१६ चैत्र २०८० शुक्रबार
खेल

केन्याविरुद्ध खेलाडीका लागि छनोट

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजनमा केन्याविरुद्धको खेलका लागि मंगलबार ५२ खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको छ । ५२ खेलाडीलाई ४ समूहमा विभाजन गरेर बिहीबारदेखि राउन्ड रोबिन आधारमा छनोट खेल आयोजना गरिने राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बताए।

टिम ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’मा सबै पोजिसनका खेलाडी समावेश गरेर कीर्तिपुरमा छनोट खेलाउने तयारी भैरहेको प्रशिक्षक टमाटाले बताए।

छनोट खेलमा खेलाडीले गरेको प्रदर्शनका आधारमा २४ खेलाडी छानेर बन्द प्रशिक्षण सञ्चालन गरिनेछ । केन्याविरुद्ध खेलको एक साताअघि पहिलो रोजाइका १४ र वैकल्पिक ४ खेलाडी छनोट गर्ने योजना रहेको टमाटाले बताए । गत वर्षयताका सबैखाले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा पहिलो चरणमा खेलाडी छानिएको प्रशिक्षक टमाटाले बताए ।

पहिलो चरणमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, अनिलकुमार मण्डल, राजेश पुलामी, बिक्रम सोबले स्थान बनाए ।

सुवास खकुरेल, सुनिल धमला, सन्दीप लामिछाने, आरिफ शेख, राजु रिजाल, विनोद भण्डारी, अविनाश कर्ण, प्रदीप ऐरी, सुशान भारी र दिपेन्द्रसिंह ऐरी पहिलो चरणको छनोटमा परेका छन् । मेहबुब आलम, महेश क्षेत्री, नरेश बुढाएर, सिद्धान्त लोहनी, सन्दीप सुनार, ललितसिंह भण्डारी, जितेन्द्र मुखिया, दिलिपनाथ, अदिल खान र कमलसिंह ऐरी पनि पहिलो चरणका लागि छानिए ।

५२ सदस्यीय टोलीमा आशिफ शेख, दिपेश श्रेष्ठ, किशोर महतो, विक्रमकुमार भुषाल, सुशान्तसिंह थापा, मन्जित श्रेष्ठ, रसिद खान, सन्दीप ढुंगाना, प्रेम तामाङ, भुवन कार्की, हरिशंकर साह, पृथु बास्कोटा, सोनु तामाङ, रोहितकुमार पौडेल, रामनरेश गिरी, सुशील कँडेल, अमित श्रेष्ठ, पवन सर्राफ, अविनाश बोहरा, कुशल भुर्तेल, अमरसिंह राउटेला, स्वर्णकार उरउले पहिलो चरणको छनोटमा स्थान पाएका छन् ।

नेपालले कीर्तिपुर मैदानमा केन्याविरुद्ध २ खेल खेल्नेछ । घरेलु मैदानमा केन्यासँग पहिलो खेल मार्च ११ र दोस्रो खेल १३ मा खेल्नेछ ।

प्रतियोगिताका लागि नेपालको राष्ट्रिय टोली आइसिसीका प्रतिनिधि बेंकटपति राजु, राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासहितको टोलीले छनोट गर्नेछ । आइसिसीका प्रतिनिधि एक सातापछि आउने तयारीमा रहेको प्रशिक्षक टमाटाले बताए । उनले भने, ‘प्रतियोगिताका लागि हामीसँग तयारी गर्ने समय थोरै छ। आइसिसीको प्रतिनिधि आएपछि तीव्र गतिमा तयारी सुरु हुनेछ।’

 

 

 

प्रकाशित: ५ माघ २०७३ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App