४ वैशाख २०८१ मंगलबार
खेल

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई २-० ले हरायो

हेटौंडा- पोखराको सहारा क्लबले हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा शनिबार जित हात पारेको छ। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो। सातौं राष्ट्रिय खेलकुद खेलेको एक दिनपछि पुलिस हेटौंडामा जारी फुटबल खेल्न आइपुगेको थियो।

सहाराको जितमा कप्तान उत्तम गुरुङले २८ औं मिनेटमा गोल गरे। उनले पुलिसको डिफेन्स लाइनको तालमेल नमिलेको बेला गोल गरेका थिए।

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भएका शिव सुवेदीले ८४औं मिनेटमा गोल गर्दै सहाराको अग्रतालाई दोब्बर पारे।

‘खेलाडीले शतप्रतिशत योगदान गरेपछि खेल जित्न सहज भएको हो। खेलाडीले पहिलो अवसरलाई गोलमा परिवर्तन गर्नु हाम्रो लागि सुखद हो,' सहाराका प्रशिक्षक किरण श्रेष्ठले भने, 'आज हाम्रो रक्षकले आत्मविश्वासका साथ खेले। अग्रता जोगाउन रक्षात्मक खेल्न जरुरी थियो। त्यसमा हामी सफल भयौं।'

यसैगरी पुलिसका प्रशिक्षक कुमार कटुवालले खेलाडी थकित भएकाले हार्नु परेको बताए। उनले भने, 'मुख्य कुरा हामीले सातौं राष्ट्रिय खेलकुद खेलेर आउनसाथ हेटौंडामा खेल्नु पर्‍यो। आराम नभएपछि खेलाडीले आफ्नो शतप्रतिशत खेल खेल्न सकेनन्।'

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आइतबार मनाङ मर्स्याङदी र एपिएफले प्रतिस्पर्धा गर्नेछन्। पुस २३ सम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।  

प्रकाशित: १७ पुस २०७३ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App