८ वैशाख २०८१ शनिबार
खेल

मेक्सिको विश्वकपमा छनोट

मेक्सिको सिटी- अमेरिका घरेलु मैदानमा कोस्टारिकासँग स्तब्ध भएको दिन शुक्रबार पानामालाई पराजित गर्दै मेक्सिकोले अर्को वर्ष रुसमा हुने विश्वकपको टिकट काटेको छ ।

हिर्भिङ लोजानोले ५३औं मिनेटमा गरेको एउटै हेड गोल शुक्रबार मेक्सिकोलाई रुस विश्वकपमा छनोट हुन पर्याप्त भयो । घरेलु एज्टिका रंगशालामा पानामामाथि १–० को जित हासिल गर्दै कन्काकाफको महारथी मेक्सिकोले लगातार सातौं पटक विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

‘लगातार विश्वकपमा छनोट भइरहनु सामान्य उपलब्धि होइन । हामी अहिले अत्यन्तै खुसी छौं,’ लोजानोले भने, ‘मलाई आफ्नो व्यक्तिगत गोलभन्दा पनि टिमको जितमा खुसी छ । त्यो गोल टिमलाई विश्वकप पु¥याउन काम लाग्यो, मेरा लागि यो सबभन्दा ठूलो कुरा हो । छनोट भइसके पनि हामी बाँकी रहेका खेललाई बेवास्था गर्नेछैनौं । बाँकी प्रत्येक खेल पनि हामी जित्नका लागि खेल्नेछौं ।’

अर्को वर्ष ३२ टिमबीच हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतिस्पर्धाका लागि मेक्सिकोअघि ब्राजिल, जापान र इरान छनोट भइसकेका थिए । आयोजकका नाताले रुस प्रतियोगितालाई स्वत छनोट भएको थियो ।

कन्काकाफको अन्तिम चरण छनोट प्रतियोगितामा शुक्रबारको नतिजापछि ७ खेलको समाप्तीमा मेक्सिको १७ अंकका साथ शीर्ष स्थानमा पुगेको छ । ६ टोली सम्मिलित अन्तिम चरणको छनोटबाट शीर्ष तीन टोली सोझै विश्वकपलाई छानिन्छन् । चौथो हुने टोलीले प्लेअफ खेल्नुपर्नेछ । तीन खेल बाँकी रहेको अवस्थामा अबका खेलमा जस्तो नतिजा आए पनि मेक्सिको शीर्ष तीनमा पर्ने पक्का छ ।

मेक्सिकोले रुस भ्रमण पक्का गरेको खुसी मनाइरहँदा चिर प्रतिद्वन्द्वी अमेरिकाको यात्रा भने कोस्टा रिकासँग २–० को नतिजामा पराजित भएपछि कठिन मोडमा पुग्यो । विश्वकप २०१४ को क्वार्टरफाइनल पुगेको कोस्टारिकाका लागि न्युजर्सी स्थित हयारिसनमा मार्कुस उरेनाले दुवै गोल गरेका थिए । ३०औं मिनेटमा खाता खोलेका उरेनाले समय सकिन आठ मिनेट बाँकी रहँदा दोस्रो गोल गरेर तीन अंक पक्का गरेका थिए । जसका कारण अमेरिकाको रुस यात्रा अनिश्चित बनेको छ ।

जितपछि कोस्टा रिका १४ अंकका साथ कन्काकाफ छनोट प्रतियोगिता अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ८ अंकमा सिमित अमेरिका समान अंक जोडेको हन्डुरससँग तेस्रो स्थानमा यथावत छ । पानामाले ७ तथा ट्रिनिडाड एन्ड टोबागोले ३ अंक जोडेका छन् । जसका कारण शीर्ष तीन भित्र रहेर रुसको टिकट काट्ने प्रतिस्पर्धामा अमेरिकाले तेस्रो स्थानका लागि हन्डुरस र पानामासँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

अमेरिकाका प्रशिक्षक ब्रुस एरिनाले शुक्रबारको खेललाई दूर्भाग्यजनक शंज्ञा दिए । ‘आजको दिन हाम्रो लागि निराशाजनक रहयो । यो दूर्भाग्यजनक हारपछि हाम्रो यात्रा कठिन अवस्थामा पुगेको छ । अब हामी दुई दिनसम्म यसको समिक्षा गर्नेछौं र त्यसपछि एउटा प्रभावकारी योजनाका साथ आउनेछौं,’ एरिनाले भने ।

दुवै टोली १० जनामा सिमित भएर मैदान छोडेको खेलमा शुक्रबार हन्डुरसले ट्रिनिडाड एन्ड टोबागोमाथि २–१ को जित निकालेको थियो ।

एलेकजेन्डर लोपेजको गोलमा भ्रमणकारी हन्डुरसले सातौं मिनेटमै अग्रता लिएको थियो । अल्बर्थ इलिसले १७औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारेपछि टोली जितको नजिक पुगिसकेको थियो । अझ ५८औं मिनेटमा ट्रिनिडाड एन्ड टोबागोका आल्भिन जोन्स रातो कार्ड सामना गर्दै बाहिरिएपछि हन्डुरसका लागि खेल थप सहज बनेको थियो । तर ६५औं मिनेटमा इमिलियो इजाग्विरेले दोस्रो पहेलो कार्ड दर्शन गरेपछि हन्डुरस पनि १० खेलाडीमा सिमित भयो । त्यसको दुई मिनेटपछि गोभिन जोन्सले ट्रिनिडाड एन्ड टोबागोका लागि पेनाल्टीमा एक गोल फर्काएर पुनरागमनको संकेत गरे । तर कम्तिमा अंक बाढ्न पनि त्यो पर्याप्त भएन ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App