coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालले आज लाओसँग खेल्ने

काठमाडौं- एएफसी सोलिडारिटी कपमा लाओसविरुद्ध शनिबार हुने सेमिफाइनलमा नेपाली टोलीको पहिलो रोजाइमा खासै ठूलो परिवर्तनको सम्भावना छैन। समूह चरणको पहिलो खेलमा लिटोर लिस्टेसँग गोलरहित बराबरी खेल्दा पनि नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले विश्वास गरे।

टिमोर लिस्टेसँग खेलेको टोलीभन्दा ब्रुनाईसँग खेल्दा उनले एक जना खेलाडी मात्र परिवर्तन गरेका थिए। अन्जन विष्टको ठाँउमा उनले भरत खवासलाई पहिलो रोजाइमा उतारेका थिए। टिमोर लिस्टेसँगको खेलमा दोस्रो हाफमा गएर पनि प्रभाव पार्न सकेकै कारण कोजीले खवासमाथि बढी विश्वास गरेको बुझ्न कठिन छैन। कोजीको विश्वासमा दोस्रा खेलमा टोली नतिजाका हिसाबले सफल रह्यो। ब्रुनाईलाई ३–० ले हराउँदै टोली समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्‍यो।

ब्रनाईसँग खेलेको टोलीमा भन्दा कोजीले मिडफिल्डमा एउटा परिवर्तन गर्ने सम्भावना छ। हेमन गुरुङको ठाँउमा विशाल राई खेल्ने सम्भावना छ। यद्दपी पूर्ण रुपमा फिट नभएकै कारण विशाल अघिल्ला दुई खेलमा बेन्चमै रहे। लाओससँग यसअघि नेपालको एकमात्र भेटमा विशालले नै गोल गरेका कारण पनि उनीलाई खेलाउने सम्भावना निकार्न सकिन्न। जेठ १६ गते लाओसको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको थियो। विशालको गोलमा अग्रता लिएपनि रक्षापक्तिकै कमजोरीका कारण नेपाल गोल खाएको थियो। यसपटक सोलिडारिटी कपमा भने नेपालको रक्षापक्ति र गोलकिपरले ठूलो चुनौतिको सामना गर्नुपरेको छैन।

सोलिडारिटी कपमा मंगोलिया र लाओसबीच समूह चरणको अन्तिम खेल हरेपछि नेपाली टोलीका कप्तान विराज महर्जनले सफलता प्राप्त गर्ने सक्ने विश्वास व्यक्त गरेका थिए। उनले भनेका थिए,'लाओसको टोली सन्तुलित देखिएको छ। सेमिफाइनल पुगेको टोलीलाई कमजोर भन्न मिल्दैन। तर, मंगोलियासँगको खेल हेर्दा लाओसलाई हामीले जित्न सक्छौं विश्वास छ। '

झन्डै दशक पछि नेपाल दक्षिण एसियाली स्तरभन्दा माथिको प्रतियोगिताको सेमिफाइनलमा नेपालले प्रतिस्पर्धा गर्दैछ। सन् २००६ मा बंगलादेशमा भएको च्यालेन्जकपमा नेपाल सेमिफाइनल पुगेको थियो। च्यालेन्जकपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। क्षेत्रिय स्तरको प्रतियोगिताभन्दा माथिको प्रतियोगिताको उपाधि नजिक पुग्ने अवसर नेपाली टोलीका सामू आइपुगेको छ। अहिले नेपाल क्षेत्रिय स्तरको उमेर समूहको भने च्याम्पियन टोली हो। गत बर्ष भदौंमा साफ यू १९ को उपाधि जितेको नेपालले फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) यू २३ मा स्वर्ण पदक जितेको थियो। त्यसबीचमा नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो। अहिले पनि टोलीमा साग र बंगबन्धु जित्दाकै टोलीको बाहुल्यता रहेको छ।

कप्तान विराजको भनाई लाओससँग खेल्दा मिडफिल्डमा सुधार गर्नुपर्नेछ। 'लाओसको मिडफिल्ड राम्रो छ। हाम्रो पनि पनि रक्षापक्ति र गोलकिपरले राम्रो गरिरहेका छौं,' उनले भने,'पहिलो खेलको दाजोमा दोस्रो खेलमा हाम्रो मिडफिल्डमा सुधार भयो। तर पनि अझै सुधार गर्नुपर्ने ठाँउ छ। प्रदर्शनमा अझै सुधार गरेर फाइनल पुग्नु हाम्रो लक्ष्य हो।'

नेपाली टोलीका प्रशिक्षक कोजीले लाओस भन्दा अझै बलियो देखिएपनि आफ्नो टोली सेमिफाइनलका लागि तयार रहेको बताएका छन्। उनले भने,' खेलाडी थाकेका छन। तर हामी जित्न चाहन्छौं। हामी जित्ने सम्भावना पनि छ।' यद्दपी नेपालको दाजोमा लाओसले बढी आराम पाएको पनि उनले उल्लेख गरे।

लाओसका प्रशिक्षक भालाकोने फामफाक्डीले मैत्रीपूर्ण खेलमा बराबरी खेलेपनि अहिले दबाब फरक खालको हुने बताए। 'हामी खेललाई लिएर गम्भिर छौं। नेपाल राम्रो टोली हो र हामी सम्मान गछौं,' उनले भने,'हामी संगठित भएर जति सक्दो राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछौं।'

लाओसविरुद्ध नेपालको सम्भावित ११

किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान),रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विक्रम लामा, विशाल राई (हेमन गुरुङ), सुजल श्रेष्ठ, विमल घर्तिमगर, भरत खवास, नवयुग श्रेष्ठ

प्रकाशित: २७ कार्तिक २०७३ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App