coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एभर्टनमा रुनीको दोस्रो 'डेब्यु'

जेनेभा- नयाँ सिजनमा सशक्त रुपमा प्रस्तुत हुने लक्ष्यका साथ सरुवा बजारमा एसी मिलानले गरेको ठूलो धनराशीले चाढै नै फल दिने क्रममा टोली बिहीबार युरोपा लिग छनोट प्रतियोगिताको तेस्रो चरणमा सिएसयु क्राइओभामाथि विजय हासिल गर्न सफल भयो।

हालैमात्र अनुबन्धित खेलाडी रिकार्डो रोडरिग्वेजले गरेको एउटै गोल मिलानलाई बिहीबार १–० को जित हासिल गर्न पर्याप्त भयो। स्विट्जरल्यान्डका रक्षकले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा मैदानको दायाँ छेउबाट प्रहार गरेको फ्रि–किक पेनाल्टी बक्समा रहेका थुप्रै खेलाडीलाई छक्याउँदै गोलमा परिणत भएको थियो।

युरोपेली क्लब फुटबलमा तीन वर्ष अनुपस्थित भएपछि मिलानले टोली बलियो बनाउने अभियानमा सरुवा बजारमा २५ करोड डलर खर्च गरिसकेको छ। अर्को बिहीबार घरेलु सान सिएरोमा हुने दोस्रो लेगले मिलानको युरोपेली प्रतियोगितामा भविश्य निर्धारण गर्नेछ।

उता रोमानियामा विश्वकप २००२ को विजेता ब्राजिली टोलीका स्टार रिभाल्डोका छोरा रिभाल्डिन्होको गोलमा डिनामो बुखारेस्टले एथलेटिक बिल्बाओसँग १–१ को बराबरी नतिजा निकाल्यो। रिभाल्डिन्होले ५४औं मिनेटमा लामो दुरीबाट गोल गर्दै बुखारेस्टलाई बराबरीमा ल्याएका थिए।

युरोपा लिग छनोट चरणको खेलअन्तर्गत बिहीबार म्यानचेस्टर युनाइटेड एवं इङल्यान्डका पूर्व कप्तान वायन रुनीका लागि निकै भावुक रहयो। रुनीले १३ वर्षपछि आफ्नो किशोरावस्थाको टोली एभर्टनबाट पहिलो प्रतिस्पर्धात्मक खेल खेले। एमएफके रुजोम्बेरोकविरुद्धको खेलमा रुनीको एभर्टन १–० ले विजयी भयो। इङल्यान्डका रक्षक लेइटन बेइन्सको एउटै गोल एभर्टनलाई विजय दिलाउन पर्याप्त भयो।

तेस्रो चरणको छनोटअन्तर्गत बिहीबारै सम्पन्न अन्य खेलमा भालेरे जेर्माइनको ह्याटि्रकप्रेरित मार्सेले ओस्टेन्डेलाई ४–२ को नतिजामा हराउँदा जेनिट सेन्ट पिट्सबर्गले बेनी येहुदालाई २–०, ओसिजेकले पिएसभी आइन्डहोभनलार्य १–० तथा बोर्डेउक्सले भिडियोटन र फेनेरबाचेले स्टर्म ग्राजलाई २–१ को समान अन्तरमा पराजित गरे।

लामो समयपछि वाल्यकालको क्लबमा फकिँदा रुनीले अब दबाबमुक्त भएर फुटबलमा मात्र केन्द्रित हुन पाउने बताए। 'मैले पछिल्लो केही हप्तादेखि भन्दै आएको थिएँ। गुडिसन पार्कमा फर्किन पाउनु, निलो जर्सीमा खेल्न पाउनु मेरा लागि महत्वपूर्ण विषय हुन्,' रुनीले भने, 'मैले यहाँ अब कुनै दबाब सामना गर्नु पर्ने छैन। एभर्टनबाट दोस्रो पटक 'डेब्यु' गर्नु पक्कै पनि मेरा लागि निकै भावुक क्षण थियो। त्यसलाई मैले बडो मुस्किलले सामना गरेँ। तर अब मलाई कुनै दबाब छैन, म पूर्ण रुपमा फुटबलमा केन्द्रित हुन पाउनेछु।'

एभर्टनबाट युरोपेली स्तरको प्रतियोगिता खेल्नु आफ्नो पुरानो सपना भएको भन्दै रुनीले यही सिजन त्यो पूरा गर्ने बताए। 'एभर्टन जोशिला र क्षमतावान खेलाडीले भरिएको टोली हो। यहाँबाट जस्तोसुकै सपना देख्न पनि एउटा खेलाडीलाई छुट छ। यहाँबाट युरोपेली प्रतियोगिता खेल्ने सपना पुरानो हो। त्यो सपना यो वर्ष पूरा हुने मेरो विश्वास छ,' उनले भने, 'हरेक प्रतियोगितामा टिमको सफलताका लागि म आफ्नो तर्फबाट सतप्रतिसत मिहिनेत गर्नेछु। क्लबलाई नयाँ उचाईमा पुर्‍याउनका लागि हामी सबैले योगदान गर्नेछौं।'

प्रकाशित: १४ श्रावण २०७४ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App