८ वैशाख २०८१ शनिबार
खेल

रंगशाला बनाउन ग्लोबल टेन्डर

पोखरा- पोखरा रंगशालाले अबको दुई वर्षभित्र मुहार फेर्ने भएको छ । कुनै बाधाअवरोध नआएमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुने बेलासम्म रंगशाला नयाँ स्वरूपमा निर्माण भइसक्नेछ । नयाँ पूर्वाधारसहितको सुविधासम्पन्न रंगशाला बनाउन मंगलबार ग्लोबल टेन्डर आह्वान गरिएको छ ।

सन् २०१९ मार्चमा नेपालमा १३औं साग खेलाउने तयारी छ । त्यस बेला सागका केही खेल पोखरामा खेलाउने राष्ट्रिय खेलकुद परिषद्को तयारी छ । त्यही प्रतियोगिता सुरु हुने बेलासम्म रंगशाला निर्माण सम्पन्न गर्ने गरी मंगलबार ग्लोबल टेन्डर आह्वान गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

‘पोखरा रंगशाला परिसरमा डोमसहितको प्यारापिट र मैदान बनाउन मंगलबार अन्तर्राष्ट्रिय रूपमा निर्माण कम्पनीलाई आह्वान गर्ने गरी टेन्डर गरेका छौं,’ अध्यक्ष पौडेलले भने, ‘४५ दिन समय दिएर टेन्डर आह्वान गरेका छौं । विदेशी निर्माण कम्पनीले यसमा टेन्डर हाल्न सक्छन् ।’ ४५ दिनमा कुनै पनि कम्पनीको टेन्डर नपरे दोहो¥याएर आह्वान गर्न सकिने उनले बताए ।

‘४५ दिनभित्र टेन्डर पर्छ । त्यसलगत्तै निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माण थाल्ने हो,’ उनले भने । उनका अनुसार सम्झौता भएको २ वर्षमा काम सक्ने गरी निर्माणलाई तीव्रता दिने तयारी छ । पौडेलका अनुसार विदेशीबाहेक ‘ए’ श्रेणीको स्वदेशी निर्माण कम्पनीले पनि टेन्डर हाल्न पाउनेछन् । त्यसका लागि सरकारले तोकेको मापदण्ड त्यो  निर्माण कम्पनीले पूरा गर्नुपर्छ ।

रंगशालालाई नयाँ रूप दिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, युवा तथा खेलकुद मन्त्रालय र एनडी इन्जिनियरिङ कन्सल्टेन्सीबीचको सम्झौताअनुसार विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । ‘रंगशालाको माटो परीक्षणसहित आर्किटेक्चर र स्ट्रक्चरल डिजाइन गरेर हामीलाई प्रतिवेदन बुझाएको छ,’ पौडेलले भने, ‘अब निर्माणलाई गति दिने गरी काम अघि बढेको छ ।

टेन्डरपछि कुनै एउटा कम्पनीसँग सम्झौता हुने र त्यही कम्पनीले अन्यसँग मिलेर काम गर्न सक्ने उनले बताए । पौडेलका अनुसार सागको बेलासम्म रंगशालाले मुहार फेर्नेछ । ‘पोखरा रंगशाला जगैदेखि नयाँ बन्नेछ । अहिलेका पूर्वाधार केही रहन्नन्,’ उनले भने, ‘पूरै नयाँ संरचना बन्नेछ ।’ उनका अनुसार रंगशालाको फुटबल मैदान, सर्वसाधारण दर्शक बस्ने डोमसहितको प्यारापिट, भिआइपी प्यारापिटसहितका पूर्वाधार बनाउने योजना रहेको छ ।

अध्यक्ष पौडेलका अनुसार छोटो समयभित्र निर्माण सक्नुपर्ने भएकाले ८६ करोड रुपैयाँ निर्माण अनुमान गरिएको छ। तर, निर्माण कम्पनीले भिन्दै डिजाइन पेस गरेर लागत बढ्न गएमा एक अर्ब रुपैयाँसम्म पनि खर्च हुन सक्ने उनले बताए । उनका अनुसार पोखरामा बन्ने फुटबलको अत्याधुनिक डोम हुनेछ । जहाँँ पानी परेको बेलामा पनि सहजै फुटबल खेल्न मिल्नेछ । सर्वसाधारण र भिआइपी गरी ३५ हजार दर्शक क्षमताको रंगशाला बन्ने उनले बताए । सरकारले रकम दिने निश्चित भएपछि मात्र ग्लोबल टेन्डर आह्वान गरेको उनले बताए । ‘सरकारले रकम दिने गरी स्वीकृत गरेपछि बल्ल ग्लोबल टेन्डर आह्वान गरेका हौैं,’ उनले भने ।

पूर्वाधार निर्माणले बीचबीचमा गति नलिँदा पोखराले खेलका अवसर गुमाउने गरेको छ । भएका पूर्वाधारले स्याहारसुसार पनि पाएका छैनन् । ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा २०३९÷४० सालमा तयार भएको फुटबल मैदान र प्यारापिटबाहेक बल्ल अहिले एउटा बहुउद्देश्यीय भवन बनिरहेको छ । त्यसबाहेक बनाउने भनिएका अन्य पूर्वाधारले गति लिएका छैनन् ।

पोखरामा २०३९÷४० सालमा तयार भएको फुटबल मैदान र प्यारापिट अहिले निकै नै कमजोर छन् । तीन दशक पुरानो यो पूर्वाधार नियमित मर्मतसम्भार नपाउँदा जीर्ण छ । भिआइपी प्यारापिट त झनै नाजुक अवस्थामा छ । भूकम्पले चिरा पारेको भिआइपी प्यारापिट गतिलै मर्मतको पर्खाइमा छ । भूकम्पपछि त्यही कमजोर प्यारापिटमा दर्शक राखेर दुई वर्षसम्म फुटबलका ठूला प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

केही वर्षअघि पानी चुहिने ठाउँमा सामान्य टालटुल गरेर प्यारापिटमा दर्शक राखेर प्रतियोगिता गरिए पनि देखिने गरी मर्मत नभएको वर्षाैं भइसकेको छ । हालको प्यारापिटसँग १८ सय र भिआइपी प्यारापिटसँग ५ सय दर्शक क्षमता छ । पोखराको यो रंंगशाला मर्मतसम्भार नहुँदा दर्शकले समस्या भोग्नुपरेको थियो ।

 फुटबलका राष्ट्रियस्तरका प्रतियोगिता हुँदा प्यारापिटमा नअटेपछि दर्शक भुइमा बसेर फुटबल हेर्न बाध्य छन् । ‘हामीले प्यारापिट अभावमा फलामे डन्डी तेस्र्याएर दर्शक बस्ने व्यवस्था मिलाउनुपरेको छ । बर्सेनि आयोजना हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजक सहारा क्लवका अध्यक्ष केशव थापाले भने, ‘सहाराको मात्र नभई समग्र पोखरेलीको माग नै रंगशाला व्यवस्थित गर्नुपर्छ भन्ने रहेको छ ।’

प्रकाशित: ८ कार्तिक २०७४ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App