coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पहिलोपटक एएफसी उपाधि

काठमाडौं- दुईपटक दक्षिण एसियाली क्षेत्रमा च्याम्पियन बनिसकेको नेपाली फुटबल टोलीले पहिलोपटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको छ। मलेसियाको कुचिङमा मकाउलाई मंगलबार १–० स्तब्ध पार्दै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको हो।

पहिलो हाफमा सुजल श्रेष्ठले गरेको गोल नै नेपाललाई ऐतिहासिक सफलता दिलाउन पर्याप्त रह्यो । २९औं मिनेटमा भरत खवासले दायाँबाट गरेको क्रसलाई सुजलले हेडमार्फत सेकेन्ड बारमा गोल गरेका थिए । सुजलको त्यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि विश्वकप छनोटमा लिमोर लिस्टेलाई ५–० ले हराउँदा सुजलले एक गोल गरेका थिए । सुजलले जित आमा र फुपूलाई समर्पित गर्दै भने, ‘म अहिले अर्कै संसारमा छु । म यो जित आमा र फुपूलाई समर्पित गर्न चाहन्छु । यो सुरुआत मात्र हो । अब हामीले साफ च्याम्पियनसिपलाई लक्ष्य बनाएर अघि बढ्नुपर्छ । मकाउविरुद्ध मंगलबारको नेपालको त्यो १६औं गोल हो ।

उपाधि जित्न सफल भएकोमा खुसी हुँदै नेपाली टोलीका जापानी प्रशिक्षक ग्योटुको कोजीले भने, ‘हाम्रा खेलाडीले निकै राम्रो खेले । तर , म अझै पनि प्रदर्शनबाट भने सन्तुष्ट छैन । हामीले अझै मेहनत गर्नुपर्ने हुन्छ । धैरै मौका पाएर पनि एक गोल मात्र गर्न सक्यौं ।’

नेपालको प्रशिक्षक भएपछि पहिलो प्रतियोगितामै टोलीलाई च्याम्पियन बनाएका कोजीले भने, ‘खराब मैदानका वावजुद टोलीले राम्रो खेल्यो । खेल निकै फिजिकल भयो । रक्षापक्तिले राम्रो खेल्यो र हामीले गोल नखाई फाइनल जित्यौं ।’

फाइनलभन्दा अघि परेको भारी वर्षाका कारण पानी जमेको सरावक रंगशाला मैदानमा नेपालले खेल पूरा नियन्त्रणमा राखेर पनि गोल भने थप्न सकेन । सुजलको गोलअघि नै नेपालले खाता खोल्ने अवसर पाए पनि सफल भएन । १४औं मिनेटमा भरतको प्रहार पोस्टनजिकबाट बाहिरियो भने २८औं मिनेटमा अञ्जन विष्टले पेनाल्टी बक्सको बाहिरबाट गरेको सशक्त प्रहारलाई विपक्षी गोलपिकर हो मान फिइले पन्च गरे । त्यसको एक मिनेट बित्न नपाउँदै नेपालले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै नवयुग श्रेष्ठ गोल गर्न चुके । ६०औं मिनेटमा विमल घर्तीमगरको फ्री–किकमा भरतको हेड पोस्ट टाढाबाट बाहिरियो भने ६८औं मिनेटमा बिमलको प्रहार पोस्टनजिकबाट गयो ।

त्यस्तै, ७३औं मिनेटमा बिमलको फितलो प्रहारलाई विपक्षी गोलकिपरले रोके । टाम इयो सानको टोलीले नेपाली पोस्टमाथि कुनै पनि बेला डरलाग्दो आक्रमण गर्न सकेन ।

यो जितसँगै मकाउसँगको जितको सिलसिलाले निरन्तरता पाएको छ । मकाउविरुद्ध नेपाल अपराजित रहेको यो चौथो खेल हो । अहिलेसम्मका ६ खेलमा नेपालले ४ जित, १ बराबर र एक खेलमा मात्र हार बेहोरेको छ । नेपालको अन्तर्राष्ट्रिय खेलमा अपराजित खेल संख्या आठ पुगेको छ ।

कप्तान बिराज महर्जनले नेपाली जनता र समर्थकलाई पुनः खुसी बनाउन सफल भएको बताए । ‘लगातार तीनवटा उपाधि जित्दा खुसीको कुनै सीमा छैन । यो हाम्रा लागि देश र फुटबल समर्थकका लागि महŒवपूर्ण उपाधि हो ।’ बिराजको नेतृत्वमा नेपालले जितेको यो लगातार तेस्रो उपाधि हो । उनको कप्तानीमा नेपालले गत वर्ष यु२३ र बंगबन्धु गोल्डकप जितेको थियो । उनले भने, ‘अब हामीले नेपाललाई अझै अघि बढाउनुपर्छ ।’

१४ महिनायता नेपालले अलग–अलग स्तरका चार वटा प्रतियोगिता जितेको छ । गत वर्ष भदौमा साफ यु१९ च्याम्पियन बनेको नेपालले फागुनमा दक्षिण एसियाली खेलकुद (साग) को यु२३ मा स्वर्णपदक जितेको थियो ।

त्यसअघि माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको नेपालले अहिलेसम्म दक्षिण एसियाली खेलकुद (साफ) मा दुईपटक स्वर्ण जितेको थियो ।

राष्ट्रिय टोलीले सन् १९८४ मा पहिलो र १९९३ मा पछिल्लोपटक साफमा स्वर्णपदक जितेको थियो । क्षेत्रीय स्तरमा साफ च्याम्पियनसिपबाहेक लगभग सबैखाले प्रतियोगिता जितेको नेपालको सिनियर टोलीको यो अहिलेसम्मकै ठूलो सफmलता हो । यद्यपि, यो सोलिडारिटी कप  विश्वकप २०१८ को छनोट र एसियन कप २०१९ को छनोट चरणअन्तर्गत पहिलो र दोस्रो चरणबाट बाहिरिने टोलीका लागि एएफसीले आयोजना गरेको पहिलो प्रतियोगिता हो ।

यसैबीच, सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । नेपाली टोली बुधबार राति ८:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७३ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App