७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालले जापानी टोलीसँग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय टोलीले मंसिर ४ मा ‘फ्रेन्ड्स अफ जापान’ सँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। जापान फ्रेन्ड्स टोलीमा जापानी पूर्व राष्ट्रिय खेलाडी तथा ‘जे’ लिग र अन्य क्लबमा आवद्ध व्यावसायिक खेलाडी हुनेछन्। नेपाल–जापान दैत्य सम्बन्धको ६० औं वर्षगाँठका उपलक्ष्यमा कलरवाथ र अखिल नेपाल फुटबल संघ (एन्फा) ले संयुक्तरूपमा यस खेलको आयोजना गरेको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने यो खेल च्यारिटीका रूपमा आयोजना गरिएको हो। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कलरवाथ नेपालका अध्यक्ष गणेशमान लामाले खेलबाट संकलित रकम भूकम्प प्रभावित जिल्लाको खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा खर्च गरिने बताए।

‘कलरबाथ नेपाल जापानमा खेलकुद विकासका लागि सक्रिय संस्था हो। हामीले विशेषगरेर खेलमार्फत अनाथ बालबालिकाका लागि कार्यक्रम गर्दै आएका छौं,’ लामाले भने, ‘यस खेलको मुख्य उद्देश्य नेपाललाई जापानमा चिनाउनु हो। साथै यस खेलबाट संकलित रकम हामीले भूकम्प प्रभावित जिल्लाका विद्यालय पुनर्निर्माण लगायत खेल विकासमा खर्च गर्नेछौं।’

टोकियो ओलम्पिक २०२० प्रचारप्रसारका लागि जापानका सरकारले ‘स्पोटर््स फर टुमरो’ कार्यक्रम संचालन गरिरहेकाले यस कार्यक्रममा जापानको परराष्ट्र तथा शिक्षा मन्त्रालयको पनि साथ रहने लामाले जानकारी दिए।

विश्वकप २००२ मा जापानी टोलीमा रहेका तोडा काजुयुकीको नेतृत्वमा १६ जनाको टोली मंसिर २ मा नेपाल आइपुग्नेछ। उक्त टोलीले च्यारिटी खेलका साथै काभ्रे धुलिखेलका विद्यालयका बालबलिकालाई प्रशिक्षण दिनेछन्।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जापानका व्यावसायिक खेलाडीसँगको यो खेल सम्भवतः पहिलो भएको बताए। उनले यस खेलबाट नेपालको राष्ट्रिय टोलीले सिक्ने मौका पाउने भन्दै खेलाडीका लागि राम्रो अवसर भएको बताए।

रंगशाला नहुँदा फुटबल गतिविधि गर्न कठिन

नेपालको एकमात्र रंगशाला भूकम्पले क्षतविक्षत बनाइदिएपछि दशरथ रंगशालामा कुनै पनि खेल गतिविधि भएका छैनन्। कार्यक्रममा सिइओ तुलधारले नेपालको एकमात्र रंगशाला भूकम्पले प्रभावित भएपछि अर्न्तराष्ट्रिय फुटबल गतिविधि गर्न गाह्रो भएको बताए।

‘हामीले यस कार्यक्रमका लागि १४ महिनादेखि छलफल र तयारी गरिरहेका थियौं। सुरुमा हामीले दसैंअघि रंगशालामै खेलाउने तयारी गरिरहेका थियौं,’ उनले भने, ‘तर पछि प्यारापिटमा दर्शक राख्न नदिने भनेपछि हामीले सातदोबाटोमा गर्न लागेका हौं।’

काठमाडौंमा फुटबल गतिविधि चलायमान बनाउन सुरुमै रंगशालामै खेलाउन चाहे पनि त्यो सम्भव नभएको एन्फा सिइओले बताए।

‘हामी यसै खेलमार्फत रंगशालामा फुटबल स्रु भएको सन्देश दिन चाहन्थ्यौं,’ उनले थपे, ‘राखेपले प्यारापिटमा मान्छे राख्न नदिने भएपछि त्यो सम्भव भएन। रंगशालामा ट्रस्ट राख्ने कार्य भइरहेको छ। भत्काउने कि पुनर्निर्माण गर्ने टुंगो लाग्नै अझै २–३ महिना लाग्ने बताइयो। यस्तो अवस्थाले फुटबल चलायमान गर्न गाह्रो भएको छ। चाँडोभन्दा चाँडो रंगशाला बन्नुपर्‍यो।’

फिफा र सरकारको सहयोगमा च्यासलस्थित फुटबल मैदानलाई ‘एस्ट्रो टर्फ’ सहितअन्तर्राष्ट्रिय रंगशाला बनाउने भनेर २५ लाख रकम निकासा भएको स्मरण गर्दै उनले भने, ‘फिफाको सहयोगमा हामीले च्यासलमा रंगशाला बनाउने भनेका थियौं तर सातौं राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार निरीक्षण टोलीको भ्रमणपछि त्यो पनि सरकार आफैले बनाउने भनेपछि सबै कार्य रोकियो। दुवैतिर काम अघि बढ्न सकेको छैन। यसले गर्दा लिग तथा अन्तर्राष्ट्रिय खेल खेलाउन गाह्रो भइरहेको छ।’

प्रकाशित: १२ कार्तिक २०७३ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App