१६ चैत्र २०८० शुक्रबार
खेल

आहा-रारामा सुदूरपश्चिम र सहाराबीच पहिलो भेट

पोखरा- सुदूरपश्चिम-११ स्पोर्टिङ क्लब र आयोजक सहाराबीच आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणमा पहिलो खेल हुँदैछ। यहाँको रंगशालामा मंगलबार हुने उद्घाटन खेलमा दुुवै टोली एकअर्कासँग पहिलोपटक खेल्दैछन्।

पहिलो भिडन्त सुखद् बनाउने प्रयासमा खेल्ने दुवै टोलीका प्रशिक्षक बताउँछन्। सुदूरपश्चिम–११ का प्रशिक्षक सुरेश हमालले पहिलोपटक सहारासँगको खेलमा सुखद नतिजा निकाल्ने सोचसहित खेल्ने बताए। 'सहारासँग हाम्रो भेट पहिलो हो। हाम्रो टोली राम्रो छ र सेट भइसकेकाले सहारासँग खेल्न त्यति कठिन नहोला,' हमालले भने, 'टोलीका सबै खेलाडीले मेहनत गर्नेछन्। एक्लो मेहनतले खेल जित्न सकिँदैन। जित्नकै लागि हामी खेल्नेछौं।'

आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औं संस्करणको विजेता हो। हमालका अनुसार सुदूरपश्चिम–११ पोहोर आयोजित नेपालगन्ज गोल्डकपको विजेता हो। सुदूरपश्चिमले पोहोर सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले हराएर नेपालगन्ज गोल्डकप जितेको थियो।

दुई वर्षअघि मात्र स्थापित सुदूरपश्चिमले क्लबलाई नेपाली फुटबलमा परिचित गराउनै निम्ति केही दिनअघि धनगढीमा प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको हमालले बताए। खप्तड गोल्डकपको सेमिफाइनलमा राजधानीको संकटा क्लबसँग सुदूरपश्चिम १–० ले पराजित भएको थियो।

'उत्कृष्ट टोली हुँदाहुँदै पनि क्लब त्यति धेरै परिचित नहुँदा हामीले यसपल्ट धनगढीमा प्रतियोगिता आयोजना गर्‍यौं,' हमालले भने। उनले टोलीमा सबै स्वदेशी खेलाडी रहेको बताए। सहाराको खेल यसअघि नै हेरिसकेकाले पोखरामा खेल्न असहज नहुने उनले बताए। 'धनगढीमा खेलेर छोटो समयमै हामी पोखरा आउनुपर्दा खेलाडी केही थकित छन्। तर पनि हामी उत्कृष्ट खेल्नेछौं,' उनले भने, 'उत्कृष्ट खेल प्रदर्शन गरेर पोखरेली दर्शकको मन जित्ने प्रयास गर्नेछौं।'

आयोजक सहारा क्लब पनि सुदूरपश्चिमसँगको खेल प्रतिस्पर्धात्मक हुने प्रशिक्षक किरण श्रेष्ठ बताउँछन्। केही समयअघि हेटौंडा र खप्तड गोल्डकपमा खेलेको सेट टोली नै पोखरामा खेल्ने भएकाले समस्या नभएको प्रशिक्षक श्रेष्ठले बताए। 'हामीसँग सेट टिम छ। त्यसैले समस्या नहोला,' उनले भने, 'अभ्यास पनि पर्याप्त गराएका छौं।' उनका अनुसार टोलीमा ३ जना विदेशी खेलाडी छन्। सहारा केही समयअघि हेटौंडा गोल्डकपको सेमिफाइनलमा मनाङमर्स्याङदीसँग १–० ले पराजित भएको थियो। खप्तड गोल्डकपमा पनि क्वार्टरफाइनलमा दिल्ली युनाइटेडसँग ३–२ अन्तरले पराजित भएको थियो।

'सुदूरपश्चिम–११ पनि उत्कृष्ट टिम हो। फेरि हामी होमग्राउन्डमा खेल्दैछौं। सेट टिम नै खेल्ने भएकाले दबाब नपर्ला,' उनले भने, 'तर जित्न मेहनत गर्नैपर्छ।' १२ औं संस्करण जितेको सहाराले यस पटकको उपाधि आफैंले जित्न सक्दो प्रयास गर्ने प्रशिक्षक श्रेष्ठले बताए।

प्रतियोगिताको १५ औं संस्करण माघ १५ सम्म पोखरा रंगशालामा सञ्चालन हुने आयोजक सहाराले जनाएको छ। प्रतियोगितामा ३ विदेशी र आयोजकसहित १२ टोली सहभागी छन्। प्रतियोगितामा अमेरिकाको एएनए फुटबल टिम, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको फारसगन्ज स्पोर्ट्स क्लब सहभागी हुँदैछन्।

स्वदेशी टोलीमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मीसहित राजधानीको संकटा क्लब, लक्ष्मी हुन्डाई मनाङमर्स्याङदी क्लब खेल्दैछन्। सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, झापा–११ र सहारा क्लब पनि उपाधिका लागि प्रतियोगितामा खेल्नेछन्।

विजेताले नगद ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। सर्वाेत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। ५ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षक तथा टोलीलाई पनि नगद १५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ। सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। 

प्रकाशित: ४ माघ २०७३ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App