१६ चैत्र २०८० शुक्रबार
खेल

‘अवार्डको मनोनयनमा पर्नु नै उपलब्धि’

काठमाडौं- नेपाली खेलकुदको वहुप्रतीक्षित पल्सर स्पोर्टस अवार्ड सोमबार काठमाडौंमा हुँदा विभिन्न आठ विधामा खेलकर्मी सम्मानित हुनेछन् । लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा खेलाडीबाहेक पाँच विधा (पुरुष, महिला, युवा, प्रशिक्षक र जनताको रोजाइ) मा अवार्डका लागि मनोनयनमा परेका पाँच÷पाँच जनाले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । लाइफटाइम एचिभमेन्ट, विशेष पुरस्कार र पारामा भने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रममै विजेताको घोषणा गर्नेछ ।

वर्ष २०७३ मा गरेको प्रदर्शनका आधारमा गरिएको मनोनयनमा पुरुष खेलाडीतर्फ राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङसहित क्रिकेटका स्टार शरद भेषावकर, ब्याडमिन्टनका रत्नजित तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।

त्यस्तै महिलातर्फ एथ्लेटिक्सकी कान्छीमाया  कोजु र सरस्वती भट्टराईसहित फुटबलकी सावित्रा भण्डारी, ब्याटमिन्टनकी नङ्सल तामाङ र आर्चरीकी ज्ञानु अवाले पर्न सफल भएका छन् । कान्छीमाया जनताको रोजाई विधाको मनोनयनमा पनि छिन् । युवातर्फ राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङसँगै राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोतोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली उत्कृष्ट पाँचमा समेटिएका छन् । दीपेन्द्र जनताको रोजाइको मनोनयनमा पनि छन् । त्यस्तै प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजी, रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीसहित राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, एथ्लेटिक्सका पुष्पराज ओझा र ब्याड्मिन्टनका किरण थापा मनोनयनमा परेका छन् ।

जनताको रोजाईको मनोनयनमा कान्छीमाया र दीपेन्द्रसिंहसहित पौडीकी गौरिका सिंह, फुटबलका सुजल श्रेष्ठ र जुडोकी फुपूल्यामु खत्री छन् ।

पिपल्स च्वाइस, पुरुष, महिला र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न उपहारहरू पाउनेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित उपहार प्रदान गरिनेछ ।

अवार्डको पुरुष विधामा दुई तथा युवा विधामा एक पटक उपाधि जितिसकेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले देशकै सबभन्दा ठूलो अवार्डको मनोनयनमा पर्नु नै ठूलो उपलब्धि भएको बताउँदै सबै मनोनितलाई बधाई दिए । मञ्चले शनिबार गरेको कार्यक्रममा दुई पटक उत्कृष्ट पुरुष खेलाडी तथा एक पटक विशेष पुरस्कार जितेका ओलम्पियन तेक्वान्दो खेलाडी दीपक विष्टले अवार्डको सफलताको शुभकामना दिए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पल्सर स्पोर्ट्स् अवार्ड नेपाली खेल जगत्को सबभन्दा ठूलो चाड भएको बताउँदै सम्पूर्ण खेलकर्मीहरू वर्षभर यसको प्रतीक्षामा रहने बताए । ‘यो अवार्डमा चुनौती प्रस्तुत गर्नका लागि खेलाडीहरूले वर्षभर मिहिनेत गरेका हुन्छन्,’ उनले भने ।

यसै गरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले पल्सर स्पोटर््स अवार्डका कारण राज्यले अर्को ठूलो अवार्ड गर्ने आवश्यकता नरहेको बताए । ‘मैले परिषद्को अवार्डलाई भव्य बनाउनुपर्छ भन्ने सोचेको थिएँ । तर गत वर्ष यो अवार्ड हेरेपछि हामीले छुट्टै अवार्ड गर्नुपर्छ जस्तो लागेन । बरु राज्यले आफ्नो सबैखाले सहयोग यही अवार्डमा गर्नुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

प्रकाशित: २५ भाद्र २०७४ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App