७ वैशाख २०८१ शुक्रबार
खेल

कीर्तिमानी रकममा नेइमारको सरुवा

पेरिस- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)ले बिहीबार ब्राजिलियन स्ट्राइकर नेइमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा अनुबन्ध गरेको छ।

केही सातायता सर्वाधिक चर्चाको विषय बन्दै आएको नेइमारको सरुवा अन्यौल चिर्दै पिएसजीले उनीसँग ५ वर्षे सम्झौता गरेको घोषणा गरेको छ ।२५ वर्षे नेइमारले सम्झौताअनुसार वार्षिक ३ करोड युरो पारिश्रमिक पाउने छन्। बार्सिलोनाले तोकेको सरुवा रकम बुझाएपछि नेइमारको पेरिस यात्रा पक्का भएको हो।

‘पिएसजीमा आबद्ध हुँदा धेरै खुसी छु,’ नेइमारले भने, ‘युरोप आएदेखि मैले पिएसजीलाई सधै एक प्रतिस्पर्धी र महत्वाकांक्षी क्लबका रुपमा देख्दै आएको छु। क्लबको महत्वकांक्षी योजनाले मलाई आकर्षित गर्‍यो। नयाँ चुनौतीका लागि म यहाँ आएको हुँ,’ नेइमारले भने, ‘आजबाट म क्लबलाई नयाँ उचाईमा पुर्‍याउन सक्दो प्रयास गर्नेछु।’

पिएसजीले नेइमारका लागि खर्चेको रकम म्यानचेस्टर युनाइटेडले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई खर्च गरेको तुलनामा दोब्बरभन्दा बढि हो। युनाइटेडले गत वर्ष पोग्बाका लागि तत्कालिन विश्व कीर्तिमानी ८ करोड ९० लाख युरो खर्चेको थियो।

यता म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो र आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले नेइमारको कीर्तिमानी सुरुवाले समग्र बजार र खेलाडीको पारिश्रमिकमा असर पुर्‍याउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘हामीले पाउल पोग्बालाई टोलीमा अनुबन्ध गर्दा मैले यो त्यति महँगो रकम होइन भनेको थिएँ,' माउरिन्होले भने, ‘कुनै निश्चित क्षमताविना पनि कसैलाई ठूलो रकम दिइन्छ भने त्यो महँगो हो। नेइमार किन्नका लागि गरिन लागेको २२ करोड २० लाख युरो मलाई महँगो लाग्दैन। अब १ सय करोड, ५० करोड र ६० करोड पाउन्ड लिने धेरैभन्दा धेरै खेलाडी हुनेछन्। यो चाही फुटबलको एउटा मुख्य समस्याका रुपमा अगाडि आउनेछ।’

‘यसले खेलाडीलाई दिइने पारिश्रमिक द्रुत गतिमा बढ्ने देखिन्छ,’ वेंगरले भने, ‘यो कल्पना र हिसाब गर्न नसकिने कुरा हो।’

यद्यपि कतारी प्रायोजनमा रहेको पिएसजीले युरोपका शीर्ष क्लबलाई पछि पार्दै नेइमारलाई अनुबन्ध गरेको खबरले फ्रान्सको राजधानीमा छुट्टै रौनक छाएको छ। फ्रान्सका प्रमुख पत्रिकाहरुले नेइमारको सरुवालाई मुख्य समाचारका रुपमा प्रकाशित गरेका छन्।

यता स्पेनका संचार माध्यमले नेइमार पिएसजी सरुवा भएपछि बार्सिलोना लिभरपुलका ब्राजिली मिडफिल्डर फिलिप कौटिन्हो र बोरुसिया डर्टमन्डका ओस्माने डेम्बेलेलाई भिœयाउन इच्छुक भएको खबर सार्वजनिक गरेका छन्।

स्पेनिस ला लिगाले एक उत्कृष्ट खेलाडी गुमाएको भन्दै विरोध जनाइराख्दा बार्सिलोनाका खेलाडीले निरन्तर नेइमारलाई आगामी दिनका लागि शुभकामना दिइरहेका छन्।

‘अगामी दिनका लागि शुभकामना,’ स्ट्राइकर लुइस स्वारेजले इन्स्ट्राग्राममा नेइमारसँगको तस्बिर पोस्ट गर्दै लेखेका छन् , ‘मैले तिमीबाट सिकेका हरेक कुराका लागि धन्यबाद। निरन्तर उत्कृष्ट प्रदर्शन गर्नु र कहिल्यै परिवर्तन नहुनु।’

त्यस्तै विश्व फुटबलका सर्बकालिन महान खेलाडी पेलेले पनि नेइमारलाई विश्व कीर्तिमानी सरुवाका लागि बधाई दिँदै उनले ब्राजिलको राष्ट्रिय टोलीलाई पनि सफलतातिर डोर्‍याउने विश्वास व्यक्त गरेका छन्।

‘नयाँ चुनौतीका लागि शुभकामना,’ तीन पटकका विश्वकप विजेता पेलेले टि्वटरमा पोस्ट गरेका छन्।

यसअघि बिहीबारै स्पेनिस फुटबल लिगले २२ करोड २० लाख युरोको चेक लिन अस्वीकार गरेपछि ‘शताब्दी सरुवा’ को रूपमा लिइएको नेइमारको पिएसजी यात्राले नयाँ मोड लिने देखिएको थियो।

स्पेनिस फुटबल लिगका प्रमुख हाभियर टिवासले यो सरुवामा पिएसजीले युइएफएको आर्थिक नीतिविपरीत काम गरेको आरोप लगाएका थिए।

युइएफएको नियम अनुसार कुनै पनि क्लबले तीन वर्षभित्र ३ करोड युरोभन्दा बढी रकम गुमाए कारबाही हुने प्रावधान छ। तर युइएफएले भने नेइमार सरुवामा आर्थिक निती उल्लंघन नभएको बताएको छ।

प्रकाशित: २१ श्रावण २०७४ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App