क्राइसचर्च- शाकिब अल हसनले अन्तिम सेसनमा ३ विकेट लिएपछि बंगलादेश र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट रोमाञ्चक बनेको छ। बंगलादेशले पहिलो इनिङमा २ सय ८९ रन बनाएको थियो। त्यसपछि ब्याटिङ थालेको घरेलु टोली २५२–४ को सहज स्थितिमा थियो। तर शाकिबले ३ विकेट लिएपछि दोस्रो दिनको समाप्तीमा न्युजिल्यान्ड २६०–७ को स्थितिमा छ। वर्षाले अवरोध गरेपछि दोस्रो दिनको खेल निर्धारित समयभन्दा ४० मिनेटअघि सकिएको थियो।
हेनरी निकोलस ५६ र टिम साउथी ४ रन बनाएर क्रिजमा छन्। ९६ बल खेलेका निकोलसले ६ चौका प्रहार गरे।
‘जतिसक्दो धेरै रन जोडेर सहज स्थितिमा पुग्यौं भने हामी राम्रो बलिङ गर्दै उनीहरूलाई दबाबमा राख्न सक्छौं,’ न्युजिल्यान्डका ओपनर टम लाथमले भने।
रोस टेलर र लाथमले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि न्युजिल्यान्ड पहिलो इनिङमा अग्रता लिन सफल भएको थियो। तर शाकिबले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरेका छन्।
१ सय ३ बलमा ७ चौका र २ छक्का प्रहार गरेका टेलर मेहदी हसनको बलमा तैजुल इस्लामको हातबाट क्याच भएका थिए। पहिलो टेस्टमा १ सय ७७ रन जोडेका लाथम तस्किन अहमदको बलमा विकेटकिपर नुरुल हसनको हातबाट क्याच भए। उनले १ सय ७७ बलमा ११ चौकासहित ६८ रन बनाए।
पूर्व खेलाडी मार्टिन क्रोको १७ टेस्ट शतकको कीर्तिमान बराबरी गर्न १ शतक पछि रहेका टेलर केन विलियम्सन सस्तोमा पवेलियन फर्केपछि ४७–२ को स्थितिमा ब्याटिङ गर्न आएका थिए।
१ सय ६० मिनेट ब्याटिङ गरेका टेलरले ७५ रनमा जीवनदान पाए पनि क्रोको कीर्तिमान बराबरी गर्न २३ रनले चुके।
कमरुल इस्लामले ३ बलको अन्तरमा न्युजिल्यान्डका ओपनर जित साभल (१६) र कप्तान विलियम्सन (२)लाई पवेलियनको बाटो देखाए। निकोलस र मिचेल सान्टनरले पाँऔं विकेटका लागि ७५ रनको साझेदारी गर्दै बंगलादेशका बलरलाई दबाबमा राखेका थिए।
२९ रन जोडेका सान्टनरलाई शाकिबले एलबिडब्लुको शिकार बनाएका थिए। शाकिबले बिजे वाट्लिङलाई १ र कोलिन डी ग्रान्डहोमलाई शून्य रनमा बोल्ड गरेका थिए ।
शाकिबले ३२ रन दिएर ३ विकेट लिए भने कमरुल इस्लामले ४८ रन दिएर २ विकेट लिए। ६४ रन खचर्ेेका तस्किनको नाममा १ विकेट रह्यो।
प्रकाशित: ९ माघ २०७३ ०३:३२ आइतबार