१६ चैत्र २०८० शुक्रबार
खेल

गल्ती गर्ने छुट छैन : स्मिथ

लन्डन- अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले च्याम्पियन्स ट्रफीअन्तर्गत सोमबार बंगलादेशविरुद्ध हुने समूहचरणको दोस्रो खेलमा टोलीसामु गल्ती गर्ने कुनै छुट नभएको बताएका छन्।

अस्ट्रेलियाले शुक्रबार न्युजिल्यान्डलाई पराजित गर्दै च्याम्पियन्स ट्रफीमा सुखद सुरुआत गर्न चाहेको थियो। तर वर्षाका कारण खेल रद्द भएपछि दुवै टोली अंक बाँड्न बाध्य भएका थिए। यसले समूह ‘ए’ को अर्को प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई फाइदा पुगेको छ। इङ्ल्यान्डले समूहको पहिलो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको थियो।

स्मिथले प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्न समूहचरणका बाँकी दुई खेल जित्नुको विकल्प नभएको बताएका छन्।

‘खेल वर्षाका कारण रद्द भयो। पक्कै पनि दुवै टोलीका लागि यो सुखद नतिजा होइन,’ स्मिथले भने, ‘अब हामीले अघिल्लो चरणमा स्थान सुरक्षित गर्न बाँकी दुवै खेल जित्नुको विकल्प छैन। जसका लागि हामीले प्रत्येक खेललाई फाइनलका रूपमा लिनुपर्छ।’

बंगलादेशविरुद्ध सहज जित हात पार्दै खाता खोल्न चाहे पनि अस्ट्रेलियाले विपक्षीलाई कमजोर भने आँक्ने छैन। सन् २००५ मा कार्डिफमा सम्पन्न एकदिवसीय खेलमा बंगलादेशले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो।

अस्ट्रेलियाले जितका लागि आफ्नो बलिङमा उल्लेख्य सुधार गर्नुपर्ने देखिन्छ।

न्युजिल्यान्डविरुद्ध जोस हाज्लेउडले ६ विकेट लिएका थिए तर मिचेल स्टार्क र पाट कुमिन्सले भने प्रभावशाली प्रदर्शन गर्न सकेनन्। कुमिन्सले एक विकेट लिँदा स्कार्ट विकेटविहीन बनेका थिए।

बलिङका कारण निराश देखिए पनि स्मिथले बंगलादेशविरुद्धको खेलमा कुनै खेलाडी परिवर्तन हुने वा नहुनेबारे केही खुलाउन चाहेनन्।

‘यो लामो समययता सम्भवतः हामीले गरेको सबैभन्दा खराब बलिङ प्रदर्शन हो,’ स्मिथले भने, ‘पक्कै पनि हामीले अर्को खेल जित्नुपर्छ।’

यता इङ्ल्यान्डविरुद्ध ३ सय ५ रनको लक्ष्य जोगाउन नसकेको बंगलादेश अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न दबाबमा हुनेछ।

इङ्ल्यान्डविरुद्ध लक्ष्य जोगाउन नसके पनि बंगलादेशका कप्तान मासरफ मोर्ताजाले अस्ट्रेलियाविरुद्ध कसिलो बलिङ गर्नुपर्ने बताए।

‘मेरो विचारमा इङ्ल्यान्डविरुद्धको खेलको बीचमा हामीले कुनै विकेट लिन सकेनांै,’ उनले भने, ‘आठ ब्याट्सम्यान भएका कारण हामी राम्रो स्थानमा हुनेछांै र सहजै ३ सय ३० वा ४० को योगफल खडा गर्छाैं तर हामी बलिङमा धेरै केन्द्रित हुनुपर्छ।’

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App