६ वैशाख २०८१ बिहीबार
खेल

क्षतिपूर्ति विवाद अझै मिलेन

काठमाडौं- थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषय मिलाउन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक अन्तिम सयममा अनिश्चित कालका लागि स्थगित भएको छ।

बुधबार सुरु बैठक थ्री स्टारकै विषयमा एन्फा पदाधिकारी तथा सदस्यहरूबीच चर्काचर्की भएपछि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित थियो। तर बिहीबार वैठक सुरु हुन एक घन्टा बाँकी रहँदा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले सूचना टाँस गरेर अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेका थिए।

'अहिले फुटबलको भविष्यसँग गासिएको विषय छ। यसलाई होमवर्क पुगेन। सबै साथीहरूसँग गहन छलफल गरेर निष्कर्षमा पुगौं भनेर बैठक केही दिनका लागि स्थगित गरेको हो,' थ्री स्टारको विषयलाई सङ्केत गर्दै एन्फा अध्यक्ष श्रेष्ठले नागरिकसँग भने, 'थ्री स्टारको विषयमा साथीहरूबाट धेरै खालको कुरा आयो। केही वर्षदेखि हुन नसकेको लिग नगरी हुँदैन। तर फुटबलको भविष्यसँग गासिएको विषय भएकाले हेलचेक्र्याइँ पनि गर्नु भएन। त्यसैले दुई/तीन दिन साथीहरूसँग गहन छलफल गरेर अर्को हप्ता बैठक बस्नेछौं र त्यो बैठकले राम्रो समाधान ल्याउनेछ।'

एन्फाको गल्तीका कारण राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार छनोट प्रतियोगिता पार गरे पनि एसिया कपको दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो।

थ्री स्टारले उक्त प्रतियोगिता खेल्न नपाएपछि दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्ति नदिएसम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने निर्णय लिएको थियो। थ्री स्टारले सुरुमा ६ करोड रुपैयाँ क्षतिपूर्ति मागे पनि पछिल्लो समय एन्फा र क्लब पदाधिकारीबीच १ करोड ५० लाख तथा तीनवटा मैत्रपूर्ण खेलमा अनौपचारिक सहमति भएको थियो। त्यही अनौपचारिक सहमतिलाई कार्यसमितिबाट अनुमोदन गराउनेसहित तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, महिला प्रतियोगिता, फुटसल गर्ने, भौतिक पूर्वाधारको अभावलगायतका विषय एन्फा बैठकका एजेन्डा थिए।

सबै विषयमा सौहार्दपूर्ण छलफल भए पनि थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा भने बैठकमा चर्काचर्की भएका कारण बुधबारको वैठक स्थगित भएको थियो। मानार्थ अध्यक्ष टासी घले, उपाध्यक्ष वीरबहादुर खड्का, केन्द्रीय सदस्यहरू पंकजविक्रम नेम्वाङ, वसन्त अर्याल र सहमहासचिव किरण राईलगायतले दोषीमाथि कारबाही गरेपछि मात्र क्षतिपूर्तिको विषयमा प्रवेश गर्न सकिने अडान राखेपछि बुधबार सहमति जुट्न सकेको थिएन। उनीहरूले थ्री स्टारले एसिया कप खेल्न नपाएपछि एन्फाद्वारा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवाज उठाएका थिए। प्रतिवेदनमा महासचिव धीरेन्द्र प्रधान, कर्मचारीहरु गोकुल थापा र वसन्त रिजाललगायतलाई दोषी ठहर गरिएको बताइएको छ।

बिहीबारको वैठक स्थगित गरिएपछि विभिन्न जिल्लाबाट आएका एन्फा कार्यसमितिका थुप्रै सदस्यहरु फर्किइसकेको बताउँदै कार्यसमिति सदस्य पैकजविक्रम नेम्वाङले अर्को हप्ता नै बैठक बस्न सम्भव नहुने बताए। 'वैठकका लागि एन्फा जाँदै थियौं। बीच बाटोमा पुगेपछि एन्फामा सूचना टाँस गरेर बैठक स्थगित गरिएको भन्ने खबर पायौं। त्यसपछि फर्कियौं। अन्तिम समयमा यसरी सूचना टाँस गरेर वैठक स्थगित गर्ने लोकतान्त्रिक चरित्रको काम होइन,' नेम्वाङले भने, 'मैले महासचिवज्यूलाई आजलाई स्थगित गरे पनि भोलि नै बैठक सुचारु हुनुपर्छ भनेको छु। उहाँले खबर गर्छु भन्नुभएको छ। तर धेरै साथीहरू जिल्ला फर्किइसकेका छन्। हिजो (बुधबार) को बैठक नयाँ सूचना नआएसम्मका लागि भनेर स्थगित गरेपछि अब नयाँ बैठक बस्नुपर्छ। त्यसका लागि विधानअनुसार १४ दिनको सूचना जारी गर्नुपर्छ।'

प्रकाशित: १३ श्रावण २०७४ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App