१६ चैत्र २०८० शुक्रबार
खेल

प्रतिबन्धित क्यानको वार्षिक साधारणसभा

अजय फुयाल/सुजन श्रेष्ठ

काठमाडौं– निरन्तरको किचलो र आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय जगतमा पूरा नेपाली क्रिकेट प्रतिबन्धमा छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आन्तरिक विवाद समाधान नगरेसम्मका लागि भन्दै वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिवन्ध लगाएको थियो। देशभित्रको अवस्थामा परिवर्तन भएको छैन र आइसिसीले पनि नेपालमाथिको प्रतिवन्ध फुकुवा गरिसकेको छैन।

पूरा क्रिकेट प्रशासन नै अन्तर्राष्ट्रिय स्तरमा प्रतिवन्धित भएको बेला देशभित्र निर्वाचित क्यानले मंगलबार वार्षिक साधारणसभा सम्पन्न गरेको छ । चतुरबहादुर चन्द अध्यक्ष रहेको गतवर्ष निर्वाचित क्यानको साधारणसभाले मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताका लागि पहल गर्दै अस्तित्वका लागि कानुनी लडाईलाई निरन्तरता दिने निर्णय गरेको छ । क्यानका ९१ मध्ये ८३ जना उपस्थित साधारणसभाले कर्मचारी छुम्मी लामालाई पदमुक्त गर्ने निर्णय गरेको छ । त्यसै पुर्व कार्यवाहक अध्यक्ष टिबी शाहको स्मृतीमा  प्रतियोगिता गर्ने घोषण गर्दै क्यानको साधरणसभा मंगलबार सकिएको छ ।

गतवर्ष मंसिर २८ र २९ मा काठमाडौंमा भएको साधारणसभाले चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विधि नपुगेको भन्दै रोक्न निर्देशन दिएको निर्वाचनबाट राखेपकै बोर्ड सदस्य विनोदकुमार मैनाली प्रथम उपाध्यक्षमा निर्विरोध भएका थिए ।

तर राखेपले साधारणसभाबाट चुनिएको कार्यसमितिलाई बेवास्था गर्दै गतवर्ष पुस २४ गते पूर्व उपाध्यक्ष रमेश सिलवालको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो । राखेपले निर्वाचित संघलाई मान्यता नदिएर तदर्थ समिति बनाएपछि लामो समयदेखि नेपाली क्रिकेट प्रशासनको किचलोबाट आजित भएको आइसिसीले वैशाख १३ गते क्यानमाथि प्रतिवन्ध लगाएको थियो । राखेपले तदर्थ समिति बनाएपछि त्यसको विरुद्ध चन्द पक्षले दायर गरेको मुद्धा अदालतमा विचाराधिन छ ।

राखेपको मान्यता नपाएको निर्वाचित क्यानको साधारणसभामा राखेपकै कोषाध्यक्ष सुरेन्द्र हमाल तथा सदस्यद्धय विनोद मैनाली र सैलेश कर्माचार्यको पनि उपस्थिती थियो । मैनाली निर्वाचित क्यानका वरिष्ठ उपाध्यक्ष हुन् भने कर्माचार्य राखेपद्धारा गठित सिलवाल अध्यक्ष रहेको तदर्थ समितिका उपाध्यक्ष हुन् । राखेपको निर्देशनविपरित गतवर्ष साधारणसभामा सहभागिता जनाएर वरिष्ठ उपाध्यक्ष भएपछि मैनालीलाई कार्वाही गर्ने सदस्यसचिव केशवकुमार विष्टले बताएका थिए । राखेप सदस्यसचिव विष्टले मैनाली त्यसपछि निर्वाचित क्यानको कुनै पनि गतिविधिमा संलग्न नहुने दावी गरेका थिए ।

मैनालीले राखेपबाट कार्वाहीको प्रशंगलाई राजनीतिक फन्डाको रुपमा वयान गरे । ‘एक वर्षअघि म कार्वाहीमा परेको थिएँ, अव फेरी पर्नेछु । प्रत्येक वर्ष साधारणसभा भएपछि ममाथि कार्वाही हुन्छ,’ नागरिकसँगको कुराकानीमा उनले राखेप सदस्यसचिव विष्टलाई व्यंग गरे । आफूहरुले पटक–पटक विभिन्न निकायमा गएर कुरा राख्दा पनि निकास नआएको बताउँदै मैनालीले विधानअनुसार लडिरहने बताए । ‘जिल्ला र क्षेत्रका साथीहरुले साथ दिनु भयो, त्यसका लागि धन्यवाद् । हामी अविरल लडिरहेका छौं । हामी विधान अनुसार चल्ने हो । हाम्रो गल्ती छ भने कारवाही गरियोस । हामी हट्न तयार छौं,’ मैनालीले चेतावनी दिए ।

यसैगरी राखेप सदस्य एवं तदर्थ समितिका उपाध्यक्ष कर्माचार्यले दुई क्यान मिल्नुको विकल्प नरहेको र आफू त्यसमै लागेको बताए ।

निर्वाचित क्यानका अध्यक्ष चन्दले राजनीतिले क्रिकेटलाई दबाएको तर्क गर्दै सरकार, आइसिसी र अदालतबाट समेत समाधानमा उचित पहल नभएको आरोप लगाए । ‘राखेपलाई मेरो अनुहार मन परेको छैन । मन्त्रीले समाधान गर्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभयो, तर उहाँ पनि आइसिसीसँग मिलेर सल्लाहकार समिति बनाउन लाग्नुभयो । वास्तविक सरोकारवालालाई पाखा लगाएर फर्जी सरोकारवाला तयार गरेर बनाइएको सल्लाहकार समितिले समाधान निस्कन्न । विधान र पद्दतिभन्दा माथि कोही छैन,’ उदघाटन सत्रमा चन्दले भने, ‘सर्वोच्च अदालतले पनि न्याय दिन सकिरहेको छैन । ढिलो न्याय दिनु पनि अन्याय गुर्न जस्तै हो । आइसिसीले दोहोरो चरित्र देखाइरहेको छ । सरकारी हस्तक्षेप भनेर प्रतिवन्ध लगायो । अनि त्यही सरकारसँग मिलेर सल्लाहकर समिती बनायो ।’

आइसिसीले क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेमार्फत काम गरेकोमा असन्तुष्टी जनाउँदै चन्दले थपे, ‘टिमसँग किन डाक्टर पठाएको भनेर हामीले कुनै दिन मुद्धा खेप्नुप¥यो । तर पछिल्लो दुई वर्षदेखि आइसिसीका दलालहरु स्थापित गरेर बजेटको दुरुपयोग भइरहेको छ । करोडौं रकम खर्च भइरहेको छ । तर कसले ग¥यो, कसरी ग¥यो कसैलाई केही थाहा छैन । एउटा व्यक्तिले क्रिकेट कव्जा गरिरहेको छ । यो सबको जवाफ राखेपले दिनुपर्छ ।’

राखेपमाथि राजनीतिको आरोप

नेपाली कांग्रेसको कोटामा राखेप कोषाध्यक्ष बनेका हमालले क्रिकेटमा विवाद निम्त्याउन राखेपले अवैधानिक रुपमा दादागिरी गरेको आरोप लगाए । नेकपा एमालेको कोटामा सदस्यसचिव बनेका विष्टप्रति आक्रोष पोख्दै हमालले भने, ‘देश सार्वभौम सत्ता सम्पन्न भनेजस्तै क्यान पनि साधारणसभा सम्पन्न छ । साधारणसभाले चुनेको क्यानलाई अवैधानिक भन्न अदालत, आइसिसी र राखेप कसैले पनि सक्दैन । राखेपमा कार्यकारिणी अधिकार लिएर बसेको व्यक्तिले राजनीतिक उद्देश्य बोकेर पूर्वाग्रही ढंगमा क्यानमाथि गरेको हस्तक्षेप स्विकार्य हुन सक्दैन ।’

राखेपका सदस्यसचिवलाई ऐनले असिमित अधिकार दिएको बताउँदै हमालले संसदबाटै प्रजातान्त्रिक रुपमा ऐन संसोधन गर्नुपर्ने बताए । ‘कार्यकारी अधिकार लिएको व्यक्तिले जे गर्न पनि पाउने छुट रहेछ यहाँ । त्यो व्यक्तिले राजनीतिक पूर्वाग्रहका आधारमा मनोमानी गरिरहेको छ । त्यसमाथि अंकुश लगाउन संसदबाटै पहल हुनुपर्छ,’ रक्षामन्त्री बालकृष्ण खाँडसहित काग्रेस नेताहरुको ठूलै जमघट भएको साधारणसभामा हमालले सदस्यसचिव विष्टप्रति संकेत गर्दै भने, ‘क्रिकेटमात्र होइन राखेपको पूर्वाग्रहका कारण अरु संघ पनि मारमा परेका छन् । टेबल टेनिस, बक्सिङ र कुस्ती यसका थप उदाहरण हुन् । हामी मानिस म¥यो भन्दा पनि काल पल्कियो भन्नेमा चिन्तित छौं । राखेप काल बनेर मडारिइरहेको छ । हामीले यसलाई पन्छाउनुपर्छ ।’

राखेप र आइसिसीको हस्तक्षेपकारी कदमका कारण पछिल्लो एक वर्ष केही गर्न नसकेको स्विकार्दै महासचिव अशोकनाथ प्याकु¥यालले अस्तित्वका लागि देशव्यापी आन्दोलनका लागि समेत आफूहरु तयार रहेको बताए । आइसिसीले नेपाली टोलीको जर्सीबाट क्यानको लोगो झिकेर नेपाली क्रिकेट प्रशासन लथालिंग पार्न खोजेको बताउँदै उनले भने, ‘आइसिसीलाई भ्रममा राखिएको छ । नेपालमा क्रिकेटको सर्वोच्च निकाय हामी हौं । विगतमा गल्ती भएका हुन सक्छन् । त्यसो भएको भए हामी क्रिकेट अघि बढाउनका लागि हदैसम्म लचिलो हुन तयार छौं। हामी पद्दति बसाउन चाहन्छौं, तर यहाँ त्यसलाई विथोल्न खोजिएको छ । हामीले ६० वर्षको इतिहास रक्षा गर्नुछ, त्यसका लागि जिल्लादेखि केन्द्रसम्म संघर्ष समिति बनाएर आन्दोलन गर्न पनि हामी तयार रहनुपर्छ।’

साधारणसभाका प्रमुख अतिथि रक्षामन्त्री बालकृष्ण खाँडले राखेपमा एक व्यक्ति हावी हुनु गलत भएको बताउँदै ऐन परिमार्जनमा सकारात्मक भुमिका खेल्ने आस्वासन दिए ।

‘खेलकुद सबैको हुनु पर्छ । वास्तवमा म यहाँ आउनै पर्ने कार्यक्रम रहेछ । समस्या बुझ्न सजिलो भयो। खेलकुदमा भौतिक पूर्वाधार बनाउन सकिएको छैन । खेलकुदले उत्पादन गर्न सक्दैन भन्ने हाम्रो बुझाई छ । तर खेलकुद उत्पादन दिने क्षेत्र हो । लगानी गर्न सक्यो भने प्रतिफल आउछ भन्ने मेरो बुझाई हो,’ क्रिकेटले समाजमा प्रभाव बढाएसँगै झगडा बढन थालेको विचार राख्दै मन्त्री खाँडले भने, ‘क्रिकेटमा साह्रै अन्याय भएको छ । तपाईहरुको सफलता राज्यको सफलता हो । आवस्यक परे कडा हुनुस हामी तपाईहरुसँग छौं । क्रिकेटको लागि हेल्प गर्न म तयार छु ।’

यसैगरी कीर्तिमानी तेक्वान्दो खेलाडी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपमा खेलभन्दा राजनीति हावी भएको दुखेसो गरे ।

क्यान र कांग्रेस

निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द जिल्लास्तरका प्रभावशाली कांग्रेस हुन् । एमाले नेतृत्वको राखेपले जारी गरेको निर्देशनविपरित निर्वाचन गरेर गतवर्ष उनी अध्यक्ष भएका थिए । दलीय राजनीतिले खेलकुदका सबै तहमा आस्थाका आधारमा ध्रुविकरण गर्दा क्रिकेटमा पनि पछिल्लो समय त्यसको प्रभाव परेको छ ।

निर्वाचित क्यानले मंगलबार काठमाडौंमा वार्षिक साधारणसभा गर्दा प्रमुख अतिथि कांग्रेस नेता एवं रक्षामन्त्री बालकृष्ण खाँड थिए भने अन्य अतिथि पनि सबै कांग्रेसी थिए । कांग्रेस सभासदद्धय मोहन राई र वीरबहादुर बलायर तथा फुटबल संघका पूर्व उपाध्यक्ष एवं कांग्रेस नेता कर्माछिरिङ शेर्पा साधारणसभाका अन्य अतिथि थिए । ‘हामीले सबै दलका नेताहरुलाई बोलाएका थियौं । राखेपका सदस्यसचिव र युवा तथा खेलकुदमन्त्रीलाई पनि बोलाएका थियौं । तर कांग्रेसमात्र आए । यो हाम्रो दोष होइन,’ चन्दले भने ।

एमाले नेतृत्वको राखेपले खेलकुदमा दलीय राजनीतिलाई प्रश्रय दिएको आरोप लगाइरहँदा सबै कांग्रेस नेताहरु दलीय एकताको आह्वान गरिरहेका थिए । ‘तपाईहरु अदालत जानुस, साधारणसभा गर्नुस, जे गरे पनि साचो अर्थमा निकास निस्कदैन । खेलकुदमा भएका सबै कांग्रेसी मिलेमात्र समस्याको निकास सम्भव छ । त्यसैले देशलाई पटक–पटक निकास दिएको कांग्रेसले खेलकुदलाई पनि निकास दिनुपर्छ,’ सभाषद एवं करातेका पूर्व खेलाडी राईले भने ।

यसैगरी कांग्रेस खेलकुद विभाग प्रमुखसमेत रहेका सभासद बलायरले राजनीतिक पूर्वाग्रहका आधारमा राखेपले हस्तक्षेप गरेको बताउँदै चन्द नेतृत्वलाई बैधानिक घोषणा गर्नुपर्ने माग राखे । क्रिकेटको वर्तमान अवस्थाबारे आफूले यो खेलसँग सम्बन्धित सबैजसोसँग छलफल गरिसकेको बताउँदै बलायरले समाधानका लागि डटेर लाग्ने आस्वासन दिए ।

‘समस्याको जड एनओसी’

नेपाली खेलकुदको मुख्य समस्या नेपाल ओलम्पिक कमिटी भएको बलायरले बताए ।

‘अहिले राष्ट्रिय ओलम्पिक कमिटी भनिएको छ । यो कुन देशको हो मलाई थाहा छैन ।  सर्वोच्च अदालतले नेपालमा रुक्मशमशेर राणा अध्यक्ष रहेको एकमात्र एनओसी छ भनेको छ । तर अझैसम्म अदालतको निर्णय सरकारले कार्यान्वयन गराउन सकेको छैन,’ एनओसीको विवाद समाधान गरे सब ठिक हुने बताउँदै बलायरले भने, ‘पूर्वाञ्चलमा केही दिनमा राष्ट्रिय खेलकुद हुँदैछ । त्यहाँ ‘अवैधानिक’ एनओसीलाई सहभागि नगराउन मैले मन्त्रीज्युलाई चेतावनी दिइसकेको छु ।’

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले स्की खेललाई प्रतिनिधित्व गर्नुले देशको बदनाम भएको तर्क गर्दै बलायरले थपे, ‘यो स्की भनेको कस्तो खेल हो, कहाँ खेलिन्छ ? खेल नै नभएको संघको अध्यक्ष नेपालको ओलम्पिक कमिटीको अध्यक्ष छ । योभन्दा हास्यास्पद कुरा अरु के हुन सक्छ।’

त्यस्तै फुटबलकर्मी शेर्पाले नेपालमा खेलकुद विगार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठूलो हात रहेको आरोप लगाए। ‘फुटबलमा भ्रष्टाचार हुँदा अख्तियार केही गर्दैन, राखेपमा भ्रष्टाचार हुँदा केही गर्दैन। तर काम गर्ने र निर्दोष क्यानलाई निलम्बन गर्छ। विधिवत चुनाव भएको क्यानलाई अख्तियारले निमोठ्यो। अव संघर्ष एकमात्र उपाय हो। यहाँ काम गर्नेले कार्वाही र निलम्बन भोग्नुपर्छ,’ उनले भने।

प्रकाशित: ६ पुस २०७३ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App