काठमाडौं- राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पुनरागमन गरेको खेलमा ६८ रन बनाएपछि आइतबार नेपाल ११ ले धनगढी प्रिमियर लिग (डिपिएल) को उद्घाटन खेलमा धनगढी ११ लाई ३१ रनले पराजित गरेको छ।
च्यारिटी खेलका रूपमा खेलिएको उद्घाटनमा खेलमा पारसले ४४ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए। उनले वसन्त रेग्मीसँग तेस्रो विकेटका लागि ८२ तथा शरद भेषावकरसँग चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङ गरेको नेपाल ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
पारसले पछिल्लो पटक सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिता खेलेका थिए। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको तयारीका क्रममा पारसको फागुन पहिलो साता पेटको शल्यक्रिया गरिएको थियो। त्यसपछि आराममा रहेका पारसले केन्याविरुद्ध तथा एसिसी इमर्जिङ कपका लागि बंगलादेश भ्रमणमा खेलेनन्।
पहिलो ओभरमै ओपनरद्वय सागर पुन र दिलीप नाथ शून्य रनमा पवेलियन फकर्िंदा नेपाल ११ ले १ रन मात्र जोडेको थियो। दुवैलाई विक्रम ठगुन्नाले बोल्ड गरेका थिए। त्यसपछि वसन्त र पारसले नेपाल ११ को इनिङ सम्हालेका थिए। ११औं ओभरको तेस्रो बलमा वसन्त आउट हुँदा नेपाल ११ ८३–३ को स्थितिमा थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वसन्तले ३८ बलमा ४ चौका र ३ छक्कासहित ४३ रनको योगदान गरे। वसन्त पदम केसीको बलमा विकेटकिपर राजु रिजालबाट स्टम्पिङ भएका थिए।
त्यसपछि पारसलाई शरदले साथ दिए। १८औं ओभरको चौथो बलमा शरद आउट हुँदा नेपाल ११ ले १ सय ४६ रन जोडिसकेको थियो। शरदले २१ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए।
धनगढी ११ का विक्रमले ४ विकेट लिए भने सागर भण्डारी र पदमले १/१ विकेट लिए।
नेपाल ११ का शक्ति गौचन र सोमपाल कामीले ५ विकेट लिएपछि १ सय ६२ रनको लक्ष्य पछ्याएको धनगढी ११ ले ८ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो।
धनगढीका लागि सुनील धमलाले सबैभन्दा धेरै ३४ रन बनाए। सुनीलले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २६, रोशन अधिकारीले १७ र विजय रानाले १३ रन जोड्दा लोकेश बम १० रनमा अविजित रहे।
नेपाल ११ का शक्तिले ३ तथा सोमपालले २ विकेट लिए। त्यस्तै मेहबुब आलम, सन्दीप लामिछाने र करण केसीको नाममा १/१ विकेट रह्यो।
प्रतियोगिताका अन्य खेल सोमबारबाट सुरु हुनेछ। पहिलो दिनको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको सिवाइसी अत्तरियाले वसन्त रेग्मीको काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा शक्ति गौचनको रूपन्देही च्यालेन्जर्सले विनोद भण्डारीको कञ्चनपुर आइकोनिकसँग प्रतिर्स्धा गर्नेछ।
प्रकाशित: २८ चैत्र २०७३ ०४:१६ सोमबार