८ वैशाख २०८१ शनिबार
खेल

सिनियरकै लयमा संकटाका खेलाडी

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) मा कार्यवाहक अध्यक्षका रूपमा काम गरिरहेका बेला करेन्ट लागेर मृत्यु भएका ललितकृष्ण श्रेष्ठको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा सोमबार सिएमजी संकटा क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दै छन्।

ललित स्मृति यु–१८ फुटबलको दोस्रो संस्करणको फाइनलमा पुग्दा संकटाले टाइब्रेकरमा ललितपुरे क्लब फ्रेन्ड्सलाई ४–२ ले हराएको थियो।

अर्को खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई भने सहजै ४–० ले हराउँदै उपाधिनजिक पुगेको हो।

नेपाली फुटबलमा पुरानो इतिहास बोकेको संकटाले पछिल्ला वर्षमा सिनियर फुटबलमा राम्रो नतिजा हासिल गर्दै आएको छ। गत सिजन घरेलु फुटबलमा भएका नकआउट प्रतियोगितामा संकटाको सिनियर टोलीले १० भन्दा बढी प्रतियोगिताको फाइनल खेलेको थियो।

सिनियर टोलीले प्राप्त गरेको उपलब्धिबाट हौसिएको संकटाको जुनियर टोली पनि महŒवपूर्ण प्रतियोगिताको उपाधि नजिक छ। संकटाले सुगन तण्डुकारको प्रशिक्षणमा प्रतियोगिता खेलिरहेको छ।

सेमिफाइनलमा फ्रेन्ड्सविरुद्ध संकटाले सुरुआतमा अग्रता लिएको थियो। रञ्जित गुरुङले संकटालाई अग्रता दिलाएका थिए। तर फ्रेन्ड्सका सुमित मगरले गोल फर्काउँदै खेल बराबरी गरे। निर्धारित समयमा फ्रेन्ड्सले संकटालाई बराबरीमा रोक्न सफल भएको थियो। तर टाइब्रकेरमा भने संकटा भाग्यमानी साबित भयो। संकटाका चार खेलाडीले गोल गर्दा फ्रेन्ड्सको दुई खेलाडीले गोल गर्न सकेनन्। संकटालाई फाइनलमा पुर्‍याउँदा नवीन गुरुङ, दीपेश आलेमगर, देवराज तामाङ र रञ्जित गुरुङले गोल गरेका थिए।

यसै गरी ललित स्मृति प्रतियोगिता खेलिरहेको आर्मीमा एकेडेमीको खेलाडीको बाहुल्यता छ। क्लबका पुर्व खेलाडी चक्र तामाङको प्रशिक्षणमा प्रतियोगिता खेलिरहेको आर्मी समूह 'बी' बाट सेमिफाइनलमा प्रवेश गरेको थियो। र

सेमिफाइनलमा पनि आर्मीलाई सफलता हासिल गर्न कठिन भएन। दिनेश योञ्जनले ह्याटि्रक गरेपछि आर्मीले पुलिसलाई सहजै हराउन सफल भएको थियो। तर फाइनलमा आर्मीले पहिलो रोजाइका रोमन लिम्बुलाई गुमाएको छ। पुलिसविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए।

प्रकाशित: २९ जेष्ठ २०७४ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App