coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

इपिएलको दोस्रो संस्करण पुसमा

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पुसको हाराहारीमा हुने भएको छ। आइतबार लोगो सार्वजनिक कार्यक्रममा आयोजकहरुले प्रतियोगिता 'डिसेम्बर'मा गर्ने बताए। आयोजक प्रमुख आमिर अख्तरले प्रतियोगिताको मिति अहिल्यै तय भइनसके पनि डिसेम्बरमा गर्ने बताए।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, मुख्य प्रशिक्षक जगत टमाटा र इपिएल प्रमुख आमिर अख्तरले संयुक्त रूपमा प्रतियोगिताको लोगो सार्वजनिक गरेका थिए।

प्रतियोगितामा सहभागी ६ फ्रेन्चाइज टोलीको नामकरण नेपालका ६ प्रमुख सहर (काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखरा¬) का नामबाट गरिएको छ। तथापि फ्रेन्चाइज टोलीका मालिकहरूको नाम भने सार्वजनिक गरिएको छैन।

‘पहिलो प्रतियोगिताको सफलताबाट हामी उत्साहित छौं। दोस्रो संस्करणलाई हामी केही फरक ढंगले गर्ने तयारीमा छौं। यसमा सहभागी सबैले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको महसुस गर्नेछन्,’ इपिएलका प्रमुख अख्तरले भने, ‘खेलाडीलाई कसरी वर्गीकरण गर्ने भन्ने विषयमा हामी छलफलमै छौं। अहिलेलाई हामीले ६ सहरको नाममा टोली बनाएका छौं। आगामी दिनमा यो संख्या बढ्न पनि सक्छ। फ्रेन्चाइज टोलीका मालिकसँग हामीले १० वर्षे सम्झैता गर्न लागेकाले तत्काल उनीहरूको परिचय नखुलाएका हौं। केही समयपछि फ्रेन्चाइज टोलीका मालिकहरु सार्वजनिक हुनेछन्।’

प्रथम पुरस्कार २१ लाख राखिएको प्रतियोगितामा सहभागी एक टोलीमा १५ खेलाडी हुनेछन्। त्यसमध्ये १० खेलाडी अक्सनबाट, तीन विदेशी खेलाडी, १ स्थानीय प्रतिभा र १ मार्की (आरक्षित मुल्यवान) खेलाडी हुनेछन्। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। ट्वान्टी–२० स्वरूपमा खेलाइने प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा हुनेछन्।

राष्ट्रिय टोलीका कप्तान खड्काले यस्ता प्रतियोगिताहरूमा स्थानीय खेलाडीहरूले प्रतिभा देखाउने मौका पाउने बताए। उनले थपे, ‘घरेलु प्रतियोगितामध्ये यो ठूलो हो। निजीस्तरबाट यस्ता प्रतियोगिता हुँदा खुसी लाग्छ। छिट्टै क्यानबाट होस् भन्ने हाम्रो चाहना हो।’

मुख्य प्रशिक्षक जगत टमाटाले यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको बताए। उनले जुनियर खेलाडीहरूले यस प्रतियोगिताबाट सिक्ने मौका पाउने भन्दै आगामी दिनमा यसले निरन्तरता पाउनुपर्ने बताए।

प्रकाशित: १६ श्रावण २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App