८ वैशाख २०८१ शनिबार
खेल

नेपोली फेरि शीर्षमा

मिलान– नेपोलीले बुधबार जिनुवाको चुनौती ३–२ को नतिजामा समाप्त पार्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा पुनरागमन जनाएको छ। 

अघिल्लो दिन इन्टर मिलानले साम्पडोरियामाथि ३–२ को जित हासिल गर्दै शीर्ष स्थानमा कब्जा जमाएको थियो । तर बुधबार नेपोलीले द्रिइस मार्टिन्सको दुई गोल प्रेरणामा जिनुवामाथि ३–२ कै अन्तरमा जित हासिल गर्दै शीर्ष स्थानबाट इन्टरलाई विस्थापित गरेको छ । जिनुवा भ्रमणमा निस्केको नेपोलीको जितका लागि मार्टिन्सको दुई गोलमा विपक्षी खेलाडी इर्भिन जुकानोभिचको एउटा आत्मघाती गोल पनि थपिएको थियो। 

एडेल टाराब्टको गोलमा जिनुवाले चौथो मिनेटमै अग्रता लिएको थियो । तर त्यसको १० मिनेटपछि मार्टिन्सले गोल गर्दै नेपोलीलाई खेलमा फर्काए । मार्टिन्सले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपोलीले खेलमा अग्रता लियो । त्यसको ३० मिनेटपछि जुकानोभिचबाट आत्मघाती गोल उपहार पाउँदा नेपोलीको जित पक्का भइसकेको थियो । तर अर्मान्डो इजोले समय सकिन १४ मिनेट बाँकी रहँदा गोल फर्काएर जिनुवाको पुनरागमन आशा जीवित राखेका थिए । 
‘हामीले पूरा नियन्त्रण राखेको बेला अग्रता थप्न सकेनौं । उल्टो समय सकिन १३ मिनेट बाँकी रहँदा गोल खाएर हामीले खेललाई खुला प्रतिस्पर्धात्मक हुन दियौं,’ नेपोलीका प्रशिक्षक माउरिजियो सारीले भने। 

युभेन्ट्स घरेलु टुरिनको मैदानमा एसपिएएल २०१३ माथि ४–१ को जित हासिल गर्दै तेस्रो स्थानमा कायम रह्यो । १० खेलको समाप्तिमा नेपोली २८ अंकका साथ शीर्ष स्थानमा रहँदा २६ अंक जोडेको इन्टर दोस्रो तथा २५ अंकका साथ युभेन्ट्स तेस्रो स्थानमा छन् । बुधबारै बोलोग्नामाथि २–१ को अवे जित हासिल गरेको लाजियो पनि २५ अंकका साथ चौथो स्थानमा छ। 

फेडेरिको बर्नाडेस्चीको गोलमा १४औं मिनेटमा अग्रता लिएको युभेन्ट्सका लागि पाउलो डिबालाले २२औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । गोन्जालो हिग्विनले ६५ तथा हुवाँ क्वाडार्डोले ७०औं मिनेटमा घरेलु टोलीका लागि थप गोल गरे। भ्रमणकारी एसपिएएलका लागि अल्बर्टो पालोस्चीले ३४औं मिनेटमा गरेको गोल सान्त्वनामा सीमित भयो।

बोलोग्नामा सिरो इमोबिलले पेनाल्टीमा गोल गर्न नसके पनि सर्गेज मिलिनकोभिच साभिच र सिनाड लुलिचले गोल गरेपछि लाजियोले जित हासिल गर्‍यो । लाजियोका लुलिचले गरेको एउटा आत्मघाती गोल बोलोग्नाका लागि सान्त्वना थियो ।
एसी मिलानले बुधबार लगातार तीन खेलमा भोगेको पराजयको शृंखलामा पूर्णविराम लगाउँदै बर्खास्तगीको संघारमा पुगेका प्रशिक्षक भिन्सेन्जो मोन्टेलालाई राहत दिएको छ । चिनियाँ मालिकले स्वामित्व लिएको टोलीले विजयी लयमा फर्किने क्रममा बुधबार किइभो भेरोनामाथि ४–१ को जित हासिल ग¥यो । अघिल्लो खेलमा रातो कार्ड सामना गरेका कारण बुधबार मिलानको टोलीमा कप्तान लियोनार्दो बुनोचीको साथ थिएन । सुसो, हाकान काल्हानोग्लु र निकोला कालिनिकको गोल तथा विपक्षी खेलाडी बोस्टयान सिजरको आत्मघाती गोलमा पाएको यो जितपछि टोली १६ अंकका साथ आठौं स्थानमा उक्लिएको छ। 

‘यो जितले हाम्रो शक्ति र प्रतिबद्धता देखाएको छ,’ मोन्टेलाले भने, ‘तर अहिल्यै हामी खुसी हुने बेला आइसकेको छैन । पछिल्ला खेलमा हामीले नसोचेका असफलता भोगेका छौं । त्यसको शोधभर्ना नगरेसम्म हामी राहतको स्वास फेर्ने छैनौं ’
इटालियन सिरी ‘ए’ अन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा डिएगो पेरोटीको गोलमा एएस रोमाले क्रोटोनेमाथि १–० को जित हासिल गर्दा काल्लियारीले बेनेभेन्टोलाई २–१ को नतिजामा हरायो । यसै गरी फियोरेन्टिनाले टोरिनोलाई ३–० को नतिजामा हराउँदा युडिनेसीले सासौलोमाथि १–० को जित हासिल गर्‍यो। 

१० खेलको समाप्तिमा नेपोली २८ अंकका साथ शीर्ष स्थानमा रहँदा २६ अंक जोडेको इन्टर दोस्रो तथा २५ अंकका साथ युभेन्ट्स तेस्रो स्थानमा छन् ।

प्रकाशित: १० कार्तिक २०७४ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App