१५ चैत्र २०८० बिहीबार
खेल

न्युजिल्यान्डको सनसनीपूर्ण जित

वेलिङटन- कप्तान केन विलियम्सनले करियरको १५ औं सतक प्रहार गरेपछि न्युजिल्यान्डले सोमबार अन्तिम दिन उत्कृष्ट पुनरामगनमा बंगलादेशविरुद्ध पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ।

उनले यस खेललाई ‘दोस्रो इनिङ’ खेलको संज्ञा दिए जहाँ पहिलो इनिङमा भ्रमणकारी टोलीको ५९५/८ को जवाफमा न्युजिल्यान्डले ५३९ को स्कोर खडा गरेको थियो।

नाटकीय टेस्टको अन्तिम दिन बंगलादेशका कप्तान तथा विकेटविपर मुस्पि्ककर रहिम रिटायर्ड हर्ट भएपछि भ्रमणकारी टोलीको दोस्रो इनिङ १६०–९ मा सीमित भएको थियो। बाउन्सरका कारण मैदानमा लडेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

अन्तिम सेसनमा २ सय १७ रनको लक्ष्य भेट्टाउनुपर्ने दबाबमा रहेको न्युजिल्यान्डका लागि विलियम्सन र रोस टेलरले आक्रामक ब्याटिङ गर्दै जित दिलाए।

९० बलमा अविजित १ सय ४ रन जोडका विलियम्सनले पहिलो इनिङमा बंगलादेशभन्दा ५६ रनले पछि परेपछि जितको सम्भावना देखेको बताएका थिए।

‘त्यहाँबाट यो टेस्ट ‘दोस्रो इनिङ’को खेल बन्यो, टेस्टको अन्तिम इनिङमा पुग्दा जे पनि सम्भव हुन सक्छ,' उनले भने।

टम लाथम १६ तथा जीत रावल १३ रन बनाएर आउट भएपछि ३९–२ को स्थितिमा पुग्दा केहीबेर तनाव भएको स्विकार्दै उनले थपे, ‘अन्तिम दुई सेसनको कुरा गर्ने हो भने जुनसुकै टोलीले पनि जित्न सक्थ्यो। यो नै टेस्ट क्रिक्रेट हो। तर, ३०–२ को स्थितिमा हुँदा २ सय रनको लक्ष्य केही ठूलो हुन सक्छ।’

विलियम्सनले दोस्रो इनिङमा बंगलादेशलाई दबाब दिन हतियारका रुपमा बाउन्सर प्रयोग गरेका थिए। भ्रमणकारी टोली दबाबमा परेको एकमात्र कारण मुस्पि्ककरको चोट भएको विलियम्सनले स्विकारे।

बंगलादेशले खेलको नतिजाबारे कुनै गुनासो नरहेको बताएको छ। कप्तानी सम्हालेका तमिम इकबालले खेल हार्नुमा आफूहरू दोषी रहेको बताए।

‘दोस्रो इनिङमा हामीले राम्रो ब्याटिङ गर्न सक्थ्यौं। चोटका कारण हामी केही अभागी रह्यौं,’ खेल बराबर गर्न ५ सय ९५ रन पर्याप्त नभएको उनको तर्क थियो। विलियम्सन र टेलरले औसत ६ भन्दा माथिको गतिमा तेस्रो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरेपछि घरेलु टोलीले जितको आधार खडा गरेको थियो।

उनले १५ चौका प्रहार गरे भने टेलरले ७७ बलमा ६ चौकासहित ६० रन जोडे। पहिलो चार दिनको खेल आफ्नो नियन्त्रणमा राखेको भ्रमणकारी टोलीको दोस्रो इनिङ ५८ ओभरमा १६०–९ मा सीमित भएको थियो। पहिलो इनिङमा २ सय १७ रन जोडेका शाकिब अल हसन दोस्रो इनिङमा ५ बल खेल्दै खाता नखोली पवेलियन फर्केका थिए।

प्रकाशित: ४ माघ २०७३ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App