५ वैशाख २०८१ बुधबार
खेल

शृंखला विजयतर्फ भारत

भारत धर्मशाला- अलराउन्डर रविन्द्र जडेजाले चौथो टेस्टको तेस्रो दिन बलिङ र ब्याटि्ङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारत अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलामा जिततर्फ लम्किएको छ। सबैभन्दा धेरै ६३ रन बनाउँदै पहिलो इनिङमा भारतलाई ६३ रनको अग्रता दिलाएका बायाँ हाते स्पिनर जडेजाले दोस्रो इनिङमा ३ विकेट लिन सफल भए। त्यसअघि कप्तान स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय रन बनाएको थियो। ३ शतक पूरा गरेका स्मिथले चार टेस्ट शृंखलामा ४ सय ९९ रन बनाए। भारतीयमा भूमिमा धेरै शतक बनाउने उनी छैटौं विदेशी ब्याट्सम्यान हुन्।

भारतका तीब्र गतिका बलरले अस्ट्रेलियाको अग्रपंक्तिका ब्याट्सम्यानलाई चाँडै आउट गरे। उमेश यादवले म्याट रेनशो र डेविड वार्नरलाई ऋद्धिमन शाहको हातबाट क्याच गराए। भुवनेश्वर कुमारले कप्तान स्थिमलाई १७ रनको अवस्थमा बोल्ड गरेपछि अस्ट्रेलिया १० ओभर खेल्दा ३१–३ को अवस्थामा थियो।

रेनशो ८ र वार्नर ६ रन बनाएर पवेलियन फर्किए। उमेशको बलमा करुण नायरले वार्नरको क्याच छाडेका थिए। लगत्तै उमेशकै बलमा वार्नर ऋद्धिमनबाट क्याच भए। नायरले पहिलो इनिङमा पनि वार्नरको क्याच छोडका थिए। वार्नरले २४.१२ को औसतमा चार टेस्ट शृंखलाको अन्त्य गरेका छन्। यो उनको करियरकै तेस्रो कम औसत हो। यादवले रेनशोलाई पनि ऋद्धिमन शाहबाट क्याच गराएका थिए।

अस्ट्रेलियाको मध्यक्रमका ब्याट्सम्यानलाई भारतीय स्पिनरहरूले खुलेर खेल्न दिएनन्। जडेजालाई बलिङमा साथ दिएका रविचन्द्रन आश्विनले पनि ३ विकेट लिएपछि दोस्रो इनिङमा अस्ट्रेलिया १ सय ३७ रनमा अलआउट भएको थियो।

पिटर ह्यान्सकोम्ब र ग्लेन म्याक्सवेलले चौथो विकेटका लागि ५६ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। तर, आश्विनले ह्यान्सकोम्बलाई आउट गरेपछि भ्रमणकारी टोलीले निरन्तर विकेट गुमायो। शन मार्सलाई जडेजाले पूजाराको हातबाट क्याच गर्दा म्याक्सवेल आश्विनको बलमा एलबिडब्लु आउट भए। म्याक्सवेलले सबैभन्दा धेरै ४५ रन बनाए। उनले ६० बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। म्याथ्यु वेड २५ रनमा अविजित रहँदा पेट कुमिन्सले १२ रन बनाए। स्टिभ ओ’किफ, नाथन लियोन र जोस हाज्लेउडले रन जोड्न सकेनन्।

तेस्रो दिनको समाप्तिमा भारत १९–० को स्थितिमा छ। दुई दिन बाँकी रहेको अवस्थामा भारतलाई जितका लागि ८७ रन बनाउनुपर्नेछ। भारतले चौथो टेस्ट जिते शृंखलामा २–१  को विजय हासिल गर्नेछ।

२४८–६ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको भारतले पहिलो इनिङमा ३ सय ३२ रन बनाएको थियो। १० रनबाट दिन सुरु गरेका ऋद्धिमनले ३१ रन बनाए भने ६ रनको स्थितिमा रहेका विजय ११ रनमा आउट भए।

गत सातादेखि चलेको शीर्ष दुई टेस्ट राष्ट्रबीचको जुहारीले आइतबार पनि निरन्तरता पायो। मुरली विजयले जोस हाउज्लेउडको क्याच समातेको अपिल गरे। तर रिप्लेमा बलले मैदानलाई छोइसकेको थियो।

विजयको उक्त अपिलबाट डे्रेसिङ रुममा रहेका स्मिथको आक्रमणलाई टेलिभजन क्यामराले कैद गरेका थिए। अस्ट्रेलियाका ब्याटिङ प्रशिक्षक ग्रामी हाइक पनि आक्रोशित भएका थिए।

प्रकाशित: १५ चैत्र २०७३ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App