१५ चैत्र २०८० बिहीबार
खेल

साफ यु-१५ च्याम्पियनसिप आजदेखि

काठमाडौं- प्रशिक्षक सुनिल श्रेष्ठले शुक्रबारदेखि सुरु हुन लागेको साफ यु–१५ च्याम्पियनसिपमा नेपालको पहिलो लक्ष्य सेमिफाइनलमा प्रवेश गर्नु रहेको बताएका छन्।

घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा उपाधि जित्नुपर्ने दबाबलाई सामना गर्दै टोलीले आफ्नो लक्ष्य हासिल गर्ने श्रेष्ठले बताए। प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल माल्दिभ्ससँग अगस्ट २१ र भारतसँग अगस्ट २३ मा खेल्नेछ। १० दिने प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार बंगलादेश र श्रीलंका भिड्नेछन्।

एएफसी यु–१६ च्याम्पियनसिप छनोटको तयारी गरिरहेकाले युवा टोलीले राम्रो प्रदर्शन गर्ने प्रशिक्षक श्रेष्ठले बताए। श्रेष्ठले भने, 'आयोजक भएकाले हामीलाई उपाधि रक्षा गर्न धेरै दबाब छ। हाम्रो पहिलो लक्ष्य सेमिफाइनलमा पुग्नु हो। त्यसपछि हामी फाइनल जित्ने प्रयास गर्छौं।' श्रेष्ठले अगाडि थपे, 'टोलीमा केहि परिवर्तन भएको छ। युवा टोलीले आफ्नो अनुभवअनुसार खेले नतिजा राम्रो आउँछ।'

युवा टोलीको कप्तान पृथ्वी चौधरी घाइते भएका कारण केही समस्या भएको श्रेष्ठले बताए। चौधरीको स्थानमा रोशन रानामगरले टिमको नेतृत्व गर्नेछन्। पहिलो पटक दक्षिण एसियाली टोलीबीच हुन लागेको साफ यु–१५ प्रतियोगिता साफ यु–१६ प्रतियोगिताको स्थानमा गर्न लागिएको प्रतियोगिता हो। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हलचोकस्थित एपिएफ मैदानमा हुनेछन्।

नेपाली टोली :  रोहित कार्की, रोशन दोङ, दीपक भण्डारी, सञ्जय अर्याल, नीरज चौधरी, रन्दिप पौडेल, रोशन रानामगर (कप्तान), बिपिन थापामगर, अविशेख श्रेष्ठ, बृजेश चौधरी, रञ्जन पुन, अन्जल महर्जन, असीम गुरुङ, दर्शन गुरुङ, कार्लोस बखरिया, विशाल सुनार, सौगात खवास, आकाश बुढाथोकी, शिशिर लेखी, रोशन थापा, सुवास कार्की, निशान रावल, अशोक किङरिङ।

प्रकाशित: २ भाद्र २०७४ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App