४ वैशाख २०८१ मंगलबार
खेल

झापा सिक्किममा उपविजेता

काठमाडौं- झापा–११ टोली सिक्किममा भएको ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ। गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापाले मोहमडन स्पोर्टिङ क्लबलाई १–० को नतिजा सुम्पेको हो। पहिलो हाफमा मनवीर सिंहले गरेको गोल खेलको निर्णायक बनेको थियो। उनले १६ औं मिनेटमा सशक्त प्रहारमा गोल गरेका थिए।

पहिलो हाफमै बराबरी गोल गर्ने मौका झापाले चुकायो। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कर्ण लिम्बुको पेनाल्टी पोस्ट नजिकबाट बाहिरिएको थियो। दोस्रो हाफमा पनि टोलीले गोल गर्ने केही मौका पायो तर सफल भएन।

उपाधिसहित मोहमडनले १ लाख र पहिलो सहभागितामा उपविजेता बनेको झापाले ५० हजार भारतीय रुपैयाँ पुरस्कार पाए।

झापाली टोली स्थानीय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनल पुगेको थियो। मोहमडनले पनि सेमिफाइनलमा स्थानीय सिक्किम आक्रमण फुटबल क्लबलाई ३–१ ले हराएको थियो।

उक्त प्रतियोगितामा नेपालका चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, रुस्लान थ्री स्टार क्लब र एनआरटीले पनि सहभागिता जनाइसकेको छ। थ्री स्टार र एनआरटीले गभर्नर्स गोल्डकपको उपाधि जितिसकेका छन्।

झापाले दुई टिम बनाएर एकै समयमा सिक्किम र चितवनमा जारी विकास रनिङ सिल्डमा सहभागिता जनाएको हो। विकास रनिङ सिल्डमा भने टोली सेमिफाइनलभन्दा अघि बढ्न सकेन। बुधबारमात्र टोली ए डिभिजन टोली सिएमजी क्लब संकटासँग टाइब्रेकरमा ३–१ ले पराजित भएको थियो।  

प्रकाशित: १२ कार्तिक २०७३ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App