६ वैशाख २०८१ बिहीबार
खेल

दुई पुलिसबीच सेमिफाइनल भिडन्त

काठमाडौं- साबिक विजेता एपिएफ र उपविजेता नेपाल पुलिस क्लब केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। अर्को सेमिफाइनलमा न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चलसँग खेल्नेछ।

गत वर्ष प्रतियोगिताको दोस्रोे संस्करणमा एपिएफले पुलिसलाई हराउँदै उपाधि जितेको थियो। बुधबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपिएफले दोहोरो जित हासिल गर्दै समूह 'ए' को विजेता बनेको हो। 

एपिएफले पश्चिमाञ्चललाई २५–१९, २५– १३, २५–१३ ले पराजित गर्‍यो। अर्को खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–१२, २५–१५ ले हरायो।

मंगलबार आर्मीलाई हराएको पश्चिमाञ्चल भने समूह 'बी' को उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय महिला भलिबलमा एपिएफ सफल टोली हो। यसअघिका दुई संस्करण एपिएफले जितेको छ। पहिलो संस्करणमा एपिएफले डायमन्डलाई फाइनलमा पराजित गरेको थियो। दोस्रोमा पुलिसलाई हराएको थियो। एपिएफ तेस्रो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ।

एपिएफ भलिबल टोलीले ८ महिनादेखि राष्ट्रिय टोलीका पूर्वकप्तान प्रकाश थपलियाको प्रशिक्षणमा प्रतियोगिता खेलिरहेको थियो। तर थपलिया अहिले टोलीको प्रशिक्षक छैनन्। एपिएफसँग नयाँ सम्झौता नभएका कारण अहिले आफूले टोली नहेरेको थपलियाले बताए। एपिएफका व्यवस्थापक विजय केसीले प्रतियोगितामा ह्याटि्रक गर्ने लक्ष्य रहेको बताए। उनले भने, 'टोलीमा केही परिवर्तन छैन। हामी पुरानै लयमा खेलेर उपाधि जित्ने कोसिस गछर्ौं,' केसीले भने, 'यसअघि दुई पटक लगातार जितेकाले हामी आफ्नो प्रभुत्व राख्न उपाधि जित्ने कोसिस गर्छाैं। एपिएफ महिला भलिबलमा नम्बर एक टोली हो। आफनो प्रभावलाई जारी राख्न मुख्य प्रतियोगिता हामीले जित्नुपर्छ।'

राष्ट्रिय टोलीका अनुभवी खेलाडी टोलीमा भएका कारण पनि एपिएफ घरेलु प्रतियोगिताको प्राय सबैमा मुख्य दाबेदार बन्दै आएको छ।

यसै गरी बुधबार भएका अन्य खेलमा नेपाल पुलिसले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा २५–१, २५–१२, २५–२० ले हरायो।

न्यु डायमन्डले जावलाखेललाई २५–७,२५–१०, २५–६ ले पराजित गर्दै समूह 'बी' को विजेता बनेको हो। प्रतियोगितामा एपिएफलाई उपाधि दौडमा चुनौती दिने टोलीको रूपमा डायमन्डलाई लिइएको छ।  डायमन्ड पनि पहिलो पटक शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल जित्ने प्रयासमा छ। डायमन्डका प्रशिक्षक कुमार राईले प्रतियोगिता क्लबको प्रतिष्ठासँग जोडिएको बताए। उनले भने, 'हामी गत वर्ष सेमिफाइनलमै हारेका थियौं। त्यसैले पनि यो प्रतियोगितामा हामीले राम्रो नतिजा निकाल्नुपर्छ। टोलीले आफनो लयमा खेले उपाधि जित्न सक्छौं।'

लगातार दुई खेलमा पराजित भएपछि आर्मी र जावलाखेल भने समूहचरणबाट बाहिरिएका छन्। आर्मी महिला भलिबलमा कान्छो विभागीय टोली हो। युवा खेलाडीको साथ पाएको आर्मीले राष्ट्रिय प्रतियोगितामा सुधारोन्मुख नतिजा निकाल्ने प्रयास गरिरहेको छ। तर यस पटक आर्मीले प्रतियोगिताको समूह चरण पार गर्न सकेन।

प्रकाशित: २५ जेष्ठ २०७४ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App