८ वैशाख २०८१ शनिबार
खेल

नेपाली सेनाका श्रेष्ठले जिते १ लाख रुपैयाँसहित लुम्बिनी पिस म्याराथनको उपाधि

विजेता बनेका नेपाली सेनाका होमलाल श्रेष्ठ। तस्विरः स्मृति

लुम्बिनी- बन्द छिचोल्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो 'लुम्बिनी पिस म्याराथन' सम्पन्न भएको छ। आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा समापन गरिएको म्याराथन मा नेपाली सेनाका होमलाल श्रेष्ठले दुई घण्टा २२ मिनेटमा ४२.१९५ किलोमिटर पूरा गरेर विजेता घोषित भए।

'भगवान बुद्धको पाइला पछ्याउँदै' भन्ने नारा दिइएको लुम्बिनी पिस म्याराथनमा नेपालबाहेक भारत, स्पेन, जमैका, इटाली र चीन लगायत देशका ५८ प्रतियोगीहरू सहभागी थिए।

उनले पहिलो हुँदै एक लाख जितेका छन्। 'व्यत्तिगत स्कोर सुधार्न एक वर्षदेखि मेहेनत गरिरहेको थिएँ म्याराथन सुरू हुँदा केही आतिएको जस्तो भएपनि दौडिन थालेपछि स्कोर सुधार्न सम्भव भएँ,' उनले भने। सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले दोस्रो र खगेन्द्र भाट तेस्रो हुँदै ७५ र ५० हजार रुपैयाँ जित्न सफल भए।

४२.१९५ किलोमिटरको म्याराथन प्राचीन तिलौराकोटबाट सुरु भई गोटिहवा, कुदान, दोहनी, बरहिया, पकडी, लबनी हुँदै मायादेवी मन्दिरमा आएर समापन भएको थियो। सिदार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक राज्य फर्केको अवसर पारेर म्यारथन आयोजना गरिएको हो। २१ किलोमिटर म्याराथनमा तीर्थ पुन पहिलो, रामझी बस्नेत दोस्रो र तीर्थराज कट्टवाल तेस्रो हुँदै क्रमश ५०, ३५ र २५ हजार रूपैँया प्राप्त गरे।  म्याराथनअन्तर्गत ५ किलोमिटरको प्रतियोगितामा भने सुनिल कुर्मी, तेबबहादुर चौधरी र राकेश लोध पहिलो, दोस्रो र तेस्रो हुँदै १०, ७ र ५ हजार रूपैँया प्राप्त गरे।

'भगवान बुद्धको पाइला पछ्याउँदै' भन्ने नारा दिइएको लुम्बिनी पिस म्याराथनमा नेपालबाहेक भारत, स्पेन, जमैका, इटाली र चीन लगायत देशका ५८ प्रतियोगीहरू सहभागी थिए। लुम्बिनी पिस म्याराथनलाई बर्सेनि निरन्तरता दिइने लक्ष्यसहित लुम्बिनीको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरेको बुद्धिष्ट सर्किट्स डटकमका विक्रम पाण्डेले जानकारी दिए।

'पिस म्याराथनकै माध्यमबाट लुम्बिनीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउन चाहन्छौं। त्यसका लागि पिस म्याराथनको निरन्तरतामा हाम्रो जोड हुनेछ', उनले भने। यसअघि लुम्बिनी भ्रमण वर्ष २०१२ को समापनको अवसर पारेर लुम्बिनीमा मिनी म्याराथनको आयोजना गरिएको थियो।

'संसारको उच्च शिखर सगरमाथादेखि मुस्ताङ म्याडनेसपछि धार्मिक प्रवद्भनको लागि पहिलोपल्ट लुम्बिनी पिस म्याराथनको आयोजना गरिएको हो',एडभेन्चर स्पोर्टस टुरिजम सोसाएटीका शेखर पाण्डेले बताए।

धावक वैकुण्ठ मानन्धरले म्याराथनमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताए। लुम्बिनीमा पहिलोपल्ट आयोजना भएको पिस म्याराथनलाई नेपाल पर्यटन बोर्ड, लुम्बिनी बिकास कोष, एडभेन्चर स्पोर्टस टुरिजम सोसाएटी र बुद्धिष्ट सर्किट्स डटकमले संयुत्त रूपमा आयोजना गरेका हुन्।

प्रकाशित: २९ फाल्गुन २०७३ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App