९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

देश चिनाइरहेकी जुम्लाकी अल्ट्रा धावक सुनमाया बुढा

जुम्लाको भौगोलीक रुपमा विकट मानिने पातारासी गाउँपालिकाको –२  पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्।

सानै भए पनि छोरीले सरकारी जागिर गर्नुपर्छ भन्ने उनका बुबाआमाको चाहना थियो रे।सामान्य परिवारमा जन्मिएकी सुनमायाका बाबु आमाले कक्षा १० को परीक्षा दिइसकेपछि गाउँभन्दा बाहिर गएर पढाउन नसक्ने बताइसकेका थिए ।बरु पढाइको साटो उनलाई बुबाआमाले बिहे गर्ने सुझाव दिएका थिए रे। 

बुबाआमाको भनाइ थियो, ‘बिहे गरेर पनि पढ्दा हुन्छ, हामीसँग आर्थिक अवस्था पनि राम्रो छैन।’तथापी इच्छा र चाहना भएपछि कसैको केही लाग्दो रहेनछ।उनी बिहे गर्ने प्रस्ताव अस्वीकार गरेर सदरमुकाम खलङ्गा लागिन् ।पढ्छु भनेर सदरमुकाम आएकी उनको ध्यान कलेजभन्दा खेलतिर केन्द्रित हुन थाल्यो । जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ भनेझैँ सुनमायाको जीवनमा पनि इच्छा अनुसारको बाटो खुल्यो।

७ बर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन् । अल्ट्रा धावक भएर उनले कर्णालीको मात्र होइन, सिङ्गो देश चिनाइरहेकी छन्।‘सुरुमा मलाई गेम नेखेल, पैसा आउँदैन भन्थे सबैले तर, मैले खेलप्रतिको चाहनालाई त्याग्न सकिनँ।जसका कारण आज यहाँसम्म आइपुगेको छु।’सुनमायाले २०७८ मा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएर कीर्तिमान बनाएकी थिइन्।१ सय १० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकेण्डमा पूरा गरेकी थिइन्।

 नेपालकी चर्चित अल्ट्रा म्याराथन धावक मिरा राईले १७ घण्टा १२ मिनेट ४८ सेकेण्डको समय लगाएकी थिइन् ।सुनमाया उक्त कीर्तिमानसँगै विश्वभर छाइन्।पुरुष–महिलातर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेकी सुनमायाले राईभन्दा निर्धारित दूरी दुई घण्टा अगावै पूरा गरेकी थिइन्।

जुम्लामा जन्मिएर पनि सुनमायाको उक्त कीर्तिमानले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा चर्चा भयो।उमेरले २४ नाघेकी उनी अहिले पनि निरन्तर आफ्नो खेल कर्ममा अग्रसर भइरहेकी छन् ।स्वीटजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रिेलिया लगायतका देशमा आयोजित दौड प्रतियोगितामा उनी सहभागी भइसकेकी छन्।

 थाइल्याण्डपछि सन २०२२ मा फ्रान्समा भएको युटीएमबी सीसीसीमा उनले दोस्रो स्थान हासिल गरिन् भने २०२३ मा हङकङमा आयोजित नर्थ फेस हङकङ १०० रेसमा उनले पहिलो स्थान हासिल गरिन् । सेकेण्ड रेसमा पनि उनी पहिलो भइन्।अहिले फ्रान्समा वल्र्ड च्याम्पियनसीप गेम थियो।

९० किलोमिटर दुरीको उक्त दौड सुनमायाले आधाआधीमै छाडिदिइन् । शारीरिक अवस्थाका कारण आफू ‘ब्याक’ भएको उनले बताइन् ।सुनमायाले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय पुरस्कारहरु जितेकी छन् ।उनले यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराधन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएर पदक जितेकी छन्। 

हङकङमा प्रशिद्ध धावक मीरा राईको नेतृत्वमा एक सय किलोमिटरको ‘अक्सफाम हङकङ अल्ट्रा ट्रेल’ रनमा समेत सहभागिता जनाएकी छन् उनले ।उनी भन्छिन्, ‘जुम्लाका ती उच्च पहाडी भेगमा उकाली–ओराली गरेकी मलाई जसरी पनि प्रतियोगिता जितेर गाउँठाउँ, जिल्लामा मात्र होइन, देशको नाम चिनाउनुपर्छ भन्ने उद्देश्य हुन्छ ।थाइल्याण्डमा भएको खेलमा ११० किलोमिटरको दुरी बिहान ८ बजेदेखि सुरु गरेर राति ११ बज्नै लाग्दामा पूरा गरेकी थिएँ ।जुन दौड मेरो जिन्दगीको एउटा ठुलो उपलब्धि बन्यो ।’

सुनमायालाई यसरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम आउला भन्ने कहिल्यै लागेको थिएन । उनी भन्दा पहिला जुम्लाकै हरि रोकायाले पनि विश्व कीर्तिमान कायम गरेका थिए । जो सुनमायाका गुरु हुन्।

उनको संघर्ष गेम खेल्दा गाह्रो हुन्छ नै।जुनसुकै रेसमा पनि सजिलो भन्ने हुँदैन । यद्यपि तालिम लिइरहेको छ भने सहन सक्ने क्षमताको विकास भइरहेको हुन्छ।जसले प्रतियोगितामा सहजता हुन्छ ।‘अहिलेसम्मको यात्रामा भुल्न नसक्ने क्षण कति छन् कति, गाउँबाट काठमाडौँसम्मको यात्रा नै हाम्रा लागि निकै ठुलो संघर्ष हो,’ उनी भन्छिन्, ‘खानादेखि लगाउने जुत्तासम्मको कुरामा सबै मिलाउन गाह्रो हुन्थ्यो।तालिम गर्दा डाइट खान पाउँदैनथ्यौँ, पैसा हुँदैनथ्यो।

राम्रो जुत्ता हुन्थेन। भए पनि साइज नमिल्ने।ठुल्ठुलो साइजको जुत्ता लगाएर पनि दौडनुपरेको छ।’सुनमायाका लागि यी कुरा भुल्नै नसकिने क्षणका रुपमा मानसपटलमा बसेका छन्।अहिले सुनमायालाई नर्थ फेस हङकङबाट सहयोग प्राप्त भइरहेको छ। ‘सुरुवातको अवस्थामा गाह्रो थियो, अहिले त सहज छ,’ उनी भन्छिन्।

कसरी खेलको सुरुवात

सानैदेखि खेलतर्फ रुचि । आर्थिक अभाव र परिवारको असहयोग । तर, पनि चाहनाले उनलाई डोर्याइरह्यो । ७ कक्षामा पढ्दै गर्दादेखि गेम खेल्न सुरु गरिन् ।विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट उनको खेल करिअरको सुरुवात भयो।

खेलप्रतिको रुचि, लगाव र निरन्तर संघर्षले आज एक सफल धावक बनिन् उनी ।गुरु हरि रोकायालाई श्रेय दिन भुल्दिनन् सुनमाया । ‘गुरुजस्तै बन्न सक्नु पर्छ भन्ने सोचिरहन्थेँ, गुरुकै प्रेरणाले आँट आउँथ्यो,’ उनी भन्छिन्।सुनमायाले सन् २०१६ देखि रनिङ गर्न थालेकी हुन् ।

उनले पहिलो पटक ‘ट्रेल रेस’मा सहभागी भएको काठमाडौंको गोदावरीमा हो। जहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ जितेकी थिइन् ।उनी भन्छिन्, ‘खेल खेल्न सुरु गर्दाको चार बर्षसम्म पनि परिवारबाट मलाई गेम नखेल्न आग्रह आइरहन्थ्यो । तर अहिले परिवारको सपोर्ट निकै छ।

 तर आमाले अब घरबार सम्हाल्नुपर्छ भन्नुहुन्छ ।’अझै खेलहरु खेल्ने र देशलाई नै चिनाउने सपना सुनमायाको छ। अझै यात्राका माइलहरु बाँकी नै रहेको उनी बताउँछिन्।

को हुन् सुनमायाका गुरु धावक हरि रोकाया

जुम्लाको चन्दननाथ नगरपालिका–४ जुम्लाका हरिबहादुर रोकाय उमेरले ६२ वर्षका भए । बुढ्यौलीमा पनि उनी युवा अवस्थाजस्तै जोसिला छन् । ४० वर्ष खेलकुदमा सक्रिय भएर नेपालको नाम राखेका उनी अहिले पनि बिहान ५ बजे नै उठेर दौडिन थाल्छन्।सानोमा उनका बाबुआमाको इच्छा थियो,छोराले सरकारी जागिर खाओस् ।

तर उनी भने कक्षा ९ उतीर्ण भएपछि खेल्न थाले । तीनपल्टसम्म एसएलसीको फारम भरे।तर, परीक्षा दिने बेला कुनै न कुनै प्रतियोगितामा जानुपर्ने भएपछि एसएलसी उतीर्ण गर्न सकेनन् । राम्ररी पढ्न नपाए पनि खेलमा भने आफूले उत्कृष्ट काम गरेकामा सन्तुष्टि पोख्छन् ।

खेलबाटै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन पाएँ, त्योभन्दा ठूलो गौरव के छ र रु अब उनको धोको छ,आफूजस्तै कम्तीमा ५० खेलाडी उत्पादन गर्ने। हरिबहादुर भने खेलक्षेत्र छोड्न नसक्दा जुम्लामा बस्दै आएको छु। उनका जेठा छोरा पाइलट हुन् भने कान्छा डाक्टर । 

श्रीमती, बुहारी र नातिनातिनी काठमाडौंमै बस्छन् ।म परिवारसँग बसेपछि खेलाडीलाई कसले उत्प्रेरणा र प्रशिक्षण दिने हो भन्ने पीर लाग्छ,उनले भने,म चल्न र हिँड्न सक्ने बेलासम्म खेलाडीहरूलाई प्रशिक्षण दिनेछु,हरिबहादुरले प्रशिक्षण दिएका दुर्गा बुढा, विश्वरुपा बुढा, लक्ष्मी न्यौपाने, राजन रोकाय, रेजिना भण्डारी, लोकबहादुर भण्डारी, सीता न्यौपानेलगायत खेलाडीहरू राष्ट्रियस्तरका राम्रा खेलाडी हुन्।रोकायले २०४५ सालमा नेपालको सर्वोत्कृष्ट खेलाडीको रूपमा स्वर्ण पदक प्राप्त गरेका थिए। 

२०५२ सालयता उनी प्रशिक्षक छन्।उनले अहिले पनि दैनिक २१ खेलाडीलाई प्रशिक्षण दिन्छन् । सन् १९८७ को नोभेम्बर २७ मा भएको एभरेस्ट म्याराथनमा प्रथम भएर उनले विश्व कीर्तिमान कायम गरे।उनले २०४४ देखि ४६ सम्म लगातार तीन वर्ष पदक हात पारे।उनी ५ हजार र १० हजार मिटरमा दौडिएर कीर्तिमान बनाउँदै वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सन् १९८८ मा सोल ओलम्पिक ९दक्षिण कोरिया० र १९९२ मा बार्सिलोना ओलम्पिक ९स्पेन० खेलेका उनले १९९३ र १९९५ मा भएको विश्वव्यापी एभरेस्ट म्याराथनमा भाग लिएर दुवैमा दोस्रो भए । सन् १९९७ मा स्वर्ण पदक हात पारे भने १९९९ मा ३ घण्टा ५९ मिनेट ५६ सेकेन्डको विदेशी खेलाडीले राखेको कीर्तिमानी समय भंग गर्दै ३ घण्टा ५६ मिनेट ५६ सेकेन्डबाट विश्व कीर्तिमान कायम गरेका थिए ।

त्यसको अर्को वर्ष सन् २००० मा ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा दुरी पूरा गर्दै एभरेस्ट म्याराथनमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे।दुई ओलम्पिक, ४ दुई दक्षिण एसियाली खेलकुद, १३ राष्ट्रिय र २९ अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाएपछि उनले आफ्नो खेलजीवन टुंग्याएका थिए । उनले झन्डै २७ वर्ष ट्र्याकमा दौडिए, २०३९ सालमा जुनियर राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट भएर खेल्न सुरु गरेका उनी खेलाडी जीवन धेरै कठिन हुने बताउँछन् । जुम्लाका धावक हरिबहादुर रोकायले सन् २००० मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए।

 

प्रकाशित: ५ कार्तिक २०८० १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App