१६ चैत्र २०८० शुक्रबार
खेल

अर्जेन्टिनाको विश्वकप आशा जीवित

मोन्टेभिडियो- कप्तान लियोनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले बिहीबार राती (नेपाली समयअनुसार शुक्रबार विहान) चिर प्रतिद्वन्द्वी चिलीमाथि १–० जित हासिल गर्दै अर्को बर्ष रुसमा हुने विश्वकप सम्भावना जीवित राखेको छ।

अर्को वर्ष विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा मेसीले १५औं मिनेटमा गरेको गोल दुई पटकको विश्व विजेता अर्जेन्टिनाका लागि महत्वपूर्ण तीन अंक जोड्न पर्याप्त बन्यो। चिलीका भेट्रान रक्षक होसे फुन्जालिडाले एन्जेल डी मारियालाई फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो।

जितसँगै १० टोली सहभागी दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १३ खेलबाट २२ अंक जोडेको अर्जेन्टिना तेस्रो स्थानमा उक्लिएको छ।

दोस्रो हाफमा चिलीका फरवार्डहरुले गोलका लागि गरेका थुप्रै प्रयास सफल हुन नसक्दा भ्रमणकारी टोली खेलमा फर्कन सकेन।

‘बलियो टोलीलाई हराउनु महत्वपूर्ण हो। हामीले उत्कृष्ट फुटबल खेल्यौं। यो आजको राम्रो पक्ष रह्यो,’ प्रशन्न देखिएका अर्जेन्टिनाका प्रशिक्षक एडगार्डो बौजाले भने।

हारपछि दक्षिण अमेरिकी च्याम्पियन चिलीको रुस यात्रा भने संकटमा परेको छ। १३ खेलमा २० अंक जोडेको चिली छैटौं स्थानमा झरेपछि शीर्ष चारमा रहेर स्वतः विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको हो।

बिहीबारै उरुग्वेमाथि ४–१ को सानदार जित हात पार्दै ब्राजिल अर्को वर्ष रुसमा हुने विश्वकप नजिक पुगेको छ। लगातार सातौं जित हात पार्ने क्रममा ब्राजिलका मिडफिल्डर पाउलिन्होले ह्याटि्रक गरेका थिए भने नेइमारले अर्को गोल थपे।

पेरिस सेन्ट जर्मनका इडिन्सन काभानीको आठौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै उरुग्वेलाई अग्रता दिएका थिए। ब्राजिलका गोलकिपर एलिसनले काभानीलाई लडाएपछि उरुग्वेले पेनाल्टी अवसर पाएको हो।

त्यसको दश मिनेट नवित्दै १८औं मिनेटमा २५ यार्डबाट उल्कृष्ट गोल गर्दै पाउलिन्होले ब्राजिललाई खेलमा फर्काए। फिलिप कोउटिन्होको पासमा पाउलिन्होले ५१औं मिनेटमा अग्रता दोब्बर बनाए। ७५औं मिनेटमा नेइमारले ब्राजिलको अग्रता ३–१ ले फराकिलो पारे। अन्तिम मिनेटमा पाउलिन्होले ह्याटि्रक पूरा गरेपछि घरेलु दर्शक निराश बनेका थिए।

१३औं चरणका खेल सकिदाँ पाँच पटकको विश्व विजेता ब्राजिल ३० अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको उरुग्वे भन्दा ७ अंक बढि हो। दक्षिण अमेरिकाबाट शीर्ष चार टोली स्वतः विश्वकपमा छनोट हुनेछन्। पाँच खेल बाँकी रहेको स्थितीमा अकल्पनीय नजिता आए मात्र ब्राजिलको यात्रा रोकिने सम्भावना हुन्छ।

‘यहाँ आएर फराकिलो जित निकाल्नु सुखद पक्ष हो,’ ब्राजिलका प्रशिक्षक टिटेले भने, ‘यो रंगशालामा उरुग्वेलाई हराउन जुनसुकै टोलीका लागि कठिन हुन्छ।’

उरुग्वेका कप्तान डिएगो गोडिनले नतिजाबाट टोलीको प्रदर्शन नझल्कने बताए।

‘हामी बलियो टोली हौं र यो खेलका लागि पनि राम्रो तयारी गरेका थियौं,’ एट्लेटिको मड्रिडका रक्षक गोडिनले भने, ‘यो नजिता निराशाजनक छ। तर यसले खेलको प्रदर्शन झल्काउदैन। अब हामी लयमा फर्किनु आवश्यक छ।’

बिहीबारै चौथो स्थानको कोलम्बियाले नवौं स्थानको बोलिभियालाई १–० हराउँदा सातौं स्थानको पाराग्वेले पाँचौं स्थानको इक्वेडरलाई २–१ ले पराजित गर्‍यो। पुछारको भेनेजुएलाले र पेरुसँग २–२ को बराबरी खेल्यो।

प्रकाशित: १२ चैत्र २०७३ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App