८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

मोन्टी सरको भरोसामा काम गर्न सकेकोमा खुसी छु: कुशल भुर्तेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही साबित गर्न सकेकोमा खुसी लागेको बताएका छन्।

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्वालिफायरको पहिलो खेलमा सोमबार सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि कुशलले सो प्रतिक्रिया दिएका हुन्।

उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गरे।

‘मूल पानीमा पछिल्ला खेलहरू मेरा लागि राम्रो भइरहेको थिएन। मैले राम्रो रन बनाउन सकिरहेको थिएन,’ओपनर कुशलले भने, ‘तर, मोन्टी सरले ममाथि विश्वास गरिराख्नु भयो। त्यो विश्वास अनुरूप गत त्रिकोणात्मक शृङ्खलाको फाइनल र आज केही गर्न सकेँ। त्यसैले खुसी लागेको छ।’

कुशलले सिंगापुरविरुद्ध ७४ रनको अर्धसतक प्रहार गरेका थिए। गत त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स (युएई) सँग ५० रनको अर्धसतकीय इनिङ खेलेका थिए। लगातार अर्धसतक प्रहार गरेका कुशलले डेढ वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग अर्धसतकीय साझेदारी पनि गरेका छन्। ‘आसिफ (शेख) र म पछिल्ला २/३ वर्षदेखि सँगै ओपनिङ गरिरहेका छौं। त्यसैले हामीहरूलाई एकअर्का प्रति राम्रोसँग थाहा छ,’कुशलले भने, ‘पावरप्लेमा कसरी खेल्छौँ भन्ने जानकार छौं। हामीबिच कम्युनिकेसन पनि राम्रो छ। आज डेढ वर्षपछि अर्धसतकीय साझेदारी गर्न सक्यौँ त्यसमा निकै खुसी छौं।’ 

कुशलले नेपालका महत्त्वपूर्ण अलराउन्डर दीपेन्द्रसिंह ऐरीको चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए। ‘बिहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो। उनी चोट बोकेर बाहिरिनु पर्दा धेरै दुःख लागेको छ,’कुशलले भने,‘तर, उनको अवस्थाबारे भने पूर्ण जानकारी छैन।’ उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि उल्लेख गरेका छन्। ‘पहिलो खेलमा सबैले राम्रो खेल्यौँ। हामीले हरेक खेल फाइनल जसरी खेल्छौँ,’कुशलले भने, ‘आगामी खेल पनि त्यही अनुसार खेल्नेछौँ।’ नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झाले शतप्रतिशत आफूहरू विश्वकपमा छनोट हुने बताएका छन्।  

प्रकाशित: १३ कार्तिक २०८० ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App