सोमबारबाट आयोजना हुने काभा महिला भबिल च्यालेन्ज कपमा आयोजक नेपालले किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको आरम्भ गर्दै छ। अघिल्ला दुई संस्करणको च्याम्पियन नेपाललाई घरेलु कोर्टमा आयोजना हुने प्रतियोगितामा ह्याट्रिक गर्ने अवसर पनि हुनेछ। त्यसका लागि सोमबारको खेल निकै महत्वपूर्ण हुनेछ।
बेल्जियमका प्रशिक्षक जान डी ब्रान्टको नेतृत्वमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। तीन महिनाको लामो प्रशिक्षणपछि नेपाली टोली घरेलु कोर्टमा आयोजना हुने प्रतियोगिताका लागि उत्साहित पनि छ। नेपाली टोलीकी कप्तान अरूणा शाहीले खेलअघिको पत्रकार सम्मेलनमा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताइन्। नयाँ प्रशिक्षकको आगामनसँगै टोलीको स्वरूप नयाँ बनेको र मुख्य स्पाइकर प्रतिभा मालीको अनुपस्थिति केही खल्लो हुने कप्तान अरूणाले बताइन्। प्रतियोगितामा सहभागी भइसकेपछि टोलीको मुख्य लक्ष्य उपाधि भएको र त्यसका लागि खेल्ने अरूणाले थपिन्।
‘अघिल्लो संस्करणमा उपाधि उचाल्दा टोलीको मनोबल उच्च छ। अहिले टोली नयाँ स्वरूपमा छ। टोलीमा राम्रो तालमेल भएको छ,’कप्तान अरूणाले भनिन्, ‘प्रतियोगितामा सहभागी भइसकेपछि टोलीको मुख्य लक्ष्य उपाधि नै हो। हामीले त्यसैका लागि खेल्ने हो।’
नेपाल दुई पटकको सेन्ट्रल जोन च्याम्पियन हो भने भारत दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता हो। तीन वर्षअघि सोही कभर्ड हलको फाइनलमा नेपाललाई ३–२ को सेटमा हराउँदै भारतले स्वर्ण पदक जितेको थियो। त्यसयता नेपाल र भारतबीच यसै प्रतियोगितामा भेट हुन लागेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। सहभागीमध्ये टोलीमा नेपालले काजाकिस्तानबाहेक अन्य टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। त्यसकारण नेपाललाई काजाकिस्तान नौलो टोली हुनेछ। अन्तर्राष्ट्रिय अभ्यास नभए पनि पुरुष टोलीसँगको अभ्यासले टोली मजबुत बनेको कप्तान अरूणाले बताइन्।
‘पहिलो विषय भनेको हाम्रो लागि प्रतियोगिता हुनु नै ठूलो विषय हो। मैत्रीपूर्ण खेल खेल्न नपाए पनि पुरुष टोलीसँग खेलेर अनुभव लिएका छौं। पुरुष टोलीसँग खेल्दा स्पाइक, सर्भिस र अन्य विषयमा हामीले वर्कआउट गरेका छौं,’ कप्तान अरूणाले भनिन्, ‘यस प्रतियोगितामा राम्रो खेल देखाउनेमा विश्वस्त छौं, किनभने अनुभवी प्रशिक्षकको प्रशिक्षणमा हामीले तयारी गरेका छौं। साथै नयाँ युवा खेलाडी पनि टोलीमा अटाएका छन्। नयाँ खेलाडीको सबल पक्षलाई भरपूर सदुपयोग गर्दै प्रतिस्पर्धा गर्ने रणनीति लिएका छौं।’
यस्तै अन्य देशका कप्तानले पनि नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा कम्तीमा पनि मेडलका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्। सबै देशले तयारी राम्रो भएको र नेपालमा आयोजना हुने कोर्टमा खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए। १४ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्बेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ।
प्रतियोगिताका लागि ब्रान्टले १४ सदस्यीय टोली घोषणा गरिसकेका छन्। यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन्। दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पुनरागमन गरेका छन्। नयामध्येकी रिमा कुवर बायाँ हाते स्पाइकर हुन्। यस्तै सेटरमा प्रगति नाथले स्थान पाउँदा एपिएफकी पूजा चन्द, एपिएफकै कविता भट्ट, आर्मीकी संगम महत, पुलिसकी लिबेरो शान्तिकला तामाङ टोलीमा अटाएका हुन्। अनुभवी स्पाइकर प्रतिभा मालीले चोटका कारण खेल गुमाउन पुगेकी छिन्।
समूह ’ए’ मा घरेलु टोली नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्बेकिस्तान रहेका छन्। नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ। राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: ८ जेष्ठ २०८० ०१:५३ सोमबार