१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

झापा र एपिएफको निर्णायक भेट

झापा- सशस्त्र प्रहरीको एपीएफ क्लब र रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि भिडन्तका लागि शनिबार मैदानमा उत्रिँदा भिन्न दबाबमा हुनेछन्। महिना दिनभित्रै उपाधिको ह्याटि्रक गर्ने दूर्लभ सफलता नजिक पुगेको नेपालको कान्छो विभागीय टोलीसँग उच्च मनोबलको प्रेरणा हुनेछ भने लामो समयदेखि उपाधिको खडेरीबाट गुजि्रइरहेको झापाका लागि घरेलु मैदानमा सफलता आत्मसात गर्ने चुनौती। आक्रमणमा धारिलो झापा र जब्बर रक्षापंक्तिबाट प्रेरित एपीएफबीच श्रेष्ठताको लडाइँ रोचक हुने चाँही पक्का छ।

काँकडभिट्टा माविको मैदानमा दुई टोली प्रतिस्पर्धामा उत्रँदा एपीएफसँग महिना दिन अघि मात्रै झापाकै सुरुङ्गा गोल्डकप र सातौं राष्ट्रिय खेलकुदमा च्याम्पियन भएको आत्मविश्वास हुनेछ। नेपाली फुटबलमा कुनैबेला उपाधि दाबेदार नठानिने एपीएफले पछिल्लो समय लगातार आत्मविश्वासी प्रदर्शन गर्दै आएको छ। टोली त्यही लयलाई निरन्तरता दिँदै महिना दिनभित्रै तेस्रो उपाधि जित्ने दाउमा छ। 'हामी पछिल्लो समय उत्कृष्ट लयमा छौं, खेलाडीहरु पनि एकिकृत छन्', एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने 'हामी यही लय फाइनलमा पनि कायम गर्नेछौं।'

घरेलु मैदान र त्यहाँ उपस्थित हुने खचाखच समर्थकको भीडका बीच झापालाई भने उपाधि जित्नै पर्ने दबाब बढी हुनेछ। अघिल्लो सिजनको राष्ट्रिय लिगमा चौथो स्थान हासिल गरेयता झापाको प्रदर्शन सन्तोषजनक छैन। लगातार तीन वटा प्रतियोगिताको सेमिफाइनलमै रोकिएको झापाले काँकडभिट्टामा आफूलाई उपाधि होडमा उभ्याएको छ। त्यसैले दबाब स्वाभाविक रुपमा बढि छ। यसलाई टिम स्वमय्ले स्वीकारेको छ। 'हो, हामी बढी नै दबाबमा छौं', टोलीका व्यवस्थापक गोपाल राईले भने, 'हामीले लामो समयदेखि उपाधि जितेका छैनौं। त्यो क्रम यसपटक तोड्ने विश्वासमा छौं।'

दुई टोलीबीचको विगत केलाउने हो भने नतिजा बराबरी छ। लिग र नकआउट गरी झापा र एपीएफ अहिलेसम्म ६ पटक आमनेसामने भइसकेका छन्। जसमा दुवै टिमले तीन–तीन जित हात पारेका छन्। त्यसमध्ये फाइनल भिडन्त एकपटक भएको थियो। त्यसमा झापाले बाजी मारेको थियो। अघिल्लो वर्ष इलामको माइभ्याली गोल्डकपको फाइनलमा झापाले एपिएफलाई २–० ले हराउँदै उपाधि जितेको थियो भने सुरुङ्गामा क्वार्टरफाइनलमा एपीएफले टाइब्रेकरमा विजय हासिल गरेको  थियो। 'अहिलेसम्मको अवस्था फिप्टी–फिप्टी हो', शुक्रबार काँकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रतिनिधिले भने, 'अबको भेट निर्णायक हुनेछ।'

जारी प्रतियोगितामा एपिएफ भन्दा झापाले आत्मविश्वासी प्रदर्शन गर्दै आएको छ। पहिलो खेलमा राजधानीको हिमालयन शेर्पालाई टाई ब्रेकरमा ५–३ ले हराएको झापाले सेमिफाइनलमा मोफसलकै अर्को टोली रुपन्देहीलाई ४–० को फराकिलो अन्तरले हराएको थियो। प्रतियोगितामा अहिलेसम्म ह्याटि्रक गर्ने एक्लो खेलाडी कर्ण लिम्बु तथा योगेश गुरुङ, रजिन धिमाल, पिटर सेगुन जस्ता खेलाडी टोलीको मुख्य अस्त्र हुनेछन्। 'हाम्रा अधिकांश खेलाडी फर्ममा छन्', झापाका व्यवस्थापक राईले भने 'विदेशी खेलाडीको साथले रक्षापंक्ति पनि बलियो भएको छ।' उनले गोलरक्षक भने अनुभवी नहुँदा केही समस्या आएको बताए।

पहिलो खेलमा सिएमजी संकटालाई १–० को साँघुरो अन्तरमा हराउँदै अघि बढेको एपीएफले सेमिफाइनलमा आयोजक काँकडभिट्टालाई टाइब्रेकरमा ५–४ ले हराएको थियो। प्रतियोगितामा  एपीएफका कुनै पनि स्ट्राइकर जम्न सकेका छैनन्। दुवै खेलमा रक्षापंक्तिकै खेलाडी अघि बढेर गोल गरिरहेका छन्। स्टार खेलाडीहरु चोटका कारण उपलब्ध हुन नसक्दा टोली पिरोलिएको छ। अञ्जन विष्ट, रञ्जन विष्ट, राजेन्द्र रावल, आदित्य चौधरीसहितका खेलाडी अहिलेसम्म मैदानमा आउन सकेका छैनन्। प्रतियोगितामा गोल गरिसकेका हरि कार्की, रमेश दंगाललगायतका खेलाडी पनि चोटका बावजुद मैदान उत्रिनु परेकाले एपिएफ थप समस्यामा छ।

कम अनुभवी खेलाडीको बाहुल्य भएका कारण मिडफिल्डमा समस्या रहेको प्रशिक्षक महर्जनले स्वीकारेका छन्। तर, फाइनलमा अञ्जन उपलब्ध हुने आशामा रहेको उनले सुनाए। नेपाल, भारत र भूटानका आठ टोली सहभागी प्रतियोगितामा विजेताले चार लाख नगदसहितको उपाधि हात पार्ने छ भने  उपविजेताले २ लाखमा चित्त बुझाउनु पर्नेछ।

प्रकाशित: २३ पुस २०७३ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App