१६ चैत्र २०८० शुक्रबार
खेल

क्लोपको ध्यान रक्षापंक्तिमा

लन्डन- खराब लयबाट गुज्रिइरहेको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले टोलीको मुख्य समस्या कमजोर रक्षापंक्ति भएको भन्दै त्यसलाई सुधार गर्ने बताएका छन् ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार वेम्बलीमा सम्पन्न खेलमा टोटेनह्यामलाई ४–१ को नतिजा सुम्पिएपछि क्लोपले रक्षापंक्तिमा देखिएको समस्याका कारण सोचेअनुरूप नतिजा निकाल्न नसकेको बताए ।
टोटेनह्याको सहज जितमा ह्यारी केनले दुई तथा ह्युङ मिन–सन र डेले अलीले समान १÷१ गोल गरेका थिए । लिभरपुलका मोहम्मद सलाहले सान्त्वनास्वरूप एक गोल गरेका थिए ।
लिभरपुलले जारी सिजनका ९ खेलमा १६ गोल खाइसकेको छ । सन् १९६४ यता सुरुआती खेलहरूमा लिभरपुलले गरेको यो सबैभन्दा खराब प्रदर्शन हो । क्लोपले अब आफ्नो ध्यान शीर्ष चारमा पर्ने भन्दा पनि टोलीमा देखिएको रक्षाापंक्तिको सुधारमा हुने बताए ।
‘आजको हारपछि हामी नवौं स्थानमा झरेका छौं । त्यसैले हामीले अब शीर्ष चारभन्दा पनि आफ्नो कमजोरी सुधार्नमा ध्यान दिनु जरुरी छ,’ क्लोपले भने, ‘यो सन् १९९६ पछिको सबै भन्दा खराब प्रदर्शन हो । हामी आफ्नै कमजोरीका कारण यो अवस्थामा आएका होैं । अब हामीले आफू पनि उत्कृष्ट रक्षकले भरिएको टोली हौं भनेर प्रमाणित गर्नुपर्छ ।’
‘हामीले म्यानचेस्टर सिटी, वाट्फोर्ड र टोटनह्यामविरुद्धका ३ खेलमा मात्र १२ गोल खाएका छौं,’ क्लोपले भने, ‘यसले पनि हाम्रो कमजोरी प्रस्ट्याएको छ । हामीसँग टोलीमा क्षमतावान् रक्षक भए पनि उनीहरूले स्वाभाविक प्रदर्शन गर्न सकिरहेका छैनन् । त्यसैले टोलीको रक्षापंक्ति सुधार्नु अहिले मेरो पहिलो प्राथमिकता हो ।’
सिटीलाई ५–० को नतिजा सुम्पिएको लिभरपुलले वाट्फोर्डसँग ३–३ को बराबरी खेलेको थियो ।
खेलको चौथो मिनेटमा केनले काइरेन ट्रिपरको पासमा गरेको गोलमा टोटेनह्यामले अग्रता लिएको थियो । १२औं मिनेटमा ह्युङ मिन–सनले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारेका थिए । उनले केनको पासलाई पोस्टको दिशा दिएका थिए । २४औं मिनेटमा सालाहले जोर्डन हेन्डरसनको पासमा गोल गरेपछि लिभरपुलले खेलमा फर्कने संकेत गरेको थियो ।
तर ४५औं मिनेटमा अलीले गोल गर्दै टोटेनह्यामको अग्रता ३–१ मा पु¥याए । ५६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामको जित सुनिश्चित गरेका थिए । ट्रिपरको फ्रि–किक लिभरपुलका गोलकिपर सिमोन मिग्नोलेटले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा आएको बललाई केनले जाली चुमाएका थिए ।
यस जितपछि ९ खेलको समाप्तिमा २० अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा समान २० अंक जोडेको म्यानचेस्टर युनाइटेड गोलअन्तरमा दोस्रो स्थानमा छ । २५ अंक जोडेको सिटी शीर्ष स्थानमा यथावत् छ । १३ अंक जोडेको लिभरपुल नवौं स्थानमा झरेको छ ।

टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आफ्नो क्लब सबै टोलीलाई बलियो चुनौती दिन सक्षम भएको र लिभरपुलविरुद्धको जितले त्यसलाई थप प्रमाणित गरेको बताए ।
‘टोलीको प्रदर्शनले हाम्रो हौसला थप बलियो पारेको छ,’ पोचेटिन्होले भने, ‘उपाधि यात्रा अझै लामो छ । त्यसैले हामीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन आवश्यक छ ।’

प्रकाशित: ७ कार्तिक २०७४ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App