१६ चैत्र २०८० शुक्रबार
खेल

स्वारेजको गोलले बार्सिलोना बराबरीमा

स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न एट्लेटिककाे मड्रिडविरूद्धकाे खेलमा गाेल गरेपछि बार्सिलाेनाका स्ट्राइकर लुइस स्वारेज(बायाँ) । तस्बिर : एएफपी

मड्रिड– स्टाइकर लुइस स्वारेजले गरेको गोलमा शनिबार बार्सिलोना एट्लेटिको मड्रिडसँग हारको संघारबाट जोगिएको छ।

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति  सम्पन्न खेलको २१औं मिनेटमा साउल निग्युजले गरेको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । तर खेल सकिन ८ मिनेट बाँकी छँदा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएपछि एट्लेटिको अंक बाँड्न बाध्य भएको थियो।

‘एट्लेटिको मड्रिडका रक्षक र गोलकिपरले उत्कृष्ट प्रदर्शन गरे पनि हामीले हार मानेनौं र अन्ततः अंक खोस्न सफल भयौं,’ स्वारेजले भने ।
स्पेनबाट क्याटालोनिया छुट्टिनुपर्छ भन्दै भएको जनमतसंग्रहपछिको पहिलो खेल भएकाले पनि यसलाई महत्त्वका साथ हेरिएको थियो।

यस नतिजापछि ८ खेलको समाप्तिमा २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् छ । समान खेलमा १७ अंक जोडेको रियाल मड्रिड दोस्रो र १६ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छन्।

‘यी दुई उत्कृष्ट टोलीबीचको रोचक भिडन्त रह्यो,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने,’ मेसीको प्रदर्शन झनै उत्कृष्ट रह्यो । उनको प्रत्येक प्रहार हाम्रो टोलीका लागि खतरा बनेको थियो ।’

‘यो सबै फुटबलप्रेमीका लागि राम्रो दिन रह्यो र यहाँ उपस्थित समर्थकले थप ऊर्जा प्रदान गरे,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने।
बार्सिलोनाले खेलको अधिकांश समय बल नियन्त्रणमा राख्दै एट्लेटिकोलाई दबाबमा राखेको थियो।

५५आंैं मिनेटमा स्वारेजले गरेको प्रहार एट्लेटिकोका गोलकिपर जोन ओब्लाकले रोक्दा बार्सिलोनाले खेलमा फर्काउने अवसर खेर फालेको थियो । त्यसको एक मिनेटपछि नै मेसीको उत्कृष्ट फ्रि–किक पोस्टनजिकैबाट बाहिरिँदा बार्सिलोना फेरि एक पटक निराश बनेको थियो । खेल सकिन १९ मिनेट बाँकी हँुदा मेसीले पुनः बार्सिलोनालाई खेलमा फर्काउने अवसर पाएका थिए तर उनको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो।

यसअघि शनिबार चाँडो गरी सम्पन्न खेलमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलप्रेरित रियालले गेटाफेलाई २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो।

३९औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ५६औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दै गेटाफेलाई खेलमा फर्किएका थिए । तर खेल सकिन ५ मिनेट बाँकी छँदा रोनाल्डोले गरेको गोलमा रियालले महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो।

‘खेल ९० मिनेट लामो हुन्छ र हामीलाई आफूहरू जुनसुकै बेला गोल गर्न सक्षम छाैँ भन्ने थाहा थियो,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने।

प्रकाशित: ३० आश्विन २०७४ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App