१६ चैत्र २०८० शुक्रबार
खेल

शृंखलामा अस्ट्रेलियाको अग्रता

ब्रिसबेन- म्याथ्यु वेडले इनिङको अन्तिम बलमा शतक पूरा गरेको दिन शुक्रबार अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा ९२ रनको जितसहित पाँच खेलको शृंखलामा अग्रता लिएको छ। अग्रपंक्तिका ब्याट्सम्यान चाढै आउट भएपछि टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियालाई वेडले सम्मानजनक स्कोरतर्फ डोर्‍याएका थिए। ७८–५ को स्थितीमा वेडले इनिङ सम्हालेपछि निर्धारित ५० ओभरमा अस्ट्रेलियाले ९ विकेट गुमाई २ सय ६८ रन बनाएको थियो।

त्यसपछि जेम्स फल्कनरले ३२ रन दिएर ४ विकेट लिएपछि पाकिस्तान ४२.४ ओभरमा १ सय ७६ रनमा सिमित भएको थियो।

१७ ओभरमै घरेलु टोलीको ५ विकेट लिँदै पाकिस्तानले खेल नियन्त्रणमा राखेको थियो। तर, वेड र ग्लेन म्याक्सवेलले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।

पाकिस्तानका कप्तान अजहर अली ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोलीले इनिङ सम्हालन सकेन। बाबर आजमले जोडेको ३३ रन पाकिस्तानी इनिङको सर्वाधिक व्यक्तिगत स्कोर थियो।

मोहम्मद आमिरले फर्ममा रहेका ओपनर डेभिड वार्नर र कप्तान स्टिभ स्मिथलाई एकै ओभरमा पवेलियनको बाटो देखाएपछि ५ ओभर सकिँदा घरेलु टोली १३–२ को नाजुक स्थितीमा थियो। वार्नरले ७ रन जोड्दा स्मिथ भने गोल्डेन डक आउट भएका थिए।

करियरको पहिलो एकदिवसीय शतक प्रहार गर्ने क्रममा वेडले १ सय बलमा ७ चौका र २ छक्का प्रहार गरे। म्याक्सवेलले ५६ बलमा  ७ चोैकासहित ६० रन जोडे।

२ सय ६९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ओपनर शर्जिल खान १८ रनमा आउट भए पछि दबाबमा परेको थियो। लगत्तै कप्तान अली रिटायर्ड हर्ट भएपछि टिमको दबाब थपियो। अली पुनः मैदानमा फर्किए पनि २४ रन जोड्दा फल्कनरको सिकार भए।

४६ बल खेलेका अजमले पेट क्युमिन्सको बलमा स्मिथलाई क्याच दिनुअघि ३ चौकासहित ३३ रन जोडेका थिए। क्युमिन्सले ३ विकेट लिए भने मिचेल स्टार्कले २ र मिचेल मार्सले १ विकेट लिए।

दोस्रो एक दिवसीय खेल आइतबार मेलबर्नमा हुनेछ।

प्रकाशित: १ माघ २०७३ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App