७ वैशाख २०८१ शुक्रबार
खेल

पुनरागमनमा शिवरामको अग्रता

काठमाडौं- नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल च्यालेन्जमा उत्कृष्ट पुनरागमन गर्दै तेस्रो दिन बिहीबारको खेल सकिँदा अग्रता लिएका छन्। पहिलो दुई दिन राम्रो प्रदर्शन गर्न नसकेका शिवरामले ६८ पारको रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)को कोर्समा बिहीबार २ अन्डर ६६ खेल्दै ४ अन्डर २ सय स्कोरका साथ आफ्नै दाजु जयरामलाई २ सटले पछि पारे। अग्रस्थानमा रहेर दिनको खेल सुरु गरेका जयरामको प्रदर्शन बिहीबार राम्रो हुन सकेन। बिहीबार ५ ओभर ७३ खेलेका जयरामको कुल स्कोर २ अन्डर २ सय २ छ। २ ओभर ७० खेलेका भुवन नगरकोटी इभन पार २ सय ४ स्कोरका साथ तेस्रो स्थानमा छन् भने इभन पार ६८ खेलेका रामे मगर २ ओभर २ सय ६ स्कोरसहित चौथो स्थानमा यथावत छन्।

बिहीबार ९ ओभर ७७ को खराब प्रदर्शनपछि सञ्जय लामा पाँचौं स्थानमा झरेका छन् भने १ अन्डर खेलेका चुणाबहादुर भण्डारी ५ ओभर २ सय ९ स्कोरका साथ छैटौं स्थानमा छन्। रवि खड्का (७०), धनबहादुर थापा (७५) र दीपक मगर (७१) कुल २ सय १० स्कोरका साथ संयुक्त रुपमा सातौं स्थानमा रहँदा रामकृष्ण श्रेष्ठ (७५), विकास अधिकारी (७५) र सूर्यप्रसाद शर्मा (७१) समान ११ ओभर २ सय १५ स्कोरका साथ संयुक्त रुपमा १० औं स्थानमा छन्।

शिवरामको सुरुआत बिहीबार पनि सुखद हुन सकेको थिएन। फ्रन्ट नाइनमा १ ओभर ३५ खेलेका उनले दोस्रो हाफमा भने पुनरागमन जनाउने क्रममा ३ अन्डर ३१ को प्रदर्शन गरेका थिए। दोस्रो होलमा बर्डी प्रहार गरे पनि उनले तेस्रो र नवौं होलमा बोगी खेपेका थिए। ब्याक नाइनमा भने ११, १३ र १४ औं होलमा बर्डी प्रहार गरेका उनले कुनै पनि होलमा सट खेर फालेनन्। जयरामले फ्रन्ट नाइनमा ४ ओभर ३८ तथा ब्याक नाइनमा १ ओभर ३५ को खराब प्रदर्शन गरे। दोस्रो, १० औं, १२औं, १८ औं र अन्तिम होलमा गरी पाँच बर्डी प्रहार गरे पनि तेस्रो, ११ औं र १५ औं होलमा डबल बोगी खेपेका उनले छैटौं, सातौं, नवौं र १६ औं होलमा पनि एक/एक सट खेर फाले।

एमेच्योरतर्फ मिथुन राई (७४) समग्रमा २ सय १५ स्कोरका साथ अग्रस्थानमा कायम रहँदा सन्तोष रोक्का (७२) २ सय १६ स्कोरका साथ दोस्रो तथा शिवकुमार माझी (७६) कुल २ सय १८ स्कोरका साथ तेस्रो स्थानमा छन्।

अघिल्लो दिन कटमा सफलता हासिल गर्ने २२ व्यावसायिक तथा ६ एमेच्योर खेलाडीबीच शुक्रबार अन्तिम दिन उपाधिका लागि निर्णायक प्रतिस्पर्धा हुनेछ। सूर्य नेपालको प्रायोजन तथा नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) को आयोजनामा जारी प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख रुपैयाँमध्ये विजेताले ७५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ४६ हजार रुपैयाँ पर्नेछ। यसैगरी तेस्रो हुनेले ३१ हजार ५ सय रुपैयाँ पाउनेछ भने कटमा सफलता हासिल गरेर अन्तिम दुई चरणका लागि छानिएका सबै २२ व्यावसायिक खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।

प्रकाशित: २९ पुस २०७३ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App