७ वैशाख २०८१ शुक्रबार
खेल

आइसिसी यु–१९ विश्वकप छनोट : ब्याटिङ र रणनीति प्रमुख समस्या

काठमाडौं- सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोटमा चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग दुई पटक पराजित भएपछि निराश भएर नेपाली युवा टोली घर फर्किएको छ। पछिल्ला केही वर्षयता प्रशासनिक तथा पारदर्शिताको कमजोरीका कारण अधोगतिमा लागेको नेपाली क्रिकेटको मैदानभित्र पनि असफलताको मात्रा बढ्दो छ। आयोजक सिंगापुर, मलेसिया, अफगानिस्तान र नेपाल रहेको छनोट प्रतियोगिताबाट शीर्ष टोली मात्र अर्को वर्ष न्युजिल्यान्डमा हुने विश्वकपका लागि छानिने प्रावधान थियो। त्यसैले दुई चरणको राउन्ड रोबिन पद्धतिमा गराइएको प्रतियोगितामा मलेसिया र सिंगापुरलाई दुवै चरणमा हराए पनि अफगानिस्तानसँग दुवै खेलमा पराजित भएपछि नेपालको सम्भावना समाप्त भएको थियो। विश्वकपलाई नछानिए पनि दोस्रो भएर नेपालले लाजसम्म जोगाएको छ। यस क्रममा नेपाली टोलीमा पक्कै पनि केही आशलाग्दा राम्रा पक्ष देखिए भने केही नराम्रा र केही अत्यन्तै नराम्रा पक्षको सामना गर्नुपर्‍यो। नागरिकका लागि राजन शाहले नेपाली युवा टोलीको सिंगापुर भ्रमणको समीक्षा गरेका छन्।

राम्रा

– सन्दीप लामिछानेले प्रतियोगिताका ६ खेलमा २४ विकेट लिए। तीन खेलमा उनले पाँच वा त्योभन्दा बढी विकेट लिएका थिए। मलेसियाविरुद्ध १३ रन खर्चेर ७ विकेट लिए। जुन आइसिसीको प्रतयोगितामा नेपाली स्पिनरले गरेको अहिलेसम्मकै कीर्तिमानी प्रदर्शन हो। उनले मलेसियाका १२, सिंगापुरका ९ तथा अफगानिस्तानका ३ ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएका थिए। उनी कमजोर मलेसिया र सिंगापुरविरुद्ध प्रभावकारी देखिए पनि टेस्ट मान्यतप्राप्त अफगानिस्तानविरुद्ध उनको बल घुम्न सकेन।

– बायाँहाते स्पिनर शाहब आलमका लागि राष्ट्रिय जर्सीमा यो पहिलो प्रतियोगिता थियो। डेब्यु प्रतियोगितामै उच्च प्रदर्शन गरेर उनले आफूलाई नेपाली क्रिकेटको उज्ज्वल भविष्यका रूपमा प्रमाणित गरे। एक खेलमा मौका नपाएका उनले पाँच खेलमा १२ विकेट लिए। प्रतियोगिताको सबभन्दा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानविरुद्ध उनले ७ विकेट लिए।

– पछिल्लो समय दीपेन्द्रसिंह ऐरीको फिटनेस चिन्ताको विषय थियो। पहिलो दुई खेलमा फिटनेसकै कारण उनले बलिङ गरेनन्। कमजोर फिट्नेसका बावजुद चार इनिङमा उनले ५ विकेट लिएर नेपालको सिम बलिङ सम्भावना उजागर गरे। ब्याटिङमा पनि उनी नेपालका मुख्य खेलाडी हुन्। ब्याटबाट अपेक्षित प्रदर्शन नभए पनि उनी नेपालका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी बने। प्रतियोगितामा कुल १ सय ३१ रन बनाएका उनले एउटा खेलमा अर्धशतक पनि प्रहार गरेका थिए। नेपाली खेलाडीले सिंगापुरमा अर्धशतक बनाएको त्यही एक थियो।

खराब

– तीव्र गतिको बलिङ कहिल्यै पनि नेपालको बलियो पक्ष थिएन। सिंगापुरमा पनि त्यो परम्पराले निरन्तरता पायो। नेपालको टोलीमा तीव्र गतिका दुई मात्र बलर थिए। किशोर महतोले ६ विकेट लिए, तर सहकर्मीबाट अपेक्षित साथ पाएनन्। रोहित पौडेललाई उनको पार्टनरका रूपमा लिइए पनि प्रतियोगिताभरि  १७ ओभर बलिङ गरेका उनले एउटै विकेट लिन सकेनन्।

– डिसेम्बरमा युथ एसिया कप खेलेको टोलीमा यसपालि केही परिवर्तन गरिएको थियो। दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाहेक एसिया कप खेलेका ब्याट्सम्यानले यसपालि पनि राम्रो प्रदर्शन गर्न सकेनन्। अविनाश कर्णको ठाउँमा प्रकाश केसीलाई विश्वास गरियो भने लगातारको असफलताका बावजुद सन्दीप सुनारलाई ब्याटमा मौका दिइरहियो। अविनाशले श्रीलंकामा दुई खेलमा ६९ रन बनाएका थिए।

– पहिलो रोजाइमा अलराउन्डरहरूको भूमिका महŒवपूर्ण हुने गर्छ। रोहित पौडेल र पवन सर्राफले राम्रो प्रदर्शन गर्न सकेनन्। १ सय १५ बलमा ४२ रन मात्र जोडेका पवनले स्ट्राइक रोटेट गर्ने क्रममा  निकै संघर्ष गर्नुपर्‍यो। बलिङमा भने उनको प्रदर्शन सन्तोषजनक थियो। रोहितले ब्याटमा राम्रो गर्ने क्रममा १ सय १३ बलमा ६७ रन बनाए। जसमध्ये तीन इनिङमा उनी अविजित थिए। तर बलिङमा संघर्षरत उनले एउटै विकेट लिन सकेनन्।

अत्यन्तै खराब

– टसपछि गरिने निर्णय नेपालका सबै उमेर समूह तथा राष्ट्रिय टोलीका लागि पनि विपक्षीका रूपमा रहने गरेको छ। सिंगापुरमा नेपालले पाँच पटक टस जित्दा चार पटक फिल्डिङ रोज्यो। एउटा खेलमा मात्र नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लियो। त्यसमा पनि घरेलु टोलीविरुद्ध ठूलो स्कोर बनाउन नेपाल सफल भएन। रन पछ्याउने क्रममा अन्तिम समयमा सिंगापुरले आफँै गल्ती नगरेको भए नेपाल हारको नजिक पुगिसकेको थियो। नेपालले टस जितेपछि सधैंजसो फिल्डिङ रोज्ने परम्पराले विपक्षी टोलीलाई अप्रत्यक्ष रूपमा राम्रो तयारीको मौका दिइरहेको हुन्छ।

– एभरेस्ट प्रिमियर लिगमा एउटा शतक प्रहार गर्दा आसिफ शेखले प्रचुर क्षमता र परिपक्वता प्रदर्शन गरेका थिए। तर त्यसपछि उनको प्रदर्शन राम्रो हुन सकेको छैन। श्रीलंका भ्रमण उनको बिर्सनलायक थियो। धनगढी प्रिमियर लिग र भारतको अभ्यास भ्रमणको औसत पनि स्मरणयोग्य छैन। त्यही कमजोर फर्मले सिंगापुरमा पनि निरन्तरता पायो। जुन मध्यपंक्ति धराशयी हुनुको कारण थियो।

–सन्दीप सुनारको फर्म पनि नेपालको लागि अत्यन्त खराब पक्ष रह्यो। दुवै ओपनर स्कोरबोर्डमा रन जोड्न असफल भइरहे।

– ब्याटिङ र रणनीति समग्रमा आइसिसीका सबैखाले प्रतियोगितामा नेपाललाई निराश पार्ने दुई मुख्य कारण हुन्। सिंगापुरमा पनि यही देखियो। अफगानिस्तानसँगका दुई इनिङमा नेपाल ९९ र ४९ रनमा अलआउट भयो। मलेसियासँग एक पटक ५ विकेटको क्षतिमा ९२ रन बनायो भने अर्कोमा ६१ रन बनाउँदा ५ विकेट गुमायो। सिंगापुरसँग दोस्रो खेलमा १ सय ६८ रन बनाउँदा सबै विकेट गुमाएको नेपालले पहिलो खेलमा जित हात पार्दा ७७ जोड्दै ६ विकेट गुमाएको थियो। नेपाली टोली गुणस्तरीय सिमर नभए पनि क्षमतावान् बलिङ लाइनअप भएको टोली हो। ब्याटिङमा यस्तै भन्न सक्ने अवस्था छैन। यसै गरी मैदानमा नेपालले अख्तियार गर्ने रणनीतिमा पनि प्रश्न गर्न सकिन्छ। प्रनित थापा मगर र अनिल शाहजस्ता अनुभवहीन खेलाडीलाई विपक्षी बलरले नराम्ररी असफल बनाइरहे। तर पनि उनीहरूको ब्याटिङक्रम फेरबदल गरिराखियो। ऐरीलाई बलिङको लागि ल्याउनुपर्ने अवस्थामा आउनु अर्को कमजोर निर्णय थियो। टसदेखि सुरु हुने यस्ता निरन्तरका रणनीतिक समस्याको समाधान नखोज्नु दुर्भाग्यपूर्ण रह्यो।

प्रकाशित: १२ श्रावण २०७४ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App