७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएलमा चार नेपाली खेलाडी

काठमाडौं- एसियन प्रिमियर लिग (एपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगतिाका लागि सोमबार काठमाडौंमा भएको (बोल बढाबढ) मा नेपाली ४ खेलाडीलाई क्लबले भाउ लगाएका छन्। कीर्तिपुरस्थित त्रिवि रंगशालामा असार ७ बाट हुने प्रतियोगितामा नेपालका भूपेन्द्र थापा सबैभन्दा बढी १ लाख ६० हजार रुपैयाँमा बिक्री हुँदा सिद्धान्तराज शाही १ लाख १२ हजार रुपैयाँमा बिक्री भएका छन्। अमरसिंह रउटेला र राजवीर सिंह समान ९६ हजारमा बिक्री भए। पूर्वखेलाडी परेश लोहनी भने आइकन खेलाडीका रूपमा रहेको अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख आरएस धन्डीवालले बताए।

चारै खेलाडी नेपाल स्टोर्म क्लबबाट खेल्नेछन्। नेपाल स्टोर्मको कप्तानी युनाइटेड अरब इमिरेट्स (युएई)का स्वप्निल पाटिलले गर्नेछन्। नेपाल स्टोर्मको स्वामित्व न्युजिल्यान्डको इन्कोर इफ्रास्ट्रक्चर कम्पनीका म्याट लिएमले लिएका छन्।

प्रतियोगिताअन्तर्गत अफगानिस्तान बुल्सको स्वामित्व भारतीय कम्पनी कुमार एन्ड सन्सका अमित कुमार, श्रीलंकन लायन्सको आर कन्सट्रक्सनका रवि कुमार, बंगलादेश टाइगर्सको भारतीय कम्पनी टी कम्युनिकेसनका नागपाल, इन्डियन स्टारको भी क्यामियल्सका देवन जागी र दुबई वरियर्सको स्वामित्व न्युजिल्यान्डको कम्पनी आर एन्ड आर इन्भेस्टरका मिस्टर मलिक रहेको धन्डीवालले बताए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को स्वीकृतिबारे स्पष्ट पार्दै धन्डीवालले भने, ‘हामीले पहिले पनि भनिसकेका छौं। आइसिसीसँग हामीले कुनै अनुमति लिएका छैनौं। यसमा हामी स्पष्ट छौं। पहिलो युएईको शारजहाँमा गर्दा पनि हामीले त्यहाँको राष्ट्रिय खेलकुद हेर्ने निकायसँग समन्वय गरेर गरेका थियौं। यहाँ पनि हामीले राष्ट्रिय खलकुद परिषद्सँगको समन्वयमा गरेका हौं।’

नेपाली खेलाडीको सहभागिताबारे उनले थपे, ‘हामीले ६ महिना पहिलेदेखि अनलाइन दर्ता खुला गरेका थियौं तर उनीहरूले आफ्नो नाम दर्ता नगर्दा हामी पनि आश्चर्यमा परेका छौं।’

नेपाल राष्ट्रिय टोलीका पूर्वखेलाडी परेश लोहनीले आइसिसीको स्वीकृतिबारे विवाद गर्नुभन्दा नेपालमा यो स्तरको क्रिकेट हुनु राम्रो पक्ष हो भन्दै यसलाई सकारात्मक रूपमा लिन आग्रह गरे।

श्रीलंकाका पूर्वओपनर तिलकरत्ने दिलसानले यसअघि टेस्ट राष्ट्रका खेलाडीहरूसँग यस्तो प्रतियोगितामा सँगै खेले पनि भारत, बंगलादेश, पाकिस्तान, युएई, अफगानिस्तानका खेलाडीहरूसँग खेल्न लागेको यो पहिलो भएको बताए।

अफगानिस्तान बुल्सका मेन्टर इमरान नाजिरले नेपालमा यसअघि यति ठूलो प्रतियोगिता नभएको भन्दै एपिएलले आगामी दिनमा नेपालको क्रिकेट विकासमा सहयोग पुग्ने बताए। उनले थपे, ‘यहाँ क्रिकेट धेरैले खेल्छन्। तर उनीहरूको प्रतिभा माथि उकास्न यस्तो प्रतियोगिताले सहयोग गर्छ।’

प्रकाशित: ३० जेष्ठ २०७४ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App