८ वैशाख २०८१ शनिबार
खेल

उदयपुर गोल्डकपको टाईसिट सार्वजनिक

गोल्डकप प्रतियोगितास्थल थरुहट उदयपुर रंगशालामा पेन्टिङ गर्दै कामदार । तस्विरः महेश्वर चामलिङ

उदयपुर– आउँदो २७ गतेदेखि सुरु हुन गईरहेको उदयपुर गोल्डकपको चौथो संस्करणको खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । खेलकुदस्थल थरुहट उदयपुर रंगशालामै शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी मूल आयोजक समितिले टाईसिट सार्वजनिक गरेको हो।

‘स्वास्थ्य, अनुशासन, राष्ट्रिय एकता र सद्भावका लागि उदयपुरको शान, उदयपुरको पहिचान रमपम उदयपुर गोल्डकप’ भन्ने नाराका साथ आयोजना हुन लागेको ‘चौथो रमपम उदयपुर गोल्डकप ०७३’ प्रतियोगितामा ए डिभिजनसहित ८ वटा खेल समूहले भाग लिने जानकारी दिइयो । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौं, सिएमजी संकटा क्लव काठमाडौं, हार्भेष्टमुन हिमालयन शेर्पा क्लव काठमाडाँैंको सहभागिता रहने छ । त्यस्तै रामपम झापा फुटबल क्लव, धरान फुटबल क्लव सुनसरी, मोरङ ११ र रुपन्देही ११ का साथ आयोजक उदयपुर ११ ले पनि प्रतिस्पर्धा गर्नेछन् ।

सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा सिएमसी संकटा क्लव काठमाडौं र धरान फुटबल क्लव सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन २८ गते हार्भेस्टमुन हिमालयन शेर्पा क्लवसँग आयोजक उदयपुर ११ ले भिडन्त गर्नेछ । त्यस्तै एपिएफ काठमाडौंसँग मोरङ ११ ले २९ गते प्रतिस्पर्धा गर्नेछ भने फागुन १ गतेका दिन रमपम झापा एफसी र रुपन्देही ११ रुपन्देहीबीचको भिडन्त हुने छ । २ र ३ गते सेमिफाईल खेलाइने प्रतियोगिताको ४ गते विश्राम गरी ५ गते फाईनल खेल हुने खेल तालिका सार्वजनिक गरिएको छ ।   

विजेतालाई २ लाख नगद र लोकबहादुर स्मृति गोल्डकप ट्रफि प्रदान गरिने प्रतियोगिताका उपविजेतालाई नगद १ लाख र हंसराज दाहाल स्मृति सिल्भरकप ट्रफि प्रदान गरिने मूल आयोजक समिति अध्यक्ष किरण राईले बताए । उनका अनुसार प्रतियोगिताको मुख्य प्रायोजकको जिम्मा एसियन थाईफुड प्रालिले लिएको छ भने माओबादी सांसद भेषकुमारी राउतको निर्वाचन क्षेत्र विकास कोष, रौताहा कन्स्ट्रक्सन, हिमाली यातायात व्यवसायी संघ गाईघाट, उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले, गोर्खा ब्रुअरीले सह प्रायोजन गर्नेछन् ।

प्रतियोगितामा आशिर्वाद निर्माण सेवा, ज्ञानेन्द्र प्रधान, कर्माछिरिङ शेर्पा, पंकज नेम्बाङ, सुदास राई, राजेश कार्की, राजन भण्डारी, शालीमार सिमेन्ट र सांसद विजयकुमार गच्छेदारले २५ हजारका दरले सहयोग गरेका छन् । जिल्ला विकास समिति उदयपुर र त्रियुगा नगरपालिका गाईघाटको संयोजनमा हुने प्रतियोगिताको प्राविधिक सहयोग राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला खेलकुद विकास समिति उदयपुरले गर्ने सम्मेलनमा जानकारी दिइएको छ ।

फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रवेशका लागि टिकट दर २५ रुपैंया राखिएको छ भने फाईनलका दिन ५० रुपैंया तय भएको आयोजक महासचिव आनन्ददेव चौधरीले बताए । चौधरीका अनुसार प्रतियोगिताको मकालु टेलिभिजन, अमूर्त एफएम र सिद्धिविनायक नेटवर्कले प्रत्यक्ष प्रशारण गर्नेछन् भने वल्र्डलिंकले निशूल्क इन्टरनेट सेवा प्रदान गर्ने छ ।
२१ लाख हाराहारी खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सकेसम्म नाफामा लाने उदेश्य रहेको योजना समितिले सुनाएको छ । विगतका ३ संस्करण भव्यरुपमा सफल बनाउन सक्रिय सहयोग गरेको भन्दै आयोजक समितिले यस प्रतियोगितालाई पनि सक्दो सहयोग गर्न अपिल गरेको छ ।

 

प्रकाशित: २२ माघ २०७३ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App