coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

संकटाको जितमा अमित नायक

धनगढी- अमित तामाङको गोलमा शहिद स्मारक 'ए' डिभिजन लिगको संकटा क्लब शुक्रबार आयोजक सुदूर पश्चिम–११ माथि १–० को जित हासिल गर्दै प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूर पश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

धनगढी क्षेत्रीय रंगशालामा संकटाले शनिबार हुने फाइनलमा मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मनाङले बिहीबार भारतको दिल्ली युनाइटेडलाई ३–१ को अन्तरमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

तीन महिना अघि चितवनमा भएको विकास रनिङ शिल्डको उपाधि जितेको संकटा फेरी एक पटक अर्को सफलता नजिक पुग्दा क्लब व्यवस्थापन उत्साहित बनेको छ। पछिल्लो समय राम्रो लयमा रहेको टोलीले सुदूर पश्चिमको फाइनलमा पनि चितवनकै प्रतिद्वन्द्वी पाएकाले उत्साह बढेको हो। चितवनको फाइनलमा त्रिभुवन आर्मीलाई हराउनुअघि संकटाले सेमिफाइनलमा मनाङ मर्सयाङदीको चुनौती पन्छाएको थियो।

'हामी पछिल्लो समय राम्रो गरिरहेका छौं। खेलेका प्रतियोगितामा उपाधि हाम्रो लक्ष्य हो। टिम फाइनल पुग्दा अहिले पूरा क्लब उत्साहित छ। तीन महिनाको बीचमा दोस्रो उपाधिनजिक पुग्नु हाम्रा लागि उपलब्धिको विषय हो,' क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले भने।

सुदूर पश्चिममा फाइनल यात्रा तय गर्ने क्रममा शुक्रबार १६ औं मिनेटमा अमितले गरेको गोल संकटाको जितमा पर्याप्त भयो। पेनाल्टी बक्स नजिकै सुदूर पश्चिमका नरेन्द्र चौधरीले आफैलाई फाउल गर्दा प्राप्त फ्रि–किकलाई अमितले गोलमा परिणत गरेका थिए।

घरेलु दर्शकमाझ सुदूर पश्चिमले पुनरागमनको प्रयासस्वरुप दोस्रो हाफमा आक्रमक प्रदर्शन गरेको थियो। कप्तान गजेन्द्र शाही, सुमित दुवे र मणिराम चौधरीले गरेका प्रहार संकटाका गोलकिपर राजु नगरकोटीले बचाए। म्यान अफ द म्याचबाट पुरस्कृत भएका गजेन्द्रले ५ हजार सहित एक थान  मोबाइल सेट पाए।

संकटाका प्रशिक्षक सल्यान खड्गीले योजना अनुसार खेलेपछि सफलता हासिल गरेको बताए। 'स्थानीय टोलीसँग खेल्दा हामीलाई दबाब थियो। फेरी १ गोलको अग्रता जोगाउनु सहज थिएन,' उनले भने, 'तर हामीले सम्हालिएर खेल्यौं। सबै खेलाडीले व्यक्तिगत रुपमा राम्रो खेल्ने प्रयास गरे। फाइनलमा पनि यही लयलाई निरन्तरता दिने प्रयास गर्छौ।'

सुदूर पश्चिमका कप्तान गजेन्द्रले सुरुमै गोल खाएका कारण दबाबमा खेल्नु परेको बताए। उनले भने, 'सुरुमै गोल खाएपछि हामी आक्रमक भएर खेल्यौं। तर हाम्रा प्रयास सफल भएनन।'

प्रकाशित: १ माघ २०७३ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App