८ वैशाख २०८१ शनिबार
खेल

महिला टोलीमा अधिकांस छनोट खेल्दाकै खेलाडी

काठमाडौं- छनोट प्रतियोगितामा सफल हुँदाका खेलाडीलाई निरन्तरता दिँदै एसिसी महिला एसिया कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ। रुबिना क्षेत्रीको कप्तानीमा घोषित टोली उपकप्तानमा सीता रानामगर छिन् भने अन्य खेलाडीमा इन्दु बर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहरा, सवनम राई, संगीता राई, सरस्वती चौधरी, सरिता मगर र शोभा आले छन्।

असोजमा हङकङमा सम्पन्न आइसिसी महिला विश्वकपको एसिया छनोटमा दोस्रो भएका कारण नेपाल थाइल्यान्डमा अर्को शुक्रबार सुरु हुने एसिया कपका लागि छनोट भएको थियो। महिला विश्वकपको एसिया छनोटमा पहिलो हुने थाइल्यान्ड अन्तिम चरणको ग्लोबल छनोटलाई छानिएको हो। एसिया कपमा पनि एसियाली छनोटको विजेतालाई सहभागी गराउने एसियाली क्रिकेट परिषद (एसिसी) को योजना रहे पनि थाइल्यान्डले आयोजकको हैसियतमा पहिल्यै स्थान पाइसकेकाले उपविजेता भए पनि नेपाल थाइल्यान्डका लागि लायक भएको हो।

डेढ महिनाअघि छनोट चरणमा सफलता हासिल गर्दाको टोलीका अधिकांस खेलाडी थाइल्यान्ड भ्रमणका लागि छानिँदा भारतबाट आएकी निर्मला शाही भने अनुपस्थित हुने भएकी छन्। भारतीय रेल्वेबाट महिला क्रिकेट खेल्दै आएकी निर्मलाले चोटका कारण आउन नसक्ने जानकारी गराएको नेपाली टिम नेतृत्वले जानकारी गराएको छ। रेल्वेबाट खेल्ने क्रममा घाइते भएकी उनलाई फिजियोथेरापिस्टले तीन साता आराम गर्न सल्लाह दिएकाले निर्मलाले आफू आउन नसक्ने भन्दै पत्राचार गरेको निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का एक कर्मचारीले जानकारी गराए।

हङकङमा खेल्दाका १४ खेलाडीमा निर्मला अनुपस्थित हुँदा उनको ठाउँमा दुई खेलाडी थपिएका छन्। थपिनेमा शोभा आले र संगीता राई छन्। हङकङमा सम्पन्न आइसिसीको छनोट प्रतियोगितामा १४ जनाको टोली पठाउने व्यवस्था थियो भने एसिया कपको टोली १५ जनाको हुने भएकाले दुई खेलाडी थपिएको हो।

डिसेम्बर ४ सम्म चल्ने प्रतियोगितामा एसियाका टेस्ट खेल्ने चार देश भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा थाइल्यान्ड र नेपाल गरी जम्मा ६ देश सहभागि हुनेछन्। राष्ट्रिय खेलकुद परिषदका मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटाले बुधबार छनोट गरेको टिमको नामावली बुधबार एसिसीलाई पठाइएको थियो। त्यहीअनुसार एसिसी र आयोजक क्रिकेट थाइल्यान्डले टोलीको नामावली सार्वजनिक गरेको हो।

महिला टोलीलाई एसिया कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि कात्तिक २५ देखि बन्द प्रशिक्षण सिविरमा राखिएको थियो। बन्द प्रशिक्षण सिविरमा राखिएका पहिलाकै १७ खेलाडीमध्ये अनुराधा चौधरी र लक्ष्मी चौधरी भने टिममा परेनन्।

यसैगरी नेपाली टोलीको व्यवस्थापकमा पनि हङकङ जाँदाकै व्यवस्थापक यामकुमारी गुरुङ छन् भने प्रशिक्षकमा राजु बस्न्यात छन्। खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै विवादमा फसेका बस्न्यातले नै शुक्रबारसम्म टोलीलाई प्रशिक्षण गराइरहेका छन्। खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय खेलकुद परिषदले छानबिन गरिरहेको जनाएको छ। जबकि खेलाडीहरूले नै पत्रकार सम्मेलन गरेर बस्न्यातले कुनै दुर्व्यवहार नगरेको भन्दै खण्डन गरिसकेका छन्।

बस्न्यातलाई हङकङको छनोट प्रतियोगिताअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) स्वयंले नियुक्त गरेको हो। पछिल्लो समय नेपाली क्रिकेट आन्तरिक विवादमा चरम रुपमा फसेपछि आइसिसीले नेपाललाई निलम्बन गर्दै आफैले अन्तर्राष्ट्रिय गतिविधि सञ्चालन गर्दै आएको छ। आइसिसीले राजुको विषयमा कुनै निर्णय नगरेकाले उनैको निरन्तरता हुने विश्वास लिइएको छ। तथापि प्रशिक्षकमा राजुसँगै जगत टमाटाको पनि थाइल्यान्डको भिसा लगाएर उनलाई समेत तम्तयार अवस्थामा राखिएको छ। टिम मंगलबार थाइल्यान्ड जानेछ।

प्रकाशित: ४ मंसिर २०७३ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App