७ वैशाख २०८१ शुक्रबार
खेल

स्मिथ प्रेरित अस्ट्रेलिया विजयी

सिड्नी- सिड्नी क्रिकेट मैदानमा स्टिभ स्मिथले एक दिवसीयमा करियरकै उच्च स्कोर बनाउँदा अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डमाथि ६८ रनको विजय हासिल गरेको छ। स्मिथले १ सय ५७ बलमा ४ छक्का र १४ चौकासहित १ सय ६४ रन बनाएका थिए। जुन स्मिथले एक दिवसीय क्रिकेटमा बनाएको सबैभन्दा धेरै रन हो। सिड्नी क्रिकेट मैदानमा एउटा खेलाडीले बनाएको पनि यो सबैभन्दा ठूलो स्कोर हो। सिड्नी क्रिकेट मैदानमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान यसअघि दक्षिण अफ्रिकाका एबी डी भिलियर्सको नाममा थियो। उनले गत वर्षको विश्वकपमा १ सय ६२ रन बनाएका थिए।

म्यान अफ दी म्याच समेत बनेका स्मिथ टे्रन्ट बोल्टको बलमा कोलिन मुनरोको हातबाट मिडअनमा समातिएका थिए। स्मिथको यो स्कोर अस्ट्रेलियाली ब्याट्सम्यानले बनाएको सातौं उच्च स्कोर हो। अस्टे्रलियका पूर्व कप्तान रिकी पोन्टिङले पनि २००६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ६४ रन बनाएका थिए।

स्मिथको १ सय ६४ रन मद्धतमा घरेलु टोली अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २४ रन बनाएको थियो। ३ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४४.२ ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन मात्र जोड्न सक्यो।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनरले राम्रो सुरुआत गर्न सकेनन्। आक्रामक ब्याट्सम्यान डेविड वार्नर २४ रनमा आउट भए। त्यसअघि आरोन फिन्च शुन्यमा पवेलियन फर्किएका थिए। त्यसपछि घरेलु टोलीको इनिङ स्मिथले सम्हालेका थिए।

स्मिथलाई ट्रभिस हेडले साथ दिएका थिए। यी दुईले पाँचौ विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए। हेडले अर्धशतक पूरा गरेका थिए। ६० बल सामना गरेका हेडले ५ चौका सहित ५२ रन बनाएका थिए। त्यसअघि स्मिथलाई वार्नर र जर्ज बेलीले साथ दिएका थिए। दोस्रो विकेटका लागि वार्नरले ४६ रनको साझेदरी गरेका थिए। १७ रन बनाएका बेलीले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए। त्यस्तै म्याथु वेडले ३८ रन बनाए भने मिचेल स्टार्कले ११ रन बनाएका थिए।

न्युजिल्यान्डका म्याट हेनरी, ट्रेन्ट बोल्ट, जेम्स निशमले समान २–२ विकेट लिए भने कोलिन डी ग्रान्डहोमको नाममा १ विकेट रह्यो।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले शतकीय इनिङ खेले पनि उनलाई अर्को इन्डबाट साथ दिने कोही भएनन्। निशमले ३४, मुनरोले ४९ र हेनरीले २७ रन बनाउनु वाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्। गुप्टिलले १ सय २ बलमा १० चौका र ६ छक्का सहित १ सय १४ रन जोडेका थिए। उनको यो ११ औं एक दिवसीय शतक हो।

घरेलु टोलीका जोश हाज्लेउडले ३ विकेट लिए भने मिचेल मार्श, पेट कुमिन्स र एडम जम्पाले समान २–२ विकेट लिए। मिचेल स्टार्कको नाममा १ विकेट रह्यो।

प्रकाशित: २० मंसिर २०७३ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App