दुमा आइ पुगे । दौड जित्नेको भन्दा चप्पलको भरमा दौड पुरा गरेका चेपाङ युवाहरुलाई बधाइ दिनेको भिडभाड बढ्यो । सुक्ष्मपुष्प समाजका सहयोगी बबी एन्टोनीको अनुरोधमा उनीहरु मिनी म्याराथनमा भाग लिन गाउँदेखि सहर आएका हुन् ।

राप्ती नगरपालिकाको वडा नं. १३ मा परे पनि वासबाङ गाउँ निकै विकट छ। त्यसमाथि चेपाङ समुदायका व्यक्तिहरु धेरै कुरामा पछाडी पारिएका छन् । ‘तर उहाँहरुको हिम्मत भने चानचुने रहेनछ । यसरी चप्पलको भरमा दौडेका देख्दा म एक तर्फबाट दु:खि पनि छु तर उहाँहरुले जुन साहस देखाउनु भयो त्यस प्रति गर्व पनि लागेको छ’ मिनी म्यारथनको आयोजक संस्था नारायणगढ रोटरी क्लबका अध्यक्ष नारायण प्रधानले भने।

अध्यक्ष प्रधानले उनीहरुका लागि तत्कालै जुत्ता र कपडाको व्यवस्था गर्ने घोषणा गरे। ‘समाजमा लुकेका यस्ता प्रतिभाहरु आज अगाडि आएका छन् । उनीहरुका लागि अहिले नै जुत्ता र कपडाको व्यवस्था म आफै गर्ने छु । उनीहरुको प्रतिभालाई तिखार्न थप के के गर्न सकिने छ त्यो पनि हामीले हेर्ने छौं’ अध्यक्ष प्रधानले भने।

 

 

प्रकाशित: ३ पुस २०७४ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App