१६ चैत्र २०८० शुक्रबार
खेल

आर्मी लगातार दोस्रो उपाधिनजिक

झापा – सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको चुनौती मंगलबार ३–० ले समाप्त पार्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। 

झापाकै सताक्षी गोल्डकपमा च्याम्पियन बनेको एक साताभित्रै आर्मी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा उपाधि नजिक पुगेको हो। 

८ लाख रुपैयाँ नगद पुरस्कारसहितको उपाधिका लागि शुक्रबार फाइनलमा आर्मीले आयोजक टोली र मनाङ मस्र्याङ्दी क्लबमध्ये एकसँग खेल्नेछ । बुधबार दोस्रो सेमिफाइनलमा आयोजक काँकडभिट्टा र र मनाङबीच प्रतिस्पर्धा हुँदै छ । 
दिनेश हेन्जनको दुई तथा जर्जप्रिन्स कार्कीको एक गोलमा आर्मीले सेमिफाइनलमा पुलिसलाई पुलिसलाई निरीह तुल्याउँदै फाइनलमा स्थान पक्का गरेको थियो। 

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका दुवै विभागीय टोलीको आक्रमण र बल पोसेसन उस्तै थियो । तर, दोस्रो हाफमा आक्रामक रूपमा पेस भएको आर्मीलाई पुलिसले रोक्न सकेन । ५४औं मिनेटमा दिनेशले सुन्दर हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दीपक गुरुङको क्रसलाई उनले पोस्टको दिशा दिँदा पुलिसका खेलाडीको नजरमा उनी परेकै थिएनन् । १९ वर्षमुनिको राष्ट्रिय टोलीका स्टार खेलाडी हेन्जनले पहिलो खेलमा पनि गोल गरेका थिए । 
एक गोलले पछि परेपछि पुलिसले पूर्ण रूपमा दबाबमा आएर खेल्यो । गोल फर्काउन भरमग्दुर प्रयासमा पुलिस जुट्दा अधिकांश खेलाडी अग्रपंक्तिमा पुग्थे । रक्षापंक्तिको सन्तुलन पूरै गुमेको देखिन्थ्यो । पुलिसले सहेको यही दबाब आर्मीका लागि थप दुई गोल गर्ने मौका बन्यो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेकै शब्दमा ‘गोल फर्काउने दबाबमा पुलिसको रक्षापंक्ति अघि बढ्दाको फाइदा टोलीले लियो ।’ उनले बलियो टोलीविरुद्ध फराकिलो अन्तरको जित पाउँदा विशेष सन्तुष्टि मिलेको उल्लेख गरे । म्यान अफ दी म्याच प्रदर्शन गरेका दिनेशले घाइते नवयुग श्रेष्ठको अभाव हुन नदिएको न्यौपानेले बताए। 

जसरी पनि गोल फर्काउने दबाबमा रहेको पुलिसविरुद्ध ६४औं मिनेटमा दिनेशले अग्रता दोब्बर पारे । पुलिसका रक्षापंक्तिका अधिकांश खेलाडी अगाडि बढेको मौकामा आर्मीका सुदीप श्रेष्ठले दिएको लामो पासलाई दिनेशले गोलमा परिणत गरेका थिए । उनले पेनाल्टी बक्सनजिकैबाट गरेको शक्तिशाली प्रहार पुलिसका गोलरक्षकले रोक्न सकेनन् ।  दुई गोलले पछि परेको पुलिसविरुद्ध तेस्रो तथा अन्तिम गोल भरत खवास बाहिरिएपछि कप्तानको जिम्मेवारीसमेत लिएका जर्जप्रिन्सले एकल प्रयासमा गरेका थिए। 

पुलिसका खेलाडीले अफसाइड ठानेर छाडेको बललाई कार्कीले नियन्त्रणमा लिँदै एक्लै अघि बढाएका थिए । पु्लिसका गोलरक्षक खड्का उनलाई छेक्न अघि सरे । तर, कार्कीले उनलाई सहजै पन्छाएर गोल गरे। 

पुलिसको लागि हार अनुभवी अग्रपंक्ति पहिलो हाफमा फिनिसिङमा चुक्दाको परिणाम पनि थियो । २४औं मिनेटमा कप्तान जुमानु राईले पोस्टको नजिकै पाएको मौका उपयोग गर्न सकेनन् । ३५औं मिनेटमा तेज तामाङको पासलाई रवि पासवानले प्रहार गरे पनि गोल भएन । त्यस्तै ५१औं मिनेटमा सुमन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले सुन्दर ढंगले जोगाए। 

‘पहिलो हाफमा पाएको अवसर उपयोग गर्न नसक्दा हामीले हार बेहोर्नुप¥यो’, पुलिस प्रशिक्षक कुमार कटुवालले भने, ‘आर्मीका भरत खवासले हाम्रा गोलकिपरलाई घाइते बनाउनु पनि अर्को दुर्भाग्य भयो ।’ भरतले पुलिसका गोलरक्षक खड्कालाई घाइते हुने गरी प्रहार गरेका थिए। 

त्यसो त आर्मीले पनि गोलका केही निश्चित अवसर उपयोग गर्न सकेन । ३१औं मिनेटमा भरत खवासले पुलिसका रक्षक दिनेश राजवंशीलाई कटाउन सकेनन् । ६५औं मिनेटमा दिनेशसँग ह्याट्रिकको अवसर थियो । जर्जप्रिन्सले प्रहार गरेको बल रिबाउन्ड भएर उनको खुट्टामा आइपुग्दा पुलिसको पोस्टमा गोलरक्षक मात्रै थिए । तर, उनले पोस्ट बाहिर प्रहार गरे। 

‘पहिलो हाफमा पाएको अवसर उपयोग गर्न नसक्दा हामीले हार बेहोर्नुप¥यो । आर्मीका भरत खवासले हाम्रे गोलकिपरलाई घाइते बनाउनु पनि अर्को दुर्भाग्य भयो।’

प्रकाशित: १३ मंसिर २०७४ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App